
१५ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दाबी छ, पछिल्लो दुई सातामा काठमाडौंका राष्ट्रिय सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भइसक्यो । मन्त्रालयका दाबी अनुसार सडक विभाग र संघीय सरकारले हेर्ने सडकमा रहेका ७ हजार ६ सय वर्ग मिटर बराबरका खाल्डो पुरिएको छ ।
तर, सडकको अवस्थाले भने त्यस्तो देखाउँदैन । सडकका खाल्डो केही त पुरिएका छन्, तर अधिकांश उस्तै अवस्थामा भेटिन्छन् । काठमाडौंका मुख्य सडकहरुमा समस्या कम भएपनि सहायक सडक र महानगरपालिकासहित करिडोर सडकहरुमा खाल्डो घटेका छैनन् । माटो र गिट्टी राखेर पुरिएको खाल्डो समेत अधिक चापले फेरि उही हालतमा पुगेका छन् ।
कतिपय मुख्य सडकहरुमा नै खाल्डो हटेका छैनन्, भित्री सडकहरुमा खाल्डाको सास्ती उस्तै छ ।
उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले २१ पुसमा आफैं अगुगमनमा निस्किएर खाल्डो पुर्ने अभियानलाई तीव्रता दिन र १५ दिनभित्र पुरिसक्न निर्देशन दिएका थिए ।
तर, सुरुको १५ दिनमा निर्देशनअनुसार काम भएनन् । तर, खाल्डो पुर्ने अभियान सुरु भएको केही दिनमै २० पुसमा क्रसरहरु बन्द भएकाले अभियानले सुरुमै गति नलिएको सडक विभाग आफैंले बताएको थियो ।
अहिले विभाग काठमाडौं सडक डिभिजन अन्तरगत ३ हजार ६००, भक्तपुर र ललितपुर डिभिजन अन्तरगत २–२ हजार वर्गमिटर बराबरको खाल्डो पुरिएको दाबी गरिरहेको छ ।
‘तर धेरै ठाउँमा त खाल्डो जस्ताको तस्तै छ नि ?’ भन्ने अनलाइनखबरको प्रश्नमा विभागका महानिर्देशक अर्जुनजंग थापा धेरै खाल्डोहरु पुरिएको दाबी गर्छन् । तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को कारण केही मुख्य सडकहरुमा बढी समस्या देखिएको उनको स्वीकारोक्ति छ ।
‘सोह्राखुट्टे र महाराजगञ्ज क्षेत्रमा सडकमा पुरानो प्रणालीका कारण सकडमा पानी चुहिने समस्या धेरै भयो, टालेको सडक पनि बिग्रिरह्यो,’ उनी भन्छन्,‘कतिपय ठाउँमा विद्युत् प्राधिरकणले तार भूमिगत गरिरहेको छ भने कतै महानगरपालिका, उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति अन्तरगतका सडकमा पनि समस्या छन् ।’
हात बाँध्दै महानगरहरू
सडक विभागले केही मुख्य सडकमा केही आवधिक मर्मत र नियमित मर्मतसम्भारको काम गरिरहेको छ । तर, मर्मत गरेको सडक अन्य विभिन्न निकायले भत्काउने गर्दा समस्या परिरहेको विभागका अधिकारीहरुको भनाइ छ ।
काठमाडौंका कुनै सडकमा समस्या नहुँदै कालोपत्रे (पिच) थोपर्ने काम भइरहेको छ भने कतै मुख्य सडकहरु नै खाल्डोले भरिएका छन् । कुनै सडकमा ‘पिच माथि पिच’ भइरहेको छ भने कतै खाल्डोले ढपक्कै सडक ढाकिएका छन् ।सडकहरुका खाल्डाले सडकको मर्मको जिम्मा लिएका सम्बन्धित निकायलाई गिज्याइरहेको छ ।
चक्रपथकै कतिपय स्थानमा खाल्डा पुरिएको छैन।ललतिपुरको लगनखेल, मंगलबार, बंगलामुखीसहित सहरका भित्री सडकहरुको अवस्था त बेहाल भएको स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।
काठमाडौं महानगरको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएपछि पूर्वाधार एम्बुलेन्स चलाउने भन्दै हल्ला गरेतापनि अहिले थन्किएर बसेको छ । केही समय टिप्परलाई रंग लगाएर निर्माण सामग्री बोक्दै माटो र गिट्टी खाल्डोमा हाल्दै हिंडेको पूर्वाधार एम्बुलेन्स अहिले बजेट अभावमा थन्किएर बसेको हो ।
तर महानगरका अधिकारीहरु भने गुनासो नै कम आएको दाबी गरिहरेका । महानगरका सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा वर्षामा भन्दा अहिले गुनासो कम आएको बताउँछन् । ‘समस्या भएका ठाउँमा खाल्डा पुरिंदैछ,’ उनले भने ।
थापाले सडकमा पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाले पाइप र विद्युत प्राधिकरणले तारको लागि खाल्डो खनिरहेको भन्दै पुर्ने काम पनि उनीहरुकै भएको बताए । ‘सडकमा जसले खाल्डो पार्छन्, उसैले पुर्छन्’ उनले भने, ‘महानगरले पनि आफ्नो काम गर्दा पाइप फुट्यो भने मर्मत गरिदिन्छ।उहाँहरुले पनि गर्नुपर्छ, अहिले खाल्डो त्यसकारण पनि भइरहेको छ ।’
महानगरभित्र रहेका सडकमा साना–ठूला खाल्डाले दैनिक हुने साना दुर्घटनाहरु सामान्य बन्दै गएका छन् ।
मन्त्रीको अर्को निर्देशन
शुक्रबार उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका विभिन्न निकायले आ–आफ्नो काम गरिरहेको भए पनि एकीकृत स्वरुपमा समन्वयत्मक ढंगले काम गर्न आवश्यक रहेको औंल्याएका थिए ।
विकास निर्माणका काम गुणस्तरीय रुपमा हुनुपर्ने भन्दै उनले कुनै पनि ठाउँमा समस्या देखिँदा सम्बन्धित निकायले नागरिकप्रतिको आ–आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने बताए । ‘एकले अर्काेले दोष दिएरभन्दा जनताले राम्रो सेवा पाउन् भनी काम गर्न छलफल सुरु गरिएको छ ,’ उनले भनेका थिए ।
प्राधिकरणका संरचनाहरुका कारण सडकमा समस्या आएको गुनासो आइरहेको भन्दै उनले उच्चस्तरको बैठक गरेर समस्या समाधान गर्न प्राधिकरण लाग्नुपर्ने बताए ।
मन्त्रालयले उपत्यकाका सडकमा संरचना रहेका निकायबीच समन्वय गरी सडक सुधार गर्ने गरी काठमाडौं संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख डा. विजय जैशीको संयोजकत्वमा आठ सदस्यीय संयन्त्र गठन गरेको छ ।
एकीकृत बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल विद्युत प्राधिकरण र काठमाडौ उपत्यका खानेपनी लिमिटेड सदस्य छन् ।
विभागका महानिर्देशक थापा खाल्डो पुर्ने काम नियमित भए पनि ढुंगा, गिट्टी बालुवको अभाव लगायतका कारण केही समस्या परेको बताउँछन् । ‘यो नियमित काम हो, पुर्न बाँकी ठाउँमा पनि काम हुँदैछ,’ उनले भने,‘सडकमा पानी चुहिने समस्याका कारण कतिपय खाल्डो पुर्ने विषय हाम्रो बसभन्दा बाहिर पनि पुगेका छन् ।’
प्रतिक्रिया 4