
२५ पुस, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३, दधिकोटका रामप्रसाद थपलियाले आइतबार बेलुकी भान्छामा नयाँ ग्याँस सिलिण्डर फेरेका थिए । सोमबार बिहान पौने ७ बजेतिर थपलिया पत्नी भान्छामा छिर्दा एक्कासी विष्फोट भएको छ । सामान्य घाइते उनी मध्यपुर ठिमी अस्पतालमा उपचाररत छिन् ।
पार्किङमा रहेको कारको सीसा फुटेको छ । छिमेकीको घरमा पनि क्षति पुगेको छ । भान्छाको सिलिण्डर त जस्ताको तस्तै छ, तर ग्याँस एक्कासी बाहिर आउँदा विष्फोट भएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डे बताउँछन् ।
सिलिण्डर समेत जस्ताको तस्तै रहेको अवस्थामा कसरी घरमा क्षति पुर्याउने गरी विष्फोट भयो ? परिवारका सदस्यहरु आश्चर्यमा परेका छन् । छरछिमेकहरुले विष्फोटको आवाज सुन्दा बम नै पड्किएझैँ आशंका गरे ।
तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गरे । जिल्ला प्रहरी परिसर, भक्तपुरको टोलीले नेपाली सेनाको बम डिस्पोजल टिमलाई पनि खबर गर्यो । अपराध अनुसन्धानमा सहयोगी प्रहरीको तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा ल्याइयो ।
टोलीले गरेको अनुसन्धानका क्रममा सिलिण्डर नभइ ग्याँस विष्फोट भएको देखिएको डीएसपी पाण्डे बताउँछन् । ‘हिजो नयाँ ग्याँस जोड्नुभएछ, रातभर गरेर थोरै थोरै गर्दै लिक भएजस्तो देखिएको छ’, उनले अनलाइनखबरसँग भने, ‘बिहान ढोकाबाट भित्र छिरेर अटोमेटिक चुल्हो खोल्ने वित्तिकै लिग भएको ग्याँस एक्कासी बाहिर आउँदा विष्फोट भएको जस्तो देखिन्छ ।’
अनुसन्धान अधिकृतहरुका अुनसार नयाँ सिलिण्डर कम्तिमा २९ किलो हुनुपर्ने हो । तर, बिहान तौलिँदा ५ किलो कम छ । ‘रातभरमा पाँच किलो ग्याँस लिक भएको हुनसक्छ, बिहान कोठामा कम अक्सिजन हुँदा त्यत्तिकै रहेको ग्याँस विष्फोट हुने गरी एक्कासी निस्किएको हुनसक्ने आशंका छ’, उनले भने ।
प्रतिक्रिया 4