+
+

परिस्थिति दाहिना हुँदा खगराजलाई जुरेको मुख्यमन्त्री

संयोग ! गण्डकीमा सर्वसम्मत संसदीय दलको नेता हुनु र केन्द्रमा एमाले र माओवादीको नयाँ समीकरण बन्नु एकै पटकजस्तो भयो । प्रतिपक्षी दलको नेता बन्ने मूडमा पुगिसकेका प्रदेशसभा सदस्य खगराजलाई मुख्यमन्त्री बन्ने अवसर जुर्‍यो ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ पुष २५ गते १५:३३

२५ पुस, पोखरा । नेकपा एमालेभित्र र बाहिरका आलोचकहरु भन्थे, खगराज हुकुमी छन् । लामो समयदेखि कास्की, एमालेमा निर्णायक रहेका खगराज अधिकारीलाई पार्टीमा कार्यकर्ता र सरकारमा कर्मचारीलाई आफ्नो काबुमा राख्न खोज्ने नेताका रुपमा लिइन्थ्यो । एमालेभित्र फरक विचार राख्नेलाई भित्तामै पुर्‍याउने गरेको आरोप पनि उनीमाथि लाग्दै आएको थियो ।

पार्टीका उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उछिन्दै प्रदेश झरेपछि खगराजको स्वभाव शैली परिवर्तन भयो । हरेक प्रश्नमा मुसुक्क हाँसेर जवाफ दिन थाले । प्रतिस्पर्धी र कटु सम्बन्ध भएका नेताप्रति पहिला जस्तो देखिएनन् ।

एमालेजनहरुका अनुसार उनको स्वभाव शैलीमा परिवर्तन आउनुको पछाडि चुनाव नै थियो । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका ‘प्रिय’ खगराज मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका थिए । तर कास्की १ को प्रदेश सभा १ मा उम्मेदवार बनेका उनका लागि यो चुनाव राजनीतिक जीवनकै कठिन परीक्षा थियो । एकातिर पार्टीभित्र पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग चलेको प्रतिष्ठाको लडाईं, अर्कोतिर पाँचदलीय गठबन्धनका कारण चुनाव सहज थिएन ।

संसदीय राजनीतिमा कहिले हार, कहिले जीत बेहोरेका खगराजसँग माओवादीका दीपक कोइरालाले प्रतिस्पर्धामा गरेका थिए । अघिल्लो कार्यकाल प्रदेशसभा सदस्य हुँदा अर्थ तथा विकास समिति सभापतिको भूमिका निभाएका कोइराला आफैं लोकप्रिय थिए, कांग्रेससँग गठबन्धन थियो । वषौंदेखि त्यहीक्षेत्रमा भिजेका र हर मानिससँग जोडिएका खगराजले आफ्ना कमजोरीलाई पनि सुधार्दै कोइरालालाई ३ हजार ९९६ मतान्तरले पराजित गरे ।

तर गण्डकी प्रदेशसभामा एमालेको २२ सिट मात्र आयो । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ३१ प्रदेशसभा सदस्य चाहिन्थ्यो । र, त्यो नम्बर देशभर गठबन्धन बनाएर चुनाव लडेका कांग्रेस–माओवादीसँग थियो । गठबन्धनबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने थिए ।

प्रदेश प्रमुखसँग मुख्यमन्त्री नियुक्तीको पत्र लिँदै खगराज ।

एमाले प्रतिपक्षमा बस्नुपर्ने देखियो । एमालेले संसदीय दलको नेतामा चुनाव चाहेन, खगराज सर्वसम्मत चुनिए । एमाले नेताहरुका अनुसार पृथ्वीसुब्बा र खगराजबीच प्रतिष्ठाको लडाईं चर्किएर चुनावमा गएको भए खगराजका लागि प्रतिकुल हुनसक्थ्यो । तर पृथ्वीसुब्बा आफैं पनि संसदीय दलमा चुनाव गराउने पक्षमा देखिएनन् ।

संयोग ! गण्डकीमा सर्वसम्मत संसदीय दलको नेता हुनु र केन्द्रमा एमाले र माओवादीको नयाँ समीकरण बन्नु एकै पटकजस्तो भयो । प्रतिपक्षी दलको नेता बन्ने मूडमा पुगिसकेका प्रदेशसभा सदस्य खगराजलाई मुख्यमन्त्री बन्ने अवसर जुर्‍यो । सत्ता साझेदार दलहरुबीच आइतबार साँझ भएको सहमतिअनुसार त खगराजले ५ वर्ष नै गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने छन् ।

