+
+

५० हजार वर्षपछि देखिंदैछ जेटीई पुच्छ्रेतारा, भोलिदेखि देख्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १६:११

२८ पुस, काठमाडौ । आजभन्दा ५० हजार वर्ष पहिले अर्थात् हिमयुगमा देखिएको हरियो रङको पुच्छ्रेतारा भोलि शुक्रबार पुन: पृथ्वीबाट देख्न सकिने भएको छ ।

वैज्ञानिकहरुले C/2022 E3 (ZTE) नाम दिएको यो पुच्छ्रेतारा शुक्रबार बिहानबाट अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘आजभन्दा ५० हजार वर्ष पूर्व हिमयुगमा देखिएको हरित रङ्गको पुच्छ्रेतारा पृथ्वीबाट फेरि देख्न सकिन्छ । होमो सेपियन्स अर्थात् हाम्रा पूर्वजहरु पृथ्वीमा विचरण गरिरहेको समयमा सौर्यमण्डलमा देखिएको थियो । भोलि शुक्रबारबाट नेपालबाट पनि देख्न सक्छौं।’

उनका अनुसार यो पुच्छ्रेतारा सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पुसमा सूर्यको सबैभन्दा नजिक आउने भएकोले त्यसपश्चात् केही हप्तासम्म अवलोकन गर्न सकिनेछ ।

आँखाले देख्न नसके पनि वाइनाकुलर तथा टेलिस्कोपको सहायताले अवलोकन गर्न सकिने उनले बताए । अहिले आँखाले देख्न नसक्ने भए पनि माघ १८ गतेपछि भने केही समय आँखाले पनि देख्न सकिने उनले बताए ।

नेपालबाट पनि यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवताराको नजिक माघ महिनाको दोश्रो सातासम्म बेलुकी ७ बजेपछि देख्न सकिने उनले बताए । उनले भने, ‘हाम्रा पूर्खा तथा होमो सेपियन्सले सायद उक्त पुच्छ्रेतारालाई विगतमा अवलोकन गरेका होलान् र कालान्तरमा उक्त पुच्छ्रेतारा काल चक्रमा प्रवाहित हुँदै सौयमण्डलको वृहत्तर विशाल दुरीलाई छिचोल्दै पुनः हामी सामु प्रकट भएको छ ।’

यो पुच्छ्रेतारा माघ १८ गते मा पृथ्वीको नजिकमा ४२ करोड कि.मि.को दूरीसम्म आइपुग्ने शर्माले बताए । उनले थपे, ‘अहिले हाल उक्त पुच्छ्रेतारालाई पृथ्वीको उत्तरी गोलार्द्धमा बस्नेले अवलोकन गर्न सक्नेछन् भने माघपछि दक्षिणी गोलार्द्धमा बस्नेले पनि अवलोकन गर्न सक्नेछन् ।’

पुच्छ्रेतारा एउटा टाउको र दुईवटा लामो र छोटो पुच्छरको रूपमा देखिनेछ । डाइकार्बन अणुहरुको कारणले गर्दा यो तारा हरियो रङ्गको देखिने भएको हो । कुनै समयमा कुनै संकटको संकेत भनेर मानिने पुच्छ्रेताराहरु वैज्ञानिक जगतका लागि अहिले अनुसन्धानको विषय भएको छ ।

वैदिक युग तथा महाभारत युगभन्दा पनि धेरै पहिला पृथ्वीको नजिकमा आइसकेको उक्त पुच्छ्रेतारालाई बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले पनि निरन्तर रुपमा अध्ययन-अवलोकन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?