
२० माघ,काठमाडौं । १४औं महाधिवेशन अघि नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले गौशालामा महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय खोलेका थिए । महाधिवेशन नजिकिंदै गर्दा आफू पक्षधरको बृहत् भेला राखे ।
कार्यकर्ताले खचाखच भरिएको हलमा तत्कालीन समयमा सिटौलाले भनेका थिए, ‘संकटका बेलामा साथ दिनेलाई नेतृत्वमा स्थापित गर्ने मेरो लक्ष्य हो ।’ महाधिवेशनमा सभापतिमा उठ्ने विचार व्यक्त गरेनन् । तर, संकटको बेला आफूलाई साथ दिएकालाई अघि बढाउने उनको स्पष्ट सन्देश थियो । ‘नेतृत्वमा स्थापित’ गर्न चाहेको भनी उनको सीधा संकेत नेता प्रदीप पौडेलतर्फ रहेको धेरैले विश्लेषण गरे ।
सिटौलाका सारथिमध्ये पहिलो नम्बरमा प्रदीपको नाम आउँछ । प्रदीपबाट दरिलो साथको अपेक्षा सिटौलाले राखिराखेका थिए÷छन् । सिटौलाले सोचे मुताविक प्रदीपले संसदीय दलको चुनावमा भूमिका देखाएनन् । त्यसपछिको समयमा दुई नेताको सम्बन्ध नजिक न टाढा भएको छ ।
‘प्रदीप गगनको पक्षमा खुलेपछि कृष्ण दाइ केही दिन निराश नै देखिनुभयो’ सिटौला निकट एक नेता भन्छन्, ‘जसले महामन्त्रीको उम्मेदवार बनायो, उसको लागि यसपटक सहयोग गर्नुपर्छ भन्नेमा कृष्ण दाइ हुनुहुन्थ्यो ।’ उनका अनुसार सिटौला सभापति देउवालाई संसदीय दलमा सघाउने पक्षमा थिए । देउवाकै प्यानलबाट महामन्त्रीको प्रत्यासी भएकाले विश्वासघात गर्न नहुने तर्क सिटौलाको थियो ।
नेताहरूका अनुसार प्रदीपलाई संसदीय दलमा गगनलाई साथ दिनुमा नैतिक संकट पनि थियो । निर्वाचनमा अरू कुनै उम्मेदवारको प्रचारमा नगएका गगनले प्रदीपको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
गगनलाई समर्थन गर्ने सन्दर्भमा सिटौलाको राय लिन प्रदीप ५ पुसमा उनको निवास पुगे । युवा पुस्ताको पक्षमा देखिनुपर्ने प्रदीपको अडानबाट पछि हटाउन सिटौलाले सकेनन् । गगनलाई समर्थन गर्ने भन्दै प्रदीप बाहिरिंदा सिटौला बेखुस थिए । पूर्व सत्ता गठबन्धन कायम रहेको भए मन्त्री हुने नामहरूको चर्चामा प्रदीप पनि थिए । मन्त्री बनाउने संस्थापन पक्षको आश्वासनलाई बेवास्ता गर्दै उनी गगनको पक्षमा खुलेका थिए ।
सिटौला–प्रदीप सम्बन्धमा दरार नआए पनि सामीप्यता पूर्व अवस्थाकै सरह नभएको नेताहरूको बुझाइ छ । उनीहरूका अनुसार दुई नेता बीच बढेको दूरी सौहार्दतामा परिणत भइसकेको छैन । ‘उहाँ दुई बीच संवाद भएको छैन भनौं भने कुराकानी भएको पनि छ’ सिटौला पक्षका एक नेता भन्छन्, ‘कुराकानी भएको छ भनौं भने संसदीय दलको चुनाव अघि जस्तै सामीप्य देखिन्न ।’
पूर्ववत् एकता नहुँदा आफ्नो धार चलायमान हुने/नहुनेमा सोही पक्षका नेताहरू सशंकित छन् । एकप्रकारले अलमल र समूहभित्र संक्रमणकालीन अवस्था रहेको उक्त समूहका नेताहरू टिप्पणी गर्छन् । संशकित हुनुको कारण दुई मूलीको गठजोड पूर्ववत् नहुनु हो । समूह सक्रिय नहुँदा त्यसको असर भ्रातृ संस्थाको तदर्थ समितिमा पर्नेमा चिन्ता छ ।
