
काठमाडौं । चलचित्रकर्मी कल्याण कोषमा मंगलबारसम्म पाँच करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा कलाकारहरु दीपा झा, दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा र स्वस्तिमा खड्काले पनि कोषलाई आर्थिक सहयोग गरेका छन् ।
नेपाल र भारतमा समेत चर्चित पार्श्वगायिका झाले ५ लाख १११ रुपैयाँ कोष संयोजक वसुन्धरा भुसाललाई प्रदान गरिन् । दीपकले १ लाख १११, दीपाश्रीले १ लाख १११, निर्मलले ५१ हजार १११ र स्वस्तिमाले ५१ हजार १११ आर्थिक सहयोग कोषलाई हस्तान्तरण गरे । कोषको रकम १० करोड पु¥याउने लक्ष्य रहेको सदस्य तथा फिल्म निर्देशक समेत रहेकी दीपाश्रीले जानकारी दिइन् ।
सहयोगी हात अघि बढाउँदै गायिका झाले आफूले जीवन बिताएको क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । यही क्षेत्रले आफूहरुलाई यो उचाइमा पु¥याएको बताउँदै दीपाले नेपालप्रतिको माया बाँडिन् । पोखरामा हुन लागेको सम्मान कार्यक्रममा भाग लिन उदितनारायण झाकी पत्नी तथा चर्चित गायिका दीपा नेपाल आइपुगेकी हुन् ।
आर्थिक सहयोग प्रदान गर्ने सबै दातालाई कदरपत्रले सम्मान समेत गरिएको थियो । कोष संयोजक तथा अध्यक्ष भुसालले देश–विदेशबाट सहयोगस्वरुप रकम प्राप्त भएको र यसको रकम कलाकारिता क्षेत्रमा लागिरहेकाको उपचार लगायत सामाजिक कार्यमा खर्च गर्ने गरिएको बताइन् । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको यो कोष २२ वर्षदेखि सञ्चालनमा छ ।
प्रतिक्रिया 4