
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन मेटा कम्पनीले फुकुवा गर्ने भएको छ ।
फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले डोनाल्ड ट्रम्पको निलम्बन आगामी हप्ताहरुबाटै अन्त्य हुने र उनलाई फेसबुक तथा इन्स्टाग्राममा पुनरागमन गर्न अनुमति दिइने बताएको हो ।
मेटाका विश्व मामिला सम्बन्धी प्रमुख निक क्लेगले विज्ञप्ति निकालेर उनीहरुका राजनीतिज्ञहरु के भन्छन् भन्ने कुरा आम मानिसहरुले सुन्न पाउनुपर्ने बताएका छन् ।
ट्रम्प समर्थकहरुले सन् २०२१ मा अमेरिकी संसदमा छिरेर आतंक मच्चाएसँगै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्रामले अनिश्चितकालीन प्रतिबन्ध लगाएर उनको अकाउन्टलाई निलम्बन गरिदिएका थिए ।
ट्रम्पले अमेरिकी संसद क्यापिटल हिलमा हिंसामा संलग्न मानिसहरुको प्रसंसा गरेसँगै मेटासँगै अन्य सोसल मिडियाहरुले पनि ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए ।
तर उक्त निलम्बन असाधारण परिस्थितमा लिइएको असाधारण कदम रहेको क्लेगको भनाइ छ । पछिल्लो समीक्षाले ट्रम्पको फेसबुक अकाउन्टले हाल सार्वजनिक सुरक्षामा गम्भीर खतरा पैदा गर्ने नदेखिएको भन्दै उनले भविष्यमा ट्रम्पले त्यस्ता गतिविधि गरेमा भने कडा सजायँ भोग्नुपर्नेे प्रष्ट पारेका छन् ।
मेटा कम्पनीका निर्णयहरु पुनरावलोकन गर्न गठित निगरानी बोर्डले यसअघि नै ट्रम्पमाथिको प्रतिबन्धको बारेमा पुनरावलोकन गर्न सुझाव दिएको थियो ।
आगामी वर्ष सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका ट्रम्पलाई फेसबुकमा लागेको प्रतिबन्ध हटाउनका लागि रिपब्लिकनहरुले दबाब दिँदै आएका थिए ।
फेसबुक तथा इन्स्टाग्रामले आफूमाथिको निलम्बन फुकुवा गर्ने समाचार सार्वजनिक भएसँगै ट्रम्पले आफ्नो सोसल मिडिया प्लाटफर्म ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै जनताले मन पराएको राष्ट्रपतिलाई बन्देज लगाएर फेसबुकले अर्बौँ डलर गुमाएको उल्लेख गरेका छन् । राष्ट्रपति वा जुनसुकै व्यक्तिमाथि आइन्दा यस्तो हुन नहुने पनि उनले बताएका छन् ।
यसअघि ट्वीटरले पनि ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । तर ट्रम्पले ट्वीटरमा नफर्किने घोषणा गरेका थिए । उनको पछिल्लो अभिव्यक्तिलाई हेर्दा उनी फेसबुकमा पुनरागमन गर्ने देखिन्छ । यद्यपि त्यो निर्णय उनको हातमा छ । सन् २०२१ मा ट्रम्पले सुरु गरेको उनको सोसल मिडिया कम्पनी ट्रुथ सोसलका प्रयोगकर्ता फेसबुकको तुलनामा निकै कम छन् । फेसबुकका प्रयोगकर्ता करीब ३ अर्ब हुँदा ट्रुथ सोसलका प्रयोगकर्ता ५० लाखको हाराहारीमा मात्रै रहेका छन् ।
तर ट्रुथ सोसलसँग ट्रम्पको एउटा कडा शर्त सहितको कानूनी सम्झौता छ । जस अनुसार उनले आफ्ना कुनै पनि सोसल मिडिया पोस्टहरु सबैभन्दा पहिले ट्रुथ सोसलमै पोस्ट गर्नुपर्दछ र त्यसको ६ घण्टापछि मात्रै अन्य प्लाटफर्ममा पोस्ट गर्न पाउनेछन् । त्यसैले यदि उनले यसलाई उल्लंघन गरेर भटाभट फेसबुक तथा ट्वीटर तिर पोस्ट गर्न थालेपछि उनीमाथि मुद्दा लाग्न सक्दछ ।
– बीबीसीको सहयोगमा
प्रतिक्रिया 4