
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको आइतबार ९५ वर्षको उमेरमा निधन भएको छ । उनी नेपाली नोटमा हस्ताक्षर गर्ने पहिलो गभर्नर हुन् । नेपाल राष्ट्र बैंक परिसर बालुवाटारमा उनको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सो अवसरमा उनको तस्वीरमा गभर्नर महाप्रसाद अधिकारीले माल्यार्पण गरे ।
हिमालय शमशेर विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । उनको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर गभर्नरको नियुक्ति दिँदा उनको उमेर मात्र २९ वर्ष थियो । उनी हिमालयन बैंकको संस्थापक पनि हुन् ।
नेपाल राष्ट्र बैंकले उनको निधनबाट राष्ट्र बैंकले एक अभिभावक, देशले एक कुशल अर्थविद् तथा नेपालको क्षेत्रले एक अग्रणी मार्गदशक गुमाएको उल्लेख गरेको छ । नेपालको वित्तीय क्षेत्रको दायरा विस्तार तथा व्यापक बनाउन र औद्योगिक विस्तार कार्यमा समेत उनको महत्वपूर्ण योगदान रहेको समेत राष्ट्र बैंकले जनाएको छ ।
तस्वीरहरु : नेपाल राष्ट्र बैंकको सामाजिक सञ्जालबाट
प्रतिक्रिया 4