
२३ माघ, काठमाडौं । सरकारले बिलासी वस्तु आयात प्रतिवन्ध हटाएपछि पनि विदेशी मुद्रा सञ्चितिमा सुधार जारी रहेको देखिएको छ । पुसमा विदेशी विनियम सञ्चितिमा थप सुधार भएको छ । पुसदेखि सरकारले महँगा मोबइल, मोटरसाइकल, रक्सी र गाडीमा लगाएको प्रतिबन्ध हटाएको थियो ।
मंसिरमा १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँबराबर रहेको विदेशी मुद्राको सञ्चति चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिना अर्थात् पुस सकिंदा १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ बराबरमा पुगेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति त्यसपछि १० प्रतिशतले बढेको छ ।
मंसिरसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ८२ करोड बराबर थियो । पुस मसान्तमा १० अर्ब ३० करोड डलरमा पुगेको छ । यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको अहिले ८ प्रतिशतले वृद्धि भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ११ खर्ब ८३ अर्ब ३७ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) पुस मसान्तमा १ खर्ब ५३ अर्ब ९१ करोड रुपैयाँ बराबर छ । पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत छ ।
आर्थिक वर्षको ६ महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
२०७९ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्ह्स्थ्य उत्पादनसँगको अनुपात २७.६ प्रतिशत छ । त्यसैगरी कुल आयातसँग ७५.५ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग २३.४ प्रतिशत अनुपात कायम भएको छ ।
प्रतिक्रिया 4