
२२ माघ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा आवेश, कुण्ठा र आक्रोश देखाएको भन्दै संयमित हुन आग्रह गरेका छन् ।
‘यो संसदलाई विचार र सिद्धान्त प्रवाह गर्ने थलो हो । यहाँबाट आवेश र कुण्ठालाई, आक्रोश र गालीलाई व्यक्त नगरौं भन्ने सोचिदिए हुन्थ्यो । …मेरो जिल्लाबासी कमरेडलाई अर्को जिल्लाबासी नयाँनयाँ सांसदको के अपिल छ भने, कांग्रेस फोबियाबाट मुक्त भई दिनुस् ।’
महामन्त्री शर्माले कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिनुलाई सहज रुपमा लिन पनि ओलीलाई आग्रह गरे । ‘राष्ट्रपति पदमा नेपाली काँग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ । नेपाली काँग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नु हुन्छ । राष्ट्रपति पदमा उम्मेदवारी दिनुलाई लोकतान्त्रिक अभ्यासको रुपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक चेत हुन्छ ।’
यसअघि २०६५ सालमा पनि कांग्रेस विपक्षमा हुँदाहुँदै उसको उम्मेदवार नै राष्ट्रपति निर्वाचित भएको शर्माले बताए ।
महामन्त्री शर्माले सत्तारुढ दलहरुप्रति संकेत गर्दै संसदमा सुनको बालाको कथा हालेर पिँजडाको फलामे सांङ्लो बलियो बनाउने प्रयास नगर्न पनि ओलीलाई सचेत गराए ।
उनले भने, ‘यसरी कमरेड केपी ओलीले चाँही सुनको बालाको कथा हालि राखेर पिँजडाको फलामे साङ्लो अझै बलियो बनाउने कर्म नगरिदिनु भए हुन्थ्यो । अथवा यो संसदलाई विचार र सिद्धान्त प्रवाह गर्ने थलो हो । यहाँबाट आवेश र कुण्ठालाई, आक्रोश र गालीलाई व्यक्त नगरौं भन्ने सोचि दिए हुन्थ्यो ।’
प्रतिक्रिया 4