
७ माघ, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उनकी श्रीमती गीता देवीको हत्यामा संलग्न एक आरोपित दुई वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटना पश्चात फरार स्थानीय ७२ वर्षीय तेजनारायण झा रहेका छन् ।
उनलाई झापाको मेचीनगर नगरपालिका–६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका झा भारतको गुवाहटी शहरमा पुजारीको काम गरी बेलाबेलामा काकडभिट्टा नाका हुदै घर आउजाउ गर्ने गरेका थिए । गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज, काठमाडौंको सहयोगमा उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
११ फागुन २०७७ झा दम्पती घरबाटै अपहरणमा परेका थिए । व्यापक खोजतलास गर्ने क्रममा हत्या गरी बोरामा राखेर गाडेको अवस्थामा १२ चैत २०७७ मा पिपरा गाउँपालिका–२ स्थित पिपराबाट मटिहानी जाने सडकमा गाडेको अबस्थामा कंकाल फेला परेको थियो ।
सो घटनामा कैलाश झा, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने रजिन्द्र यादव र हरेन्द्र ठाकुर, तेज नारायण झा, तारा देवी झा, बिकास भन्ने बब्लु कुमार झा समेतको संलग्नता रहेका आरोप छ । घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परिसकेका थिए ।
तेजनारायण भने फरार थिए । पक्राउ परेकामध्ये महोत्तरी जिल्ला अदालतको आदेशमा तीनजना पूर्पक्षका लागि जेल चलान भइसकेका छन् भने ४ जना धरौटीमा छुटेका छन् ।
प्रतिक्रिया 4