संस्थापन र शेखर–गगन पक्षधरले भ्रातृ संस्थाको तदर्थ समितिमा मनोनीत गर्ने व्यक्तिहरूको नाम संकलन गरिरहेका छन् । तर, सिटौला समूहमा नाम संकलन सुस्त गतिमा छ । सोही समूहका नेता भन्छन्, ‘कृष्ण दाइ र प्रदीपजी एकठाउँ भए भ्रातृ संस्थामा हामीले यति संख्या पाउनुपर्छ भन्न सजिलो हुनेथियो । अलि अलमल अलमल हो कि जस्तो देखिन्छ ।’ विगतमा आफ्नो समूहबाट भ्रातृ संस्थामा कसलाई पठाउने निर्णय लिन सिटौलाले प्रदीपलाई जिम्मेवारी दिने गरेका थिए ।
उनी निकट नेताहरूका अनुसार संघमा आफू निकटका धेरै नेता पराजित हुनु तथा प्रदीपले अर्को बाटो तय गरेको आशंकाले सिटौलामा बेचैनी छ । कार्यक्रमका लागि प्रमुख अतिथिको अनुरोध गर्दा उनले आमन्त्रण नगर्न आग्रह गर्ने गरेका छन् । भेट्न जानेहरूलाई केही समय ‘पोलिटिकल रेष्ट’मा रहेको बताउने गरेका छन् । ‘केही महिना म पोलिटिकल रेष्ट लिन चाहन्छु । भ्रातृ संस्थामा कसलाई पठाउने के गर्ने, तिमीहरू नै मिलाउ भन्नुहुन्छ’ सिटौला पक्षका नेता भन्छन्, ‘सार्वजनिक मञ्चमा बोल्न केही समय मलाई नलगाऊ भन्नुहुन्छ ।’
दुई नेतालाई पुरानै अवस्थामा फर्काउन समूहभित्र प्रयास पनि भइरहेको छ । तर, प्रयासले मूर्तरूप भने पाइसकेको छैन । माघ ५ मा उक्त समूहको छलफलमा केही व्यक्ति जुटेका थिए । सभामुखको निर्वाचन परेकाले सांसद प्रदीप सहभागी हुन सकेनन् ।
सिटौला पक्षका दोस्रो/तेस्रो उमेर समूहका तथा भ्रातृ संस्था निकटहरू उक्त भेलामा सहभागी थिए । दुई नेताको सम्बन्धमा कटुता नआएको केन्द्रीय सदस्य कुन्दनराज काफ्ले बताउँछन् । ‘उहाँहरू (सिटौला–प्रदीप) भेट्ने र कुराकानी गर्ने गरिरहनुभएकोे छ’, काफ्लेले अनलाइनखबरसँग भने ।
सार्वजनिक मञ्च देखिन रुचि नदेखाएका सिटौला राष्ट्रपति उम्मेदवारमा इच्छुक छन् । कांग्रेसमा उनीसँगै रामचन्द्र पौडेलको नाम पनि चर्चामा छ । ‘दुई नेताको नाम बाहिर आएको छ । को उम्मेदवार हुने अहिले भन्न सकिने अवस्था बनिसकेको छैन’, सिटौला निकट केन्द्रीय सदस्य भीम पराजुलीले भने ।
सिटौला आकांक्षी रहेको सभापति शेरबहादुर देउवाले शीर्ष तहका नेताको बैठकमा सुनाएका थिए । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको पक्षमा माहोल बनाउनेमा सिटौला दृढ छन् । त्यसका लागि समयमै उनलाई अघि बढ्न सभापतिले भन्नुपर्ने सिटौला पक्षका नेता बताउँछन् । ‘उम्मेदवारी दर्ता गर्ने बेला तपार्इं उठ्नुस् भनेर तयारी गर्न सकिंदैन’ उनी पक्षीय नेता भन्छन्, ‘पार्टी बाहिरका शक्तिसँग छलफल गर्न समय भए परिणाम कांग्रेसको पक्षमा ल्याउन सक्नुहुन्छ ।’
उत्तराधिकारीले छोड्दाको बेचैनी
‘वैचारिक समूह’को नाम दिएर १३औं महाधिवेशनमा तेस्रो धारको जन्म सिटौलाले गराएका थिए । त्यस समय सिटौलालाई सभापतिको उम्मेदवार बनाएर गगन थापा महामन्त्रीको प्रतिस्पर्धी बने । १४औं महाधिवेशनअघि नै सिटौला समूहबाट उनी बाहिरिए । थापाको बहिर्गमनले सिटौला समूह संकटमा पर्ने कांग्रेस भित्र/बाहिर चर्चा भए ।