शीर्ष नेताहरुले तीन वटा प्रदेशको मुख्यमन्त्रीमा आलोपालो र गण्डकीसहित चार प्रदेशमा एकल नेतृत्वको सहमति गरेका हुन् । अब गण्डकीमा खगराजलाई ८ सिट जितेको माओवादी केन्द्र, २ सिट जितेको राप्रपा र मनाङबाट स्वतन्त्र हैसियतमा निर्विरोध निर्वाचित भएका र पछि एकीकृत समाजवादी प्रवेशको घोषणा गरेका दीपक मनाङेको साथ हुनेछ ।

११ वर्षमै स्ववियू सभापति बनेका खगराज

पोखरा–३१ बेगनासमा २०१८ साल चैत १३ गते जन्मिएका अधिकारी गाउँकै आनन्द ज्योति माध्यमिक विद्यालयका वामपन्थी विचारका शिक्षकबाट प्रभावित भएर राजनीति थालेका थिए । निमावि पढ्दै गर्दा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापति बनेर राजनीतिक जीवनको खुट्किला चढ्न थालेका हुन् ।

‘म लोभ र कुर्चीको मोहले मुख्यमन्त्री बनेको होइन । म कुनै पनि दिन जनताको हित विपरीत जान्नँ । जनतालाई मन नपर्ने काम गर्दिनँ ।’

राजनीतिमा लागेपछि अधिकारीले थुप्रै पटक ज्यानकै बाजी थापे, कुटाइ र जेलनेल खाए । ‘सिक्किम भारतले लिएपछि २०३२ सालमा मैले बर्बरतापूर्ण कुटाइ खाएँ ।

भारतीय गोर्खा सैनिक हाइ स्कुल लेखिएको थियो, मैले रातारात रङ पोतेर मेटाइदिएँ,’ अधिकारी भन्छन्, ‘त्यही बेला मरणासन्न हुने गरी कुटाइ खाएँ, बाँच्नुजस्तो लागेको थिएन ।’ २०३६ सालयताका हरेक राजनीतिक आन्दोलनमा खगराजले कुनै न कुनै मोर्चाको नेतृत्वको गरेका छन् ।

अधिकारीले आफनो राजनीतिक जीवनको टर्निङ प्वइन्ट भने पृथ्वीनारायण क्याम्पस, पोखरामा स्ववियु सभापति हुनुलाई मान्छन् । २०४० सालमा पहिलो पटक स्ववियू सभापति भएका अधिकारी भन्छन्, ‘त्यतिबेलै धेरैको नजरमा परेँ, २ पटक सभापति भएर आफ्नो सम्भावना देखाएँ ।’ २०४२ सालको बमकाण्डमा प्रहरीले गिरफ्तार गरेर निर्मम याताना दिएको उनले अझै विर्सिएका छैनन् ।

२०४६ को जनआन्दोलन सफल भएसँगै खगराज संसदीय चुनावमा होमिए । ०४८ मा कास्की १ मा तारानाथ रानाभाटसँग पराजित भएका खगराजले ०५१ सालमा संसदको यात्रा तय गरे । २०५६ र २०६४ मा हार प्यहोरेका उनी २०७० मा सांसद मात्र चुनिएनन्, सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बने । पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारमा २०७८ साल जेठमा उनी १३ दिने गृहमन्त्री समेत बनेका थिए ।

खरो र जुझारु स्वभावका खगराजको राजनीतिक जीवनको सबैभन्दा बलियो पक्ष भनेको निष्कलंकित रहनु हो । त्यही कारण उनलाई आफ्नो क्षेत्रमा ‘रुखो’ छन्, तर बिगार चाहिँ गर्दैनन् भन्नेहरु भेटिन्छन् । केन्द्रमा सांसद र मन्त्री भइसकेका खगराजका लागि मुख्यमन्त्रीका रुपमा अर्को अर्को परीक्षा सुरु भएको छ ।

प्रदेशकै आवश्यकतामाथि प्रश्न उठाउन थालिएको बेला मुख्यमन्त्री भएका अधिकारीले त्यसलाई चिर्नुपर्ने चुनौती छ । गण्डकीको पहिलो सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बाले आफ्नै पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा समेत प्रदेशको अधिकारका लागि लड्नु परेको थियो । अहिले पनि प्रदेशले पाउने पर्ने सबै अधिकार पाइसकेको छ भने स्रोत र साधनको सिमितिता पनि कायमै छ ।

खगराज भन्छन्, ‘म लोभ र कुर्चीको मोहले मुख्यमन्त्री बनेको होइन । म कुनै पनि दिन जनताको हित विपरीत जान्नँ । जनतालाई मन नपर्ने काम गर्दिनँ ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?