+
+

नियमावलीमा संसदीय क्यालेण्डरको खोजी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १९:०५

१५ माघ, काठमाडौं । सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा संसदीय क्यालेण्डरको खोजी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा पटक–पटक उठेको यो विषयले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा पनि प्रवेश पाएको छ ।

गत माघ १० गते गठित २१ सदस्यीय नियमावली मस्यौदा समितिको दोस्रो बैठक आइतबार सिंहदरवारमा बसेको थियो । माघ १३ गते बसेको पहिलो बैठकमा समितिको आन्तरिक कार्यविधिका विषयमा छलफल चलेको थियो । दोस्रो बैठकमा भने संसदीय क्यालेण्डरका विषयमा पनि छलफल चलेको हो ।

समिति सदस्यहरुका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले यो विषयलाई सुरुवातमै उठाए । ‘संसदीय क्यालेण्डरले सभाको कामकारबाहीलाई व्यवस्थित गर्छ । संसदीय क्यालेण्डरले नै संसद चल्ने रुटिङ बनाएपछि सरकार त्यस अनुसार बिजनेश दिन पनि बाध्य हुन्छ’, शाहीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै सुनाए ।

संवैधानिक र कानुनी सीमाहरु भए पनि संसदले आफ्नो कानुन बनाउँदा ख्याल गर्न सक्ने र आफ्नो रुटिङ अनुसार सरकारलाई पनि गाइड गर्न सक्ने उनको तर्क छ । ‘संसदीय क्यालेण्डरमा सदन चल्ने समय निश्चित हुन्छ । त्यही रुटिङभित्र सरकारले आफ्ना विजनेश ल्याउँछ’, शाहीले भनेका छन् ।

तर, अन्य दलहरुले यस विषयमा मध्यमार्गी बाटो खोजेका छन् । मधयमार्गी बाटो खोज्नेहरुले संसदीय क्यालेण्डर बनाउन संवैधानिक सीमा देखाएका छन् ।

संविधानको धारा ९३ मा मा संसदको अधिवेशनको आह्वान र अन्त्य सम्बन्धी व्यवस्था छ । जहाँ संसद अधिवेशनको आह्वान र अन्त्य राष्ट्रपतिबाट हुने ब्यवस्था छ । राष्ट्रपतिले सरकारको सिफारिसमा अधिवेशनको आह्वान र अन्त्य गर्ने व्यवस्था संविधानको धारा ६६ मा छ ।

एमाले सांसद एवं प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सदस्य लिलालाथ श्रेष्ठ संवैधानिक सीमा र सरकारको बिजनेशलाई समेत ख्याल गरेर संसदीय क्यालेण्डरका विषयमा छलफल चलेको बताउँछन् । उनी भन्छन्, ‘सरकारको सिफारिसमा संसद अधिवेशन रहने वा नरहने भयो । सरकारले बिजनेश दिए संसद चल्ने नत्र नचल्ने अभ्यास छ । हाम्रो अभ्यास र संवैधानिक सीमाहरुका विषयहरुमा समेत छलफल भएका छन् ।’

तथापि, कार्यव्यवस्था परामर्श समितिमार्फत वर्क प्लान बनाएर संसदको कामकारबाहीलाई व्यवस्थित गर्न सबै सकारात्मक रहेको मस्यौदा समितिका अर्का सदस्य महेश बर्ताैला बताउँछन् । उनी थप्छन्, ‘सरकारले बिजनेश दिने र त्यस अनुसार कार्या व्यवस्था परामर्श समितिले वर्क प्लान बनाउने विषय उचित छ ।’

समिति सचिवालयका अनुसार यो विषयमाथि ठोस निर्णय भएको छैन् ।

उपसभामुखलाई थप अधिकार

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले उपसभामुखलाई विगतमा भन्दा थप केही अधिकार दिने र थप सक्रिय बनाउने गरी प्रचलित व्यवस्था बदल्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम ४ मा ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछ’ भन्ने उल्लेख छ । यस व्यवस्था अनुसार सभामुख अस्वस्थ भएको अवस्थामा, सभामुख विदेश भ्रमण गएको अवस्थामा वा अन्य कुनै कारणले सभामुख व्यस्त रहेको अवस्थामा सदन सञ्चालन हुन सक्दैन् ।

विगतको यही तथ्यलाई ख्याल गरेर ‘काबु बाहिरको स्थिति’मा सभामुखको लिखित अनुमतिमा उपसभामुखले प्रतिनिधि सभाको बैठकको प्रारम्भ र स्थगत गर्ने व्यवस्था राख्ने सहमति जुटेको एमाले सांसल श्रेष्ठले जानकारी दिए ।

साथसाथै, निर्धारित समय भन्दा दुई घण्टा ढिलो भए प्रतिनिधिसभाको बैठक स्वतः स्थगित हुने प्रचलित व्यवस्था बदलिने भएको छ । तोकिएको समय भन्दा एक घण्टा ढिलोसम्म बैठक सुरु हुन नसके संसद बैठक स्थगित हुने गरी नयाँ व्यवस्था राखिएको छ ।

नेम प्लेटको प्रस्ताव

बैठकमा शाहीले प्रत्येक सांसदको सिटमा नाम (नेम प्लेट) राख्ने प्रस्ताव गरेका थिए ।

सांसदको नाम नै कुर्सीमा लेख्दा हाजिर गरेर हिँड्ने तथा बैठकमा अनुपस्थित हुनेको नाम जनताले थाहा पाउने हुँदा त्यो सार्वजनिक जवाफदेहिताको विषय बन्ने उनको दाबी छ । भन्छन्, ‘यसरी पनि हामी माननीयहरुलाई सिस्टममा हिडाँउनुपर्ने छ ।’

नेम प्लेट राखिदिएपछि सांसदहरु सबै भत्ता खान मात्रै संसद भवन जान्छन भन्ने सोलोडोलो बुझाइ पनि खण्डित हुने शाही बताउँछन् । ‘यो सबैको हीतमा छ भन्ने हाम्रो बुझाइ छ हो ।’ बैठकपछि शाहीले अनलाइनखबरसित भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?