
२६ पुस, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थलाई राजनीतिक विषय बनाएको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन् । नेपाल आयल निगमको ५३औं वाषिर्कोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै पेट्रोलियम ढुवानी व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् ।
इन्धनको मूल्य सरकारले आदेशमा चलाउँदा त्यसबाट पेट्रोलियम व्यवसायी पनि पीडित भएको उनीहरुको भनाइ छ । कार्यक्रममा बोल्दै एलपी ग्यास उद्योग संघका अध्यक्ष कुश मल्लीले स्वचालित मूल्य लागु नहुँदा निगम र व्यवसायी दुवै समस्यामा परेको बताए ।
विषम परिस्थितिमा पनि एलपी ग्यासमा सहजता प्रदान गरेको भन्दै उनले सरकारका कारण पटक-पटक व्यवसायी मर्कामा परेको बताए । ‘मूल्य र व्यवसायिको नाफा घाटा परिपुरक छ,’ मल्लीले भने,’तर मूल्य स्वाचालित नहुन राजनीति भयो ।’
व्यवसायीको समस्यामा निगम अध्यक्षको ध्यान जाओस् भन्दै मल्लीले नाफा र घाटासँगै व्यावसायीको कमिसन पनि निश्चित गराउन माग गरे । भारतबाट आउँदा ग्यासमा पानी आउने भन्दै उनले गुणस्तरका लागि निगमले काम गर्नुपर्ने माग गरे ।
पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले इन्धनको मूल्य घटाउने विषय राजनीतिक बनाएको भन्दै आक्रोश व्यक्त गरे । ‘पाँच दिन पहिले निगमले मूल्य घट्दैन भन्यो,’ अर्यालले भने,’तर, व्यवसायीले टन्न इन्धन खरिद भइसकेपछि सरकारको आदेशमा मूल्य घटाइयो ।’
मूल्य राजनीतिक हुँदा व्यवसायी मारमा परेको पनि उनले बताए । नेपाल भारत मूल्य अन्तर धेरै हुँदा व्यवसायी पनि मारमा परेको भन्दै उनले डिजेलको मूल्य घटाउन माग गरे ।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले निगम नीतिले भन्दा पनि आदेशले चलेको भन्दै आपत्ति जनाए । उनले सरकारलाई पेट्रोलियम पदार्थ आर्थिक वस्तु हो वा राजनीतिक वस्तु हो भनी निक्र्याेल गर्न आग्रह गरे ।
राजनीतिक वस्तुको रुपमा आर्थिक वस्तुलाई सरकारले व्यवहार गर्दा पेट्रोलियम पदार्थको चेनमै असर परेको प्रधानले बताए ।
प्रतिक्रिया 4