थापाले समूह परिवर्तन गरेपछि सिटौलाका प्रमुख सारथि प्रदीप बने । सार्वजनिक रूपमा प्रतिबद्धता गरे अनुरुप नै सिटौलाले प्रदीपलाई महामन्त्रीको प्रत्यासी बनाए । तेस्रो धारमा सिटौलाको उत्तराधिकारी प्रदीप हुने विश्लेषण समेत दलमा हुने गरेको थियो ।
संस्थापन पक्षसँग समीकरण गरेर सिटौला पक्ष प्रतिस्पर्धामा उत्रेको थियो । समूहको नेतृत्वकर्ता सिटौलाले भने कुनै पदमा उम्मेदवारी दिएनन् । देउवा–सिटौला प्यानल बन्यो । तत्कालीन समयमा नेताहरू तर्क गर्थे, ‘गगन सिटौला समूहमै हुन्थे र गगन–प्रदीपले सभापतिमा तपाईं अघि बढ्नुपर्छ भनी आड दिएको भए संस्थापनसँग गठजोड हुँदैनथ्यो ।’ छुट्टै प्यानल हुने परिस्थिति रहेन । संस्थापन प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका प्रदीप पराजित भए । संस्थापनसँगको गठजोडले सिटौला पक्षका केही व्यक्ति केन्द्रीय सदस्यमा निर्वाचित बने ।
सिटौला माथि आफ्नो समूहलाई संस्थापनमा विलय गराएको आरोप लाग्यो । तथापि, उनी पक्षधरका गतिविधि निरन्तर थिए । आन्तरिक छलफल गरिरहेका थिए । संख्या न्यून किन नहोस्, सभापतिले गर्ने मनोनीतमा हिस्सेदारी पनि पाउँदै आए । तत्कालीन सत्ता गठबन्धनका दलमा तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको संयोजकको जिम्मेवारी सिटौलाको काँधमा आयो । तालमेलको मोडालिटी तय भइसकेपछि केन्द्र र प्रदेशमा आफू निकटलाई टिकट दिलाए ।
संघको निर्वाचन सिटौला पक्षधरका लागि सुखद् रहेन । स्वयं सिटौलासहित उनी पक्षीय नेताहरू उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधान, देउमान थेवेलगायत पराजित बने ।
सिटौलाले नेतृत्वमा स्थापित गर्न चाहेका प्रदीप भने काठमाडौं–५ बाट निर्वाचित भए । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदीपले हराए । कांग्रेसका उम्मेदवारबाट एमालेका उच्च तहको नेता पराजित गर्ने उनै बने । प्रदीपप्रति सिटौलाको भरोसा थपियो ।
संस्थापनको बलमा हिस्सेदारी कायमै
सिटौला पक्ष कमजोर भएको विश्लेषण हुँदै गर्दा पनि उक्त समूहबाट केही व्यक्तिले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । प्रदेश–१ सभापति समेत रहेका उद्धव थापा संसदीय दलमा निर्वाचित भएका छन् ।
पार्टी सभापति देउवाले थापालाई जिताउन अप्रत्यक्ष सहयोग गरेपछि संस्थापनकै उम्मेदवार (अमृत अर्याल) २ मतमा सीमित भए । थापाको पक्षमा महामन्त्री विश्वप्रकाश शर्मा पनि देखिएका थिए । संसदीय दलमा निर्वाचित थापाले सिटौला पक्षकै सांसद भूपेन्द्र राईलाई प्रमुख सचेतक बनाएका छन् ।
बागमतीमा संस्थापनसँगै मिलेर सिटौला पक्षका सांसद कुन्दनराज काफ्लेले प्रमुख सचेतक पद प्राप्त गरेका छन् । संस्थापन पक्षका दुई समूहका प्रतिस्पर्धीमध्ये उनी बहादुर सिंह लामाको प्रस्तावक बनेका थिए । उनले साथ दिएकै व्यक्ति संसदीय दलको नेतामा चुनिए । प्रस्तावक काफ्लेलाई लामाले प्रमुख सचेतक बनाए ।
गण्डकीमा जीत शेरचनलाई प्रमुख सचेतक बनाउने सिटौलाको प्रयास भने सफल हुन सकेन ।
प्रतिक्रिया 4