
२८ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्दै ३०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
२८ पुसमा सम्पन्न बैंकको वार्षिक साधारणसभाले सिभिल बैंक लिमिटेडलाई १००ः८०.२८ को सेयर आदानप्रदान अनुपातमा (सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउने) प्राप्ति गर्ने गरी मर्जर प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मत रूपले पारित गरेको बैंकले जनाएको छ । यस्तै बैंकको साधारणसभाले आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक प्रतिवेदन सहित सोही आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयरले र ११.११ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पनि पारित गरेको छ ।
यस्तै बैंकले विजयबहादुर श्रेष्ठलाई सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा निविरोध निर्वाचित गरेको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात ‘हिमालयन बैंक लिमिटेड’ कै नाममा एकीकृत कारोबार गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कुल अधिकृत पूँजी २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पूँजी २१ अर्ब ६५ करोड नाघ्नेछ । प्राप्ति पश्चात बैंकको कुल पूँजीकोष ३६ अर्ब ६९ करोड, कुल शाखा सञ्जाल १८९, विस्तारित काउन्टर १९ र एटीएम संख्या २६२ पुग्नेछ ।
प्रतिक्रिया 4