
काठमाडौं । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर यसवर्षको प्रतीक्षित बलिउड फिल्म ‘पठान’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । विवाद र चर्चाले घेरिएको यो फिल्मलाई लिएर दर्शकमाझ ब्यापक पर्खाइ भैरहँदा निर्माण कम्पनी यशराज फिल्म्सले ट्रेलर ल्याएको हो । स्पाइ-एक्सन-थ्रीलर फिल्ममा भरपूर एक्सन दृश्य समावेश गरिएको छ ।
‘पठान’ पाँचवर्षपछि शाहरुखको कमब्याक फिल्म समेत हो जसले गर्दापनि उनका फ्यानमाझ यसलाई लिएर ब्यापक पर्खाइ छ । यो फिल्मलाई यशराज ब्यानरको चौंथो स्पाइ सिरिज भएको बताइएको छ । फिल्ममा सलमान खानले टाइगर नामक केमियो चरित्रमा समेत अभिनय गरेका छन् । सिद्धार्थ आनन्दको निर्देशन र आदित्य चोपडाको निर्माण रहेको फिल्म माघ ११ गते बुधबार भारतसहित विश्वभर रिलिज तयारीमा छ । भारतीय स्वतन्त्रता दिवसको छेकोमा फिल्म आउन लागेको हो ।
फिल्ममा शाहरुखले भारतीय जासूस संयन्त्र रअ एजेन्टका एक जासूस अर्थात पठानको चरित्रमा अभिनय गरेका छन् । २५० करोड भारुमा निर्माण भएको यो फिल्मले पछिल्लो समय संकट खेपिरहेको बलिउडलाई लयमा ल्याउने आशा राखिएको छ । फिल्मको गीत ‘बेसरम रङ’ रिलिजकै समयमा विवादमा तानिएको थियो । खासगरि उक्त गीतमा अभिनेत्री पादुकोणले पहिरिएको बिकिनीको रङले हिन्दू धर्मलाई अपमान गरेको भन्दै सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) विरोधमा उत्रिएको थियो ।
अर्कोतर्फ, ‘पठान’लाई लिएर बहिष्कारको ट्रेन्ड पनि चलिरहेको छ । पठान यतिबेला फिल्म मात्र होइन भारतीय बहसको केन्द्रमा छेडिएको लोकतन्त्रको एउटा मुद्दा समेत बनेको छ । प्रतिष्ठित क्याराभान म्यागजिनले त शाहरुखको श्यामश्वेत तस्वीरलाई कभर स्टोरी बनाउँदै शाहरुखको मौन विद्रोह नामक हेडलाइन लेखेको थियो । नेपालमा समेत यो फिल्मलाई रिलिजको लागि वितरकमाझ होड सुरु भएको छ । स्रोतका अनुसार कम्तीमा चारजना वितरकले नेपाल राइट खरिद गर्न अग्रता लिएका छन् ।
हेर्नूस ट्रेलर :
प्रतिक्रिया 4