
२५ पुस, काठमाडौं । नेपालमा पछिल्लो समय चिकित्सा क्षेत्रमा जथाभावी नामको अगाडि डाक्टर लेख्ने प्रचलन बढ्दै गएको छ ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले ठूला नाम चलेका अस्पताल, क्लिनिकमा नै डाक्टर लेखेर बिरामी जाँच्ने गरेका छन् ।
डाक्टर पदको दुरुपयोग गर्दै बिरामी जाँच्ने र औषधिसमेत सिफारिस गर्न थालेपछि मेडिकल काउन्सिलले त्यसलाई कसरी रोक्ने भन्ने बारेमा बहस सुरु गरेको छ ।
चिकित्सकको नामको अगाडि डा. (मेड) लेख्ने विषयमा छलफल भएको काउन्सिलले जनाएको छ ।
काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले अन्य विभिन्न विषय पढेका व्यक्तिहरूले पनि ‘डा.’ लेख्दै र बिरामी जाँच्दै आएको गुनासा आउन थालेपछि काउन्सिलले यो विषयमा गहन रूपमा छलफल अगाडि बढाएको बताए ।
‘जसले खुलेआम नै डाक्टर लेख्न थाले । फिजियोथेरापिष्ट, आँखा टेक्निसियन, अल्ट्रासाउण्ड, रेडियोग्राफर लगायतले पनि डा. लेख्दै आएका छन्’ डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘काउन्सिलले स्वास्थ्य व्यवसायी परिषदमा दर्ता हुँदा दिएको उपाधि प्रयोग गर्न आग्रह गरेका थियौं । तर, उहाँले अटेर गरेपछि बाध्य भएर यस्तो राख्न लागिपरेका हौं ।’
स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि क्लिनिक चिकित्सक र ननक्लिनिकल छुट्याउनु परेको उनको तर्क छ । विदेशमा पनि आधुनिक चिकित्सा विधा अध्ययन गरेका रजिष्टर्ड चिकित्सकहरूले डा. (मेड) लेख्ने चलन रहेको उनले बताए ।
‘नामको अगाडि डाक्टर लेखेपछि बिरामी संख्या बढ्ने र नागरिकलाई बढी विश्वास हुने नै भयो’ डा. अधिकारीले भने, ‘उपचारका लागि स्वास्थ्यकर्मीले आफ्नो नामका अगाडि चिकित्सक वा डाक्टर उपाधिको दुरुपयोग भएको शंका लागेर नाम अगाडि ‘मेड’ लेख्न लागेका हौं ।’
‘डाक्टरको नामको अगाडि ‘मेड’ चलन युरोपका धेरै देशमा छ । नागरिक नझुक्किउन् भनेर यस्तो परिचय दिन लागेका हौं । त्यसका लागि काउन्सिलले दर्ता भएका चिकित्सकहरूलाई सूचना समेत पठाइसकेको छ’, उनले थपे ।
‘उपचार र निदानमा संलग्न स्वास्थ्यकर्मीले आफ्नो नामका अगाडि चिकित्सक वा डाक्टर उपाधि लेखेका कारण उपचार गर्ने चिकित्सक र गैरचिकित्सकको उपाधि प्रयोग तथा नियमनमा अन्योल देखिएको छ’ काउन्सिलले चिकित्सकलाई पठाएको सूचनामा भनिएको छ- ‘बिरामीको उपचारमा संलग्न आधुनिक चिकित्साको चिकित्सकको नामको अगाडि डा.(मेड) लेख्न उपयुक्त हुने र यसका लागि थप छलफल समेत चलाउने निर्णय भए बमोजिम सुझावका लागि अनुरोध गरिएको छ ।’
चिकित्सकहरूको सुुझावको आधारमा डा. (मेड) लेख्ने प्रस्ताव स्वीकार भएको खण्डमा ऐन परिवर्तन गरेपछि मात्रै लागू गर्न सकिने डा.अधिकारीले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्व डीन प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि डाक्टरको नाम दुरुपयोग हुँदै आएको बताउँछन् । ‘अहिले स्वतन्त्रता र अराजकताका नाममा मेडिकल क्षेत्रमा फिजियोथेरापिष्ट, आँखा टेक्निसियन, रेडियोलोजिष्ट लगायतले पनि डाक्टर लेख्ने गरेका छन्’ डा. अग्रवाल भन्छन्, ‘अहिलेसम्म चलिरहेको परम्परामा मेडिकल डाक्टरले मात्रै डाक्टर लेख्ने पाउने हो । तर, उपाधि नै नपाएका मानिसका विरुद्धमा जान सकेनौं ।’
जथाभावी डाक्टर लेख्ने मानिसलाई नलेख्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको कारण काउन्सिलले विकल्पकै रूपमा डाक्टर चिनाउनका लागि डा. (मेड) राख्न लागेको डा.अग्रवालको तर्क छ ।
‘बिरामी भएर अस्पताल वा क्लिनिक गएको खण्डमा फिजियोथेरापिष्टले एलोपेथिक औषधिको सिफारिस गर्ने पाइएको छ’ डा. अग्रवाल प्रश्न गर्छन्, ‘यो त जनताको स्वास्थ्यसँग खेलबाड भयो नि ! उनीहरूले लेखिदिएको औषधिले पछाडि रियाक्सन गर्दा त्यसको जिम्मेवार को ?’
