
काठमाडौं । टेलिभिजन रियालिटी शो हिमालय रोडिजको पाँचौं सिजनको औपचारिक घोषणासँगै डिजिटल अडिसन खुला भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोको प्रोमोसँगै अडिसन खुला भएको जानकारी दिइयो ।
इच्छुकले आजकै मितिदेखि आवेदन दिनसक्ने निर्देशक सिमोस सुनुवारले बताए । देशविदेशका नेपालीले रोडिजमा आफ्नो क्षमता प्रमाणित गर्ने चिनारी भिडियोसहित आवेदन दिन सक्नेछन् । प्राप्त आवेदनमध्येबाट १०० जनाले फिजिकल अडिसनमा भाग लिन पाउनेछन् । जसमध्येबाट विभिन्न चरण पार गर्दै १६ जनाले मात्र फाइनलमा प्रवेश पाउनेछन् । यीमध्येबाट एक जना विजेताको घोषित हुनेछन् ।
जजहरु चाँडै सार्वजनिक गर्ने तयारी छ । नयाँ सिजनको होस्टको रुपमा चर्चित टेलिभिजन पर्सनालिटी तथा अभिनेता सुरजसिंह ठकुरीको प्रवेश भएको छ । निर्देशक सुनुवारले दुई सातामा पुनः गरिने पत्रकार सम्मेलनमार्फत जजहरु सार्वजनिक गरिने र प्रायोजकसँग सम्झौता समेत गरिने भएको छ । सोमबारको पत्रकार सम्मेलनमा होस्ट तथा प्रोमो सार्वजनिक गरिएको थियो ।
पाँचौं सिजनको थिम ‘जर्नी टु एक्सट्रिम’ राखिएको छ । टास्कहरु चुनौतीपूर्ण ढंगले आयोजना हुने भएकाले उक्त थिम राखिएको निर्देशक सुनुवारले अनलाइनखबरलाई जानकारी दिए । नयाँवर्ष २०८० सालदेखि शो प्रसारणको तयारी रहेको हिमालय टीभीका महाप्रबन्धक गोविन्द ढकालले जानकारी दिए । टीभीसँग अन्य अन्तर्राष्ट्रिय रियालिटी शोहरु पनि पाइपलाइनमा रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा होस्ट ठकुरी र हिमालय टीभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतापछि मिडियासँग कुरा गर्दै ठकुरीले आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । सार्वजनिक भएको प्रोमोमा ठकुरीलाई चित्रण गरिएको छ । निर्देशक सुनुवारले अघिल्लो सिजनभन्दा नयाँमा टास्कदेखि फिचरहरु भिन्न हुने बताए ।
‘हाम्रासामु नयाँ गरेर देखाउनुपर्ने चुनौती कायमै छ,’ सुनुवारले भने ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4