
१० माघ, डोटी । एउटा कोठाको एक कुनामा हलो राखिएको छ, हलोसँगै जुवा, मई (लिँडुल्को) जुवा, हल्लुडो सजाएर राखिएको छ । सबै वस्तुहरुका नाम लेखिएको छ । सामानहरू हेर्दा कुनै काम नलाग्ने थन्काएर राखेको जस्तो देखिन्छ । तर, सजावट भने संग्रहालयको जस्तै छ ।
यो संग्रहालय नै हो । अछाम जिल्लाको साँफेवगर नगरपालिका-३ मा रहेको प्रभा धम्कोट प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालयले विद्यालय हाताभित्रै लघु संग्राहालय स्थापना गरेको छ ।
पुराना लोप हुन लागेका सामग्रीहरूको बारेमा भावी पुस्ताहरुलाई जानकारी गराउने उद्देश्यका साथ उक्त लघु संग्रालय स्थापना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक जोगराज कुँवर बताउँछन् । ‘उहिलेका धेरै वस्तुहरु लोप भइसके, नयाँ पुस्ताहरुलाई उहिलेको कुनै वस्तुको नाम भन्यो भने बुझ्दैनन्’ प्रधानाध्याप ककुँवर भन्छन् ,’विद्यालयमा पढाउँदा पनि विद्यार्थीहरुमा धारणा बसाउनै समस्या हुन थाल्यो ।’
पुराना दैनिक उपभोग्य वस्तुहरु, कृषि औजारहरूको संरक्षण गर्ने र विद्यार्थीहरुमा पनि सही धारणा बसाउन सकिने सोँचका साथ यो संग्राहलय स्थापना गरिएको उनले वताए । तीन महिनाअघिदेखि सामग्रीहरु जुटाइरहेको र अझै थुप्रै सामग्रीहरु जुटाउन बाँकी रहेको कुँवर बताउँछन् ।
‘संग्राहलयभित्र राख्न सकिने सामानहरु जस्ताको त्यस्तै राख्छौं, नसकिने सामानहरुको नमूना बनाएर राख्छौं’ उनले भने, ‘नमुना नै भए पनि कम्तिमा यस्तो रहेछ भनेर त सम्झाउन सकिन्छ नि !’
हालसम्म संकलन गरिएका सामग्रहीमा कोल र पानीघट्टको नमूना बनाएर राखिएको उनले बताए । विद्यालयमा प्राविधिकधारतर्फ कृषि विषयको पढाइ भइरहेको र यस संग्राहलयले कृषि विषयका विद्यार्थीहरुलाई पनि अध्ययनगर्न सजिलो हुने विद्यालयको विश्वास छ ।
‘पुराना सामानहरु राखेर मात्रै हुँदैन, उदाहरणका लागि कोलको नमूना देखाएर मात्रै भएन,’ कुँवर भन्छन्, ‘कोल के हो, कसरी चलाइन्थ्यो, के प्रयोजन हुन्थ्यो भन्ने विषयमा जानकारी दिनु पनि जरुरी हुन्छ ।’ उनले सवै सामग्रीहरु संकलन गरेर जानकारी पुस्तकसमेत प्रकाशन गर्न करीब एक वर्ष लाग्ने बताए ।
लघु संग्राहलयले लोप भइरहेका वस्तुहरुको पहिचानलाई जिवित राख्न मद्दत गर्ने बताउँछन् सामाजिक कार्यकर्ता झंकर कुँवर । ‘यो राम्रो कामको थालनी गर्नु भएको छ उहाँहरुले,’ कुँवर भन्छन्, ‘यसलाई जिल्लाकै नमूना संग्रहालयको रुपमा विकास गर्न सकिने सम्भावना छ ।’
विद्यार्थीहरुलाई कोरा ज्ञान दिएर मात्रै सम्झाउन समस्या हुने भन्दै कुँवरले भने, ‘यसले स्थानीय तहले निर्माण गर्ने स्थाननीय पाठ्यक्रमलाई सहयोग पुग्नेछ ।’
प्रतिक्रिया 4