+

डराएको वा आत्तिएको बेला किन बढ्छ मुटुको चाल  ?

२०७९ माघ  १६ गते १०:०५ २०७९ माघ १६ गते १०:०५
डराएको वा आत्तिएको बेला किन बढ्छ मुटुको चाल  ?

जब हामी कुनै कारणले अचानक आत्तिन्छौं वा डराउँछौं, तब मुटु छिटोछिटो ढुकढुक गर्छ । मुटु नै बाहिर आउला कि जस्तो हामीलाई लाग्छ ।

डराएको, आत्तिएको र दौडिएको बेला मुटुको चाल बढ्छ । किनकि यस्तो बेला शरीरले थप पोषण माग्छ । जसलाई चिकित्सकीय भाषामा नर्मल फेनोमेना (सामान्य स्थिति) भनिन्छ ।

मुटुको काम रगतको पम्प गर्ने भएकाले यो शरीरको मागअनुसार चल्छ । शरीरको माग धेरै हुँदा मुटुको चाल बढी हुन्छ भने माग कम हुँदा चालक पनि कम हुन्छ । यो सामान्य अवस्था हो, कुनै रोगको लक्षण होइन । यसबाहेक ज्वरो आउँदा, निरन्तर शारीरिक व्यायाम, दौडजस्ता क्रियाकलाप गर्दा पनि मुटुको चाल बढ्छ ।

मानिस भावनाकै कारणले डराउने, आत्तिने र तर्सिने गरेको बेलामा मुटुमा प्रभाव परिरहेको हुन्छ । जब मानिस डराउँछ वा आत्तिन्छ तब शरीरमा विशेष किसिमको हार्मोन निस्किन्छ । जसलाई क्याटाकोलामाइन भनिन्छ । यो निस्कँदा मुटु जोडले धड्किने र चाल पनि बढी हुन्छ । त्यतिबेला व्यक्ति तनाव महसुस गरिरहेको हुन्छ र त्यो तनावलाई शान्त गराई पुनः सामान्य गर्ने काम पनि सोही हार्मोनले गर्छ । कोही व्यक्ति कुनै कुरा वा घटना देखेर डराएर काम्ने गर्छन् भने त्यो बेलामा पनि हार्मोनले नै प्रभाव पारिरहेको हुन्छ ।

मुटुको चाल बढेकै कारण कुनै उपचार गर्ने भन्ने हुँदैन । तर अत्यधिक आत्तिने र बढी मानसिक तनाव लिइरहेमा भने पछि मुटुको समस्या आउन सक्छ । जसले मुटुको नसाहरु साँघुरिने सम्भावना हुँदा हृदयघात समेत हुन सक्छ ।

चिकित्सकले पनि मुटुको चाल बढेको उपचार गर्नुभन्दा पनि मुटुमा चाल के कारणले बढ्यो भनेर निर्क्योल गरेर उपचार गर्छन् ।

मुटुरोगले चाल अस्वाभाविक बढ्न सक्छ

कतिपयमा मुटुरोग लागेकै कारण मुटुको चाल बढ्ने गर्छ । सामान्य रुपमामुटु चल्नका लाग िमुटुमा करेन्ट बहनुपर्छ । उक्त करेन्ट निकाल्ने मुटुमा एउटा मार्ग हुन्छ, जसलाई साइनस नोड भनिन्छ । साइनस नोडले एक खालको करेन्ट निकाल्छ । यसरी निस्किएको करेन्ट जाने एक निश्चित तार हुन्छ, जसको माध्यमबाट करेन्ट मुटुका सबै कोठाभित्र पुग्छ । तर कतिपयमा भने करेन्ट बग्नुपर्ने ठाउँ नै अर्को भइदिने वा निस्केको अन्य करेन्ट बग्ने अनावश्यक तार हुन सक्छन् । त्यो अवस्थामा भने आवश्यकताभन्दा बढी मुटु धड्किन्छ । यो परिस्थितिमा भने कुनै पनि क्रियाकलाप नगर्दा स्थिर भएर बस्दा पनि एक्कासी मुटुको चाल बढ्ने हुन्छ । जसलाई ट्याकीकार्डिया भनिन्छ ।

