
२२ माघ, विराटनगर । मुख्यमन्त्री नियुक्त भएपछि बधाई दिन आउनेहरुको भीडका कारण अन्य काममा असर गरेको प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले बधाई दिन आउनेहरुको भीडले काममा असर गरेको बताएका हुन् ।
‘बधाई दिन आउनेलाई भेट्दिन भन्न पनि मिलेन,’ उनले भने,‘ एकपछि अर्को टिम आउँदा अन्य काममा पनि असर परेको अनुभूति भएको छ ।’ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले बधाई दिने क्रम अझै नरोकिएको बताए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कानूनबाटै प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बताए । अघिल्लो सरकारले संसदमा पेस गरेको विधेयक संसदीय समितिमा विचाराधिन थियो । मुख्यमन्त्री कार्कीले नयाँ कानून बनाएर प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बताएका हुन् ।
उनले प्रदेशको नाम सकेसम्म सहमतिका आधारमा गर्ने बताए । सहमति हुन नसके प्रक्रियामा लैजाने उनको भनाइ छ ।
प्रेस चौतारीको स्थापना दिवसको अवसरमा दुई जना पत्रकार पुरस्कृत भएका थिए । कृष्णप्रसाद सिग्देल स्मृति पुरस्कारबाट पत्रकार दिनेश सुब्बा र जनार्दन मैनाली स्मृति पुरस्कारबाट पत्रकार तेजेन्द्र भण्डारीले पुरस्कृत भएका हुन् ।
प्रतिक्रिया 4