+

एन्फा र क्लबलाई लिग छिटो सक्ने हतारो, खेलाडी सुरक्षामा बेवास्ता

२०७९ माघ  २० गते १९:४८ २०७९ माघ २० गते १९:४८
एन्फा र क्लबलाई लिग छिटो सक्ने हतारो, खेलाडी सुरक्षामा बेवास्ता

२० माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले योजनाअनुसार ६ महिनासम्म लिग फुटबल सञ्चालन हुनुपर्ने हो । तर दुईपल्ट मिति सारेर १९ फागुनदेखि सुरु गर्न लागिएको ए डिभिजन लिग २५ जेठमा सम्पन्न गर्ने तालिका छ ।

डवल राउण्ड रोविन प्रणालीमा सन्चालन गर्न लागिएको लिग चैत ४ देखि १८ सम्म रोकिनेछ । एन्फाले यो समय मोफसलका प्रतियोगिताहरुका लागि छुट्याएको छ । त्यही समयमा फिफाको अन्तर्राष्ट्रिय क्यालेन्डर मिति पनि पर्छ । अर्थात साढे ३ महिनाको बीचमा ए डिभिजनको एउटा टिमले २६ खेल सम्पन्न गर्नुपर्छ ।

क्लबहरुले भने घरेलु फुटबल विकासको मेरुदण्डका रुपमा रहने लिग प्रणालीलाई अझै छिटो सकाउन खोजेका छन् । यसमा ए डिभिजन क्लबहरुकै मुख्य स्वार्थ छ । सामुदायिक अवधारणाबाट सन्चालित ए डिभिजन क्लबहरु व्यावसायिक रुपमा सवल हुन आर्थिक र पर्याप्त गतिविधिको अभावका कारण असफल छन् । लिगको अवधि जति छोटो भयो त्यति नै खेलाडीको पारिश्रमिकमा हुने खर्च कटौती हुने लोभ क्लबहरुले पालेका छन् ।

‘एन्फाले पटकपटक क्लबहरुसँग छलफल गरेको थियो । ए डिभिजनका क्लबहरु नै छिटोभन्दा छिटो लिग सक्न एन्फालाई दबाव दिन्छन् । साढे दुई महिनामै सम्पन्न गराउन आग्रह गर्छन्,’ लिग निर्देशक सन्जीव मिश्रले शुक्रबार पत्रकार सम्मेलनमा भने ।

एन्फाले पुस २६ गतेदेखि लिगको मिति तोक्दा क्लबहरुकै कारण सार्नुपर्ने थियो । क्लबको पनि मतबाट निर्वाचित एन्फा नेतृत्व अहिले पनि न फुटबललाई व्यावसायिक बनाउन सक्षम देखिन्छ, न क्लबलाई नियन्त्रण गर्न ।

हतारमा प्रतियोगिता सन्चालन गर्दा खेलाडीको सुरक्षामा भने एन्फा र क्लब दुवै संवेदनशील देखिएका छैनन् ।

एन्फाले फागुन १९ देखि चैत ४ सम्म पाँच चरणको खेलतालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार ए डिभिजन लिगको नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले एक साताको बीचमा तीनवटा खेल खेल्नुपर्ने छ । लिगका थप तालिका आउँदा यस्तो व्यस्त तालिकाबाट गुज्रिने अन्य क्लबहरु पनि हुनेछन् ।

सामान्यतः लामो समयसम्म चल्ने लिग प्रणालीको फुटबलमा एउटा टिमले दुई खेलको बीचमा पर्याप्त विश्राम र आराम पाउनुपर्छ । लामो समयसम्म एकै स्तरको प्रदर्शन कायम राख्न र खेलाडीलाई सम्भावित चोटबाट जोगाउनका लागि यसो गर्ने गरिएको हो ।

‘यसबारेमा नेपालमा एन्फा र क्लबहरुले पनि गम्भीर देखिएका छैनन् । ६ दिनमा तीनवटा खेल भनेको लिग फुटबलमा धेरै नै कठिन तालिका हो,’ एन्फाको खेलाडी संघका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलाडी विक्रम लामाले भने, ‘खर्च कटौती हुने भएपछि क्लबहरुलाई त यसले फाइदा नै पुग्ला तर खेलाडीलाई भने निकै कठिन हुन्छ ।’

अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो र फिफा एएफसीको मापदण्ड मान्ने हो भने एउटा खेलाडीले ७२ घण्टापछि मात्र अर्को खेल खेल्नु पर्ने हो । तर हाम्रोमा न लिग न नकआउट कतै पनि यो मापदण्ड पालना भएको छैन । एउटा टिमको दुई खेलबीचको समय कम हुँदा त्यसले गर्दा रिकभरी टाइम पुग्दैन । त्यसले चोटको जोखिम धेरै हुन्छ ।

‘हाइ इन्टेन्सिटी खेल खेल्नुपर्छ । त्यस्तै खाले अपोनेन्ट पर्यो भने त इन्जूरीको जोखिम अत्यधिक हुन्छ । किनभने रिकभरी समय पुगेन भने शरीरले थेग्न सक्दैन,’ ए डिभिजन लिग च्याम्पियन मछिन्द्रका फिजियो सुरज भुसाल भन्छन्, ‘त्यसपछि मसल पूल हुने, ह्याम्स्ट्रिङ इन्जूरी हुने, लिगामेन्ट च्यातिनसक्ने हुन्छ ।’

एन्फाले मंसिरदेखि नै लिग सन्चालन गर्ने तयारी गरे पनि प्राविधिक रुपमा सबै प्रक्रियाले समयमा गति लिन नसक्दा सार्नुपरेको एन्फा महासचिव किरण राईको तर्क छ । ढिला भए पनि प्रतियोगिता आयोजना गरौं भन्ने मान्यतामा काम गर्दा छोटो समय भएको उनले स्वीकारे ।

तर, अर्को वर्षदेखि नियमित तालिका बनाएर काम गर्ने उनको प्रतिवद्धता छ । ‘आगामी वर्षदेखि क्लबहरुसँगै बसेर जनवरी (पुस)देखि नै लिग सन्चालन गर्ने, ६ महिनाको ए डिभिजन लिग र तीन महिना नेपाल सुपर लिग (एनएसएल) आयोजना गरी ९ महिनासम्म खेलाडीलाई व्यस्त राख्ने प्रक्रिया सुरु गर्नेछौं,’ उनले भने ।

५० प्रतिशत तयारी सकियो : एन्फा

एन्फाले शुक्रबार पत्रकार सम्मेलन गरी ए डिभिजन लिगको एक महिने काउन्ट डाउन सुरु भएको बताएको छ ।

प्रतियोगिताका लागि प्राविधिक र प्रशासनिक गरी ५० प्रतिशत तयारी सम्पन्न भएको महासचिव राईले जानकारी दिए । तर, लिगले अहिलेसम्म प्रमुख प्रायोजक पाउन सकेको छैन । ‘यसअघिको मुख्य प्रायोजक कतार एयरवेजले नै सम्झौता निरन्तरता दिनेबारे छलफलमै छौं । केहिदिन नै सार्वजनिक गर्नेछौं,’ महासचिव राईले आर्थिक मन्दीका कारण एन्फा र ए डिभिजन क्लबहरुले समेत प्रायोजकका लागि संघर्ष गर्नुपरेको भने स्वीकार गरे ।

क्लबहरुले ए डिभिजन लिगको तयारीका लागि ३२ लाख खर्च पाउँछन् । यो संस्करणका लागि सबैले पहिलो किस्ताका रुपमा १५ लाख रुपैयाँ बुझिसकेको एन्फाले जनाएको छ ।

फागुन १९ गते नवप्रवेशी खुमलटार एफसी र फ्रेण्ड्स क्लबबीचको खेलसँगै शहीद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण सुरु हुनेछ । डबल राउण्ड रोविन प्रणालीमा हुने लिगमा ए डिभिजनका १४ क्लबबीच जेठ २५ गतेसम्म १८२ खेल हुनेछन् । सबै क्लबहरुले तयारी खर्चबापत पाउने ३२ लाखमध्ये पहिलो किस्ताको १५ लाख रुपैयाँ लगेर तयारी सुरु गरिसकेका छन् । माघ २९ गतेसम्म सबै क्लबहरुले खेलाडी दर्ता गरिसक्नुपर्नेछ ।

लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फेयर प्ले टिम र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई ३–३ लाख पुरस्कार दिइनेछ । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ताले जनही २ लाख तथा इमर्जिङ खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

एन्फा शहीद स्मारक लिग
लेखक
कुशल तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय