
सोसल मिडिया कम्पनी मेटा मातहतको लोकप्रिय मेसेजिङ प्लाटर्फम ह्वाट्सएपमा विभिन्न उपयोगी फिचरहरू हुन्छन् । मेटाले ह्वाट्सएप प्रयोगकर्ताको अनुभूतिलाई उत्कृष्ट बनाउनका लागि निरन्तर विभिन्न फिचरहरू थपिरहेको हुन्छ ।
ह्वाट्सएपमा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर रहेको हुन्छ । जसका कारण यसमा आदानप्रदान हुने सन्देश तथा सामग्रीहरु तेश्रो पक्षको आक्रमणबाट सुरक्षित हुन्छन् ।
ह्वाट्सएपमा दैनिक ठूलो संख्यामा फोटो तथा भिडियोहरु आदानप्रदान गरिरहेका हुन्छन् । त्यसरी ह्वाट्सएपमा प्राप्त हुने सामग्रीमध्ये कहिलेकाहीँ नितान्त प्राइभेट फोटोहरू समेत स्मार्टफोनको ग्यालरीमा देखिन्छन् ।
ह्वाट्सएपबाट डाउनलोड गरिने फोटो तथा भिडियो प्रयोगकर्ताको फोनको ग्यालरीमा जाने गर्दछन् । यसले कहिलेकाहीँ गोपनीयतासम्बन्धी तथा फोनको स्टोरेज भरिने समस्या पनि प्रदान गर्दछ । त्यसैले प्रयोगकर्ताले ह्वाट्सएपका सामग्रीहरु सीधै फोनको ग्यालरीमा जाने फिचर बन्द गर्न सकिन्छ । त्यसका लागि ह्वाट्सएपको सेटिंग्समा केही परिवर्तन गर्नु पर्दछ ।
ह्वाट्सएपको सेटिंग्समा रहेको मिडिया भिजिबिलिटी फिचरलाई बन्द गरेपछि फोटो तथा भिडियोहरु सीधै फोनको ग्यालरीमा सेभ हुने छैनन् । अर्थात् ह्वाट्सएपबाट फोटो तथा भिडियोहरु डाउनलोड त हुनेछन् तर ग्यालरीमा जाने छैनन् ।
यद्यपि यो फिचरले नयाँ सामग्रीहरूका लागि मात्र काम गर्नेछ । पहिले नै डाउनलोड भैसकेका फोटो तथा भिडियोमा यसको कुनै असर पर्नेछैन । साथै व्यक्तिगत च्याट तथा ग्रुप च्याटका लागि यो फिचरलाई अफ गर्न सकिन्छ ।
यसका लागि सबैभन्दा सुरुमा ह्वाट्सएप खोल्नुहोस् । त्यहाँ माथिल्लो दायाँपट्टि रहेको तीनवटा थोप्लायुक्त आइकनमा ट्याप गर्नुहोस् । त्यसपछि Settings जानुहोस् । तपाईंले त्यहाँ Chats को अप्सन देख्नुहुनेछ, त्यसमा ट्याप गर्नुहोस् । त्यसभित्र Media Visibility को अप्सन देख्नुहुनेछ ।
तपाईंले उक्त अप्सनलाई Off गर्नुपर्दछ । उक्त सेटिंग्समा तपाइँले कुनै व्यक्तिगत च्याट वा ग्रुप च्याटका लागि मात्रै पनि यो फिचर बन्द गर्न सक्नुहुन्छ । यसका लागि कुनै निश्चित च्याटमा गएर contact info मा ट्याप गर्नुहोस् । त्यसपछि त्यहाँ रहेको Media Visibility अप्सनलाई बन्द गर्नुहोस् ।
एजेन्सी
प्रतिक्रिया 4