+
+

सुस्ता बचाऔं अभियन्ता गोपाल गुरुङको उपचारमा आर्थिक अभाव

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १७:००

६ माघ, बुटवल । सुस्ता बचाऔं अभियानका संयोजक गोपाल गुरुङको उपचारमा आर्थिक अभाव भएको छ ।

भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी पश्चिमको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गरेका ६२ वर्षिय गुरुङ मष्तिष्कघात भई झण्डै एक महिनादेखि अस्पतालमा उपचाररत छन् ।

सुस्ता गाउँपालिका–५ का गुरुङको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै परिवारजनले सरकारसंग सहयोगको याचना गरेका छन् ।

२८ दिनदेखि अस्पतालमा भर्ना गरेर उपचार गराउंदा भएको रकम सकिएपछि आर्थिक संकलनका लागि ५ सदस्यीय टोली बनाइएको गुरुङकी छोरी पसन्द गुरुङले बताइन् ।

‘बुबाले देशको भूमि अतिक्रमणबाट जोगाउन वर्षौंदेखि भारतीय पक्षसित लड्दै आउनुभयो, एक वर्ष त भारतमा थुनिनु पनि भयो’–पसन्दले भनिन्–‘हामीसंग भएको ६ लाख खर्च भएर सकियो अब सरकारले उपचारमा सहयोग गर्छ कि भन्ने आशा गरेका छौं ।’

गोपालका एक छोरा वैदेशिक रोजगारीका क्रममा दुबईमा छन् भने एउटी छोरी कक्षा ११ मा अध्ययनरत छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले सरकारी निकायबाट उपचारमा सहयोगको अपेक्षा गरेको जेठी छोरी पसन्दले बताइन् ।

नेपाल प्रहरीको जागिरे हुंदा सुस्तामा खटिएका बेला त्यहां भारतीय अतिक्रमण प्रतयक्ष देखेकाले सेवाबाट अवकाश लिएपछि सुस्तामै बसेर अतिक्रमणविरुद्ध आवाज उठाउन थालेका स्थानीय रबिन्द्र बानिया बंछन् ।

२०६२ सालबाट एसएसबीको उक्साहटमा भारतीय नागरिक पठाएर अतिक्रमणलाई तिव्रता दिएपछि गुरुङले सोही वर्षदेखि सुस्ता बचाउ अभियान सञ्चालन गर्दै सरकारलाई अतिक्रमण रोक्न र कब्जा गरिएको जग्गा फिर्ताको मागसहित दबाब दिंदै आएका छन् ।

‘भारतको अतिक्रमणविरुद्ध आवाज उठाएको हुंदा भारतीय सुरक्षाकर्मीले झुठा मुद्दा लगाएर एक वर्ष जेल पठाएका थिए’–बानियाले भने–‘गोपाल नभएको भए सुस्ताको भूमि अझै धेरै गुम्थ्यो, देशको भूमि जोगाउन लडेको अभियान्ताको उपचारमा सरकारी निकायले अहिलेसम्म कुनै चासो नराख्नु विडम्बना हो ।’

सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिन मध्ये १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको छ । १९ हजार ४८० हेक्टरलाई भारतले विवादित भन्दै आएको छ । जसका कारण नेपाली भूमि भएर पनि भोगचलन गर्न नपाइएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए । अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएका छन् ।

युनिभर्सल मेडिकल कलेज भैरहवाका अनुसार गुरुङलाई मस्तिष्क पक्षघात संगै निमोनिया,मिर्गौला र कलेजोमा समेत समस्या देखिएकाले स्वास्थ्य अवस्था जटिल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?