+
+

उद्घाटन गर्ने बेलामा नागढुंगा सुरुङमार्गको आधा काम बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १९:०४

२८ पुस, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणको शिलान्यास भएको ३८ महिनामा करिब ४८ प्रतिशत काममात्रै सकिएको छ । ४२ महिनाभित्र सक्ने गरी ४ कात्तिक २०७६ मा सुरुङमार्ग आयोजना निर्माण सुरु भएपनि मुआब्जासहित पूर्वतयारीको काममा भएको ढिलाइले आयोजना निर्धारित समयमा नसकिने निश्चित भएको हो । ।

लक्ष्यअनुसार काम हुने हो भने अबको ४ महिना अर्थात् आगामी वैशाखभित्र आयोजनाको काम सकिनुपर्छ । तर, अहिलेसम्म मुख्य सुरुङमार्ग र फ्लाइओभरको संरचनाको काम नै धेरै बाँकी रहेकाले आयोजना तोकिएको समयमा भन्दा कम्तीमा एक वर्ष पछि धकेलिने निश्चित भइसकेको छ । उद्घाटन गर्नुपर्ने सयममा आयोजनामा करिब आधा मात्रै काम सकिने अवस्था आएको आयोजनाका एक अधिकारीले बताए । ‘ढिला भएपनि अरु आयोजनामा जस्तो चरम ढिलाइ भएको छैन,’ ती अधिकारीले भने, ‘प्राविधिक रुपमा जटिल मानिएको सुरुङको काम सकिएर फ्लाइओभर निर्माण भएपछि अरु काम फटाफट सकिन्छ,’ उनी भन्छन् ।

अहिलेसम्म मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्ड खन्ने काम ७३.३ प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजनाका अनुसार मुख्य सुरुङमार्गको २ हजार ६८८ मिटर मुख्य सुरुङमार्गमध्ये १ हजार ७८२ मिटर सुरुङ खनिएको छ । अकस्मिक रुपमा उद्धार गर्न बनाइने इभ्याकुएसन सुरुङको २ हजार ५५७ मिटर सुरुङमध्ये २ हजार ४६ मिटर सुरुङ खनिएको छ ।

वर्किङ अडिटको पुरै १२६ मिटरको काम सकिएको छ । वर्किङ पासेज १२८ मिटरमध्ये ७४.२ मिटर मात्रै निर्माण भएको छ । आयोजनाले ९५७.१० मिटर सुरुङमा कंक्रिट लाइनिङ गरेको छ । यो कुल सुरुङको ३४ प्रतिशत मात्रै हो ।

३ वटा अन्डरपासको निर्माण सकिएको छ, ४ वटा बक्स कल्भर्ट बनेको छ । एउटा ओभरपास र ३ वटा पुल पनि तयार भइसकेका छन् ।

फ्लाइओभर निर्माणका लागि जग राख्ने काम हुँदैछ भने मुआब्जा वितरणको काम पनि पुरा हुन सकेको छैन ।

सडक खन्ने काम ७७.८० प्रतिशत सकिएको छ भने पुर्नका लागि गर्नुपर्ने काम ६४.७० प्रतिशत सकिएको छ । कुल आयोजनामा अहिलेसम्म ४७.९ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ । अहिलेसम्म आयोजनाको कुल बजेटमध्ये ४९.५९ प्रतिशत रकम खर्च भइसकेको छ ।

आयोजनाको करिब ५० प्रतिशत काम भने सुरुङ बाहिर छ । सुरुङसँग राजमार्गलाई जोड्न पहुँच सडक र फ्लाइओभरको ५ मध्ये ४ वटा संरचना निर्माण निर्माण भइसकेको छ ।

आयोजनाका अनुसार सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर (२ हजार ८७२) को पहुँचमार्ग बनाउनुपर्छ । यसका लागि गुर्जुधाराचोक र सुरुङको मुखमुनि दुईवटा फ्लाइओभर बनाउनुपर्छ । गुर्जुधारामा बन्ने फ्लाइओभर ६१० मिटरको हुनेछ ।

कलंकीबाट बलम्बु हुँदै नागढुंगा जोड्ने सडक क्रस गराउन करिब १५० मिटर लामो अर्को फ्लाइओभर बनाउनुपर्छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको १४ महिनापछि पुस २०७७ मा सुरुङमार्गमा खन्ने काम सुरु भएको थियो । २.६६८ किलोमिटर लामो यो सुरुङमार्ग वैशाख २०७७ देखि सुरु गर्ने योजना थियो ।

समयमै मेसिन नआइपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जा विवाद नसल्टिएको लगायत कारण देखाउँदै काममा ढिलाइ भएको थियो । त्यसका कारण अहिले आयोजना तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा आइपुगेको हो ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि सहुलियत ऋण उपलब्ध गराएको छ ।

नेपाल सरकारले ५ अर्ब ५३ करोड लगानी गर्ने यो सुरुङमार्ग बनेपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?