
२२ माघ, विराटनगर । प्रदेश १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले दरबन्दीको आधा मात्र कर्मचारी हुँदा काम गर्न कठिन भएको बताएका छन् ।
मन्त्रालयसहित मातहतका सडक पूर्वाधार तर्फका ८, भवन निर्माण तर्फका ४ वटा युनिटमा गरी २३६ जना कर्मचारीको दरबन्दी छ । तर दरबन्दीको आधामात्रै जनशक्ति रहेको उनले बताए । मन्त्री चापागाईंका अनुसार २३६ दरबन्दीमध्ये १२० जना मात्र कार्यरत छन् ।
रिक्त रहेका धेरै दरबन्दी प्राविधिक कर्मचारीको छ । रिक्त दरबन्दी पदपूर्ति गर्ने विषयमा छलफल भइरहेको उनले बताए । ‘दरबन्दीको ४९.१५ प्रतिशत जनशक्ति कम छ’, उनले भने, ‘दरबन्दी अभावलाई पूर्ति गर्न लोकसेवाको वैकल्पिक लिस्टमा राखेको जनशक्तिलाई लिने कि करारमा नयाँ कर्मचारी भर्ना गर्ने भन्ने विषय छलफलमै छ ।’
संघीय निजामती ऐन नआउँदा प्रदेशका कर्मचारीको वृत्ति विकास पनि रोकिएको मन्त्री चापागाईंको गुनासो छ । तराईमा नचाहिने स्थानमा पनि झोलुङ्गे पुल निर्माण भइरहेको गुनासो आएको बताउँदै उनले झोलुङ्गे पुल निर्माणको नीतिका विषयमा समीक्षा भइरहेको बताए ।
उनले ग्रामीण क्षेत्रलाई लक्षित गरेर नमुना ग्रामीण बस्ती सुधार कार्यक्रम अगाडि बढाउने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4