+
+

राजुनाथ पाण्डेमाथि छानबिन गर्न गठित समितिको म्याद दोस्रो पटक थपियो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १५:००
फाइल तस्वीर

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध परेको उजुरीमाथि छानविन गर्न गठित समितिको म्याद पुनः थप भएको छ । महानगरले ८ पुसमा पाण्डेमाथि छानबिन गर्नका लागि समिति गठन गरेको थियो ।

उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएपनि पर्याप्त समय नभएको भन्दै २२ पुसमा छानबिन समितिको म्याद पहिलो पटक थप भएको थियो । दुई साता थप भएको म्याद सोमबार सकिएको हो ।

पहिलो पटक थप भएको समयमा पनि समितिले प्रतिवेदन तयार गर्न नसकेपछि सोमबार दोस्रो पटक म्याद थप भएको छानबिन समितिकी सदस्य कुमारी राईले जानकारी दिइन् ।  सोमबारदेखि लागु हुने गरी समितिले एक साताभित्र प्रतिवेदन बुझाउनु पर्ने उनले जानकारी दिइन् । ‘हामीले काम गरिरहेकै छौं, अन्य काम पनिसँगै गर्नुपर्ने भएकोले प्रतिवेदन अन्तिम रुप दिन नसकेका हौं’ राइले भनिन् ।

पाण्डेमाथि एक महिला नगर प्रहरी हवल्दारले आफूमाथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन् ।

महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल संयोजकत्वमा गठित छानबिन समितिमा न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई पनि सदस्य छन् ।

महिला नगर प्रहरी हवल्दारको निवेदनपछि महानगरले पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । पाण्डेले ५ पुसमा आफूबाट गल्ती नभएको भन्दै आफ्नो बचाउ गरेका थिए ।

यस विषयमा विवाद भएपछि नगर प्रहरी प्रमुखको कार्यशैलीमाथि प्रश्न उठाउँदै नगर नायब निरीक्षक लोकनाथ चुँडालले राजनीनामा नै दिएका थिए । उनले नगर प्रहरीहरुमाथि माथिल्लो तहबाट पटक–पटक पीडा र दुर्व्यवहार भएपछि राजीनामा दिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?