
२१ पुस, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि उत्पादन बढाउनका लागि सरकारले कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार नेपाल कृषि सहकारी केन्दीय संघको वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।
पछिल्लो समय कृषि योग्य जमिनमा पल्टिङ गरी बस्ती बसाउने क्रम बढेको भन्दै उनले सरकारले कृषि उत्पादन बढाउन जग्गाको खण्डीकरण नियन्त्रण गर्न आवश्यक रहेको बताए ।
सरकारको पहिलो काम नै कृषि योग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने हुनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष तिमिल्सिनाले सरकारले स्थानीय नगरपालिका र गाउँपालिकाहरुलाई जग्गाको वर्गीकरण गरेर मात्रै जग्गाको कित्ताकाट गर्न निर्देशन दिएपनि दबाबको कारण काम गर्न नसकेको बताए ।
नेपाल कृषि प्रधान देश भनिएपनि कृषि क्षेत्रमा धेरै पछाडि रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले कृषिमा आत्मनिर्भर भएर कृषि निर्यात मुलक देश बनाउनुपर्नेमा जोड दिए ।
देशमा ठूला उद्योगधन्दाहरु स्थापना गरेर अन्तर्राष्ट्रिय देशहरुसँग प्रतिष्पर्धा गर्न समस्या रहेको भन्दै उनले देशभित्र कृषि उत्पादनमा वृद्धि गरी विदेश निर्यात गरेर देशको वैदेशिक व्यापार घाटा कम गर्न सकिने बताए ।
नेपाली माटोमा कृषिको राम्रो उत्पादन गरियो भने अर्ग्यानिक कृषि उत्पादनलाई विदेशमा निर्यात गरेर मुलुकको अर्थतन्त्रलाई माथि ल्याउन सकिने उनले बताए । उनले कृषि क्षेत्रमा सहकारीमार्फत उत्पादन,बजार व्यवस्थापन र ढुवानी समेत गरेर सहुलियत मूल्यमा उपभोक्ताले पाउने तथा रोजागारी समेत सिर्जना हुने बताए ।
अध्यक्ष तिमिल्सिनाले कृषि क्षेत्रमा रहेका कानूनहरु कृषि उत्पादनमा बाधक भए कानुन संशोधन गरेर किसानमुखी कानुन बनाउनुपर्ने बताए ।
प्रतिक्रिया 4