ट्याकीकार्डिया मुटुरोगमध्ये एक हो । यो रोगबाट ग्रसित व्यक्तिमा अचानक चाल बढ्ने सम्भावना हुन्छ । त्यो समयमा गाह्रो हुने, रिंगटा लाग्ने, छाती दुख्ने, श्वास फेर्न कठिन हुने र बेहोस हुनेसमेत लक्षण देखिन सक्छ । सो रोग बच्चादेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि देखिन सक्छ । हृदयघात भएका व्यक्तिमा यसको जोखिम अरु बढी हुन्छ ।

मुटुको चाल

मुटुको चाल ६० देखि १०० छ भने सामान्य मानिन्छ । यद्यपि राति सुतेको अवस्थामा शरीरको माग कम हुने भएकाले ६० भन्दा कम ५० मा पनि झर्ने गर्छ, त्यो पनि अस्वाभाविक हुँदैन ।

मुटुको चाल आवश्यकताभन्दा बढी र कम हुँदा असामान्य स्वास्थ्य अवस्था भनेर बुझ्नुपर्छ । यी दुवै अवस्थामा व्यक्तिलाई हिंड्ने क्रममा वा बसेको समयमा चक्कर लाग्ने, टाउको दुख्ने, ढुकढुक हुने, श्वास फेर्न कठिन हुने लक्षण देखिन्छ ।

मुटुको चाल घटबढ हुनुमा विभिन्न कारण हुन सक्छन् । जन्मजात मुटुरोग, केहीमा उमेर बढेसँगै मुटुको बनावटमा परिवर्तन आउँछ । जसकारण मुटुमा करेन्ट निकाल्ने अन्य अनावश्यक ठाउँ पैदा हुने वा बाटो फरक हुन सक्छ । त्यस्तै, मुटुमा संक्रमण र हृदयघातपछि पनि मुटुको चालमा घटबढ हुन सक्छ  । हृदयघात भएका व्यक्तिमा मुटुको चाल घटबढ भएमा मृत्युसमेत हुने जोखिमं हुन्छ । त्यो अवस्थामा मुटुको चाल २०० सम्म पुग्न सक्छ ।

उपचार

मुटुको चाल घटबढसम्बन्धी सबैखाले उपचार नेपालमा सम्भव छ । चाल घटबढ हुँदा यसको उपचारबाट नियन्त्रणमा ल्याउन सकिन्छ । मुटुको चाल आवश्यकताभन्दा कम भएको अवस्थामा औषधिले ठीक हुन्छ भन्ने हुँदैन । यसको लागि पेसमेकर ब्याट्री लगाएर उपचार प्रक्रिया अघि बढाउन सकिन्छ । उक्त ब्याट्रीले मुटुको चाल कम भएको थाहा पाउछ र नियन्त्रण गर्ने काम गर्छ ।

त्यस्तै, मुटुको चाल आवश्यकताभन्दा बढी भएको खण्डमा उपचारको लागि औषधि पनि चलाइन्छ । अर्को माध्यम भनेको छाती नचिरी र बेहोस नबनाई पनि गर्न सम्भव छ । खुट्टाबाट तार पसाएर मुटुमा पु¥याएर चाल बढी भएको कारण पत्ता लगाएर अन्यन्त्र तार बग्ने बाटो भए निष्क्रिय बनाउने र चाल बढाउने तन्तु भेटिएमा नष्ट गरिन्छ ।

मुटुको चाल स्वस्थ बनाउन मुटुलाई स्वस्थ राख्नुपर्छ । त्यसका लागि मुटुलाई असर गर्ने जोखिम न्यूनीकरण गर्दा स्वतः चाल नियन्त्रण र नियमित हुन्छ । स्वस्थ जीवनशैली, दीर्घरोग नियन्त्रण, शारीरिक व्यायाम र तनाव व्यवस्थापन गर्ने प्रयत्न गर्नुपर्छ ।

(मुटुरोग तथा मुटुचालसम्बन्धी विशेषज्ञ डा. राउतसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. रोशन राउत मुटुको चाल
डा. रोशन राउत
लेखक
डा. रोशन राउत
वरिष्ठ मुटुरोग तथा मुटुको चाल विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४६६३ अध्ययन : एमबीबीएस, एमडी, डीआरसी, सीपीएस्सी फेलोसिप इन कार्डियाक एलेक्ट्रोफिजियोलोजी क्यानडा क्यानेडियन बोर्ड सट्रिफाइड मुटुचालसम्बन्धी विशेषज्ञ, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका पूर्वमुटुरोग विशेषज्ञ, हाल काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालका विभागीय प्रमुखको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?