
घरलाई बोटबिरुवा र फूलले सजाउँदा सौन्दर्य बढ्ने त छँदैछ, त्यसले स्वास्थ्यमा समेत लाभ पुर्याउँछ । हरियाली वातावरणले स्वच्छ हावा प्रवाह गरी शरीरलाई ऊर्जावान् र तनावमुक्त बनाउँछ ।
तनलाई आराम दिने र मनलाई आनन्दित तुल्याउने फूल हो ‘हाइसिन्थ’ । हल्का र गाढा गुलाबी, लाभेण्डर, सेतो र रातोलगायत विभिन्न रङमा फुल्ने यो फूल हेर्दा जति आकर्षक छ त्यसको बास्ना उति मीठो छ । बास्नादार भएकै कारण फूलप्रेमीहरुको प्रिय बनेको छ यो फूल ।
हाइसिन्थ बोटानिकल जिनस र लिलियासी परिवारसँग सम्बन्धित बिरुवा हो । हाइसिन्थ गमला र खाली मैदानमा पनि फुलाउने गरिन्छ । यो कट फ्लावर बिरुवा पनि हो । वसन्त ऋतुको सुरुवातसँगै कोपिला लाग्ने र चैत, वैशाखमा ढकमक्क फुल्ने गर्छ । यो फूल वर्षमा एकपटक फुल्ने भएपछि यो फूलको बोट एकपटक रोपेपछि हत्तपत्त मर्दैन । स्याहार नपुगेर मरे पनि बल्बबाट पुनः अर्को बोट पलाउँछ । त्यसलाई छुट्याएर रोप्न सकिन्छ । यो फूल अधिकांश भू-भागमा फुल्छ ।
कसरी रोप्ने ?
वातावरणलाई मनमोहक बनाउने हाइसिन्थ फूल रोप्न र हुर्काउन खासै कठिन छैन । यो फूललाई शरद् ऋतुमा रोप्न सकिन्छ । एउटा गमलामा दुई-तीनवटा बल्ब रोप्ने हो भने करिब १० सेमी दूरी छोड्नुपर्छ । गमलामा बिरुवाको आकारअनुसार माटो र मल (पिना, कम्पोस्ट मल वा गाई गोबरको मल) मिसाएर रोप्न सकिन्छ ।
हाइसिन्थलाई पर्याप्त मात्रामा घाम चाहिने भएकोले सूर्यको प्रकाश आउने ठाउँमा राख्नुपर्छ । बल्बलाई रोपेपछि नउम्रिने बेलासम्म धेरै पानी हाल्नुहुँदैन । यो फूललाई बिहान एकपल्ट माटो भिज्ने गरी पानी दिनुपर्छ । जुनसुकै मौसममा पनि यो फूल फुलाउन सकिन्छ ।
यसमा रोग भनेको लाइ कीरा लाग्ने गर्छ । १५ सय एमएलको बोत्तलमा कीटनाशक औषधि हालेर कीरा लागेको ठाउँमा बेलाबखतमा छर्किने गरे कीरा जान्छ ।
हाइसिन्थ फूलको बोटको आकारअनुसार मूल्य पर्छ । सानो बोटको ६०० रुपैयाँसम्म पर्छ भने ठूलो बोटको कम्तीमा ३५० रुपैयाँ पर्छ ।
(रेड रोज नर्सरीका सञ्चालक कार्कीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4