हाम्रो देशमा अनुगमन नहुँदा पनि यस्ता विकृति फैलिरहेको उनको भनाइ छ । ‘बिरामीलाई को-कस्तो डाक्टर हो भन्ने थाहा हुँदैन । फिजियोथेरापिष्टको काम फिजियोथेरापी मात्रै हो । उनीहरूलाई मेडिसिन सिफारिस गर्ने अधिकार हुँदैन । तर, जे मन लाग्यो त्यही गरिरहेका छन्’, डा. अग्रवाल थप्छन् ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा-२ को परिभाषा (घ) मा ‘चिकित्सक’ भन्नाले मान्यताप्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणालीअन्तर्गत चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति सम्झनुपर्ने उल्लेख छ ।
फिजियोथेरापिष्ट, आँखा टेक्निसियन, अल्ट्रासाउण्ड, फर्मासिष्ट, रेडियोग्राफरलगायतका विधा जनशक्ति नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुने गर्छन् । यस्ता जनशक्तिले डाक्टर लेख्न नपाउने भन्दै परिषद्बाट सूचना प्रवाह भइरहेको रजिष्ट्रार पुष्पराज खनाल दाबी गर्छन् ।
‘व्यक्तिलाई समातेर नै कारबाहीको दायरामा ल्याउन सकिएको छैन । यो विषयको नियमनका लागि परिषदले कार्यविधि बनाउने तयारीमा जुटेको छ’ खनाल तर्क गर्छन्, ‘कार्यविधि बनाएर कुन हदसम्म कारबाही गर्ने यकिन नभई खोजेर पनि भएन नि !’
आधुनिक चिकित्सामा स्नातक तह र सोभन्दा माथिल्लो तहको अध्ययन पूरा गरेको व्यक्तिलाई विश्वविद्यालयबाट प्रदान गरिने उपाधिमा चिकित्सक वा डाक्टर भनी उपाधि दिइएको हुन्छ । ‘चिकित्साशास्त्रमा स्नातक उपाधि हासिल गरी काउन्सिलको प्रक्रिया बमोजिम चिकित्सकको रूपमा नाम दर्ता भएपछि मात्रै डाक्टरको उपाधिसहित लाइसेन्स प्राप्त हुन्छ’ डा.अधिकारी भन्छन्, ‘काउन्सिलमा दर्ता चिकित्सकको उपाधि नभएका व्यक्तिले डाक्टरको उपाधि प्रयोग गर्नु गैरकानुनी ठहर हुन्छ ।’
काउन्सिलले बिरामी उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मी उपाधि र योग्यता तथा कुन-कुन स्वास्थ्यकर्मीले आफ्नो नामको अगाडि डाक्टर के-कुन आधारमा लेख्ने भन्ने विषयमा निर्णय समेत गरेको छ । काउन्सिलका रजिष्ट्रार डा. अधिकारीले चिकित्सा क्षेत्रमा नाम अगाडि डाक्टर के तथा कुन आधारमा लेख्ने प्रष्टसँग ऐनमा उल्लेख भएको बताउँछन् ।
काउन्सिल ऐन, २०२० को दफा २७ (१) मा कुनै व्यक्तिले आधुनिक औषधि सम्बन्धी चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधि सम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन हुँदैन भन्ने व्यवस्था छ ।
डा. अधिकारीका अनुसार उपाधि नभएका व्यक्तिले ‘डाक्टर’ लेख्ने गरेको पाइएमा तीन वर्ष जेल सजाय र ३० हजार जरिवाना हुन्छ । त्यसैगरी, उपाधि नै नपाएका व्यक्तिले उपचार गरेर अंगभंग वा मृत्यु भएको खण्डमा बिरामीका आफन्तले दाबी गरेअनुसार क्षतिपूर्ति समेत दिनुपर्ने हुन्छ ।
प्रतिक्रिया 4