
२४ माघ, विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ को नामकरणको विषय यही कार्यकालबाट टुंगिने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार प्रदेशसभाको दोस्रो कार्यकालको बैठकलाई पहिलो पटक सम्बोधन गर्दै उनले पहिलो कार्यकालमा थाती रहेको नामकरणको विषय नयाँ कार्यकालबाट टुंगो लाग्ने विश्वास व्यक्त गरेका हुन् ।
‘पहिलो प्रदेशसभाबाट थाती रहेको दोस्रो प्रदेशसभाका लागि उच्च प्रामिकतामा राखेर निर्वाह गर्नुपर्ने जिम्मेवारीमध्ये अत्यन्तै जनचासो र जनअपेक्षाको रुपमा यस प्रदेशको नामकरण रहेको हुँदा प्रदेशसभाले नामकरणको विषयलाई उच्च प्राथमिकतामा राखेर सार्थक नामकरण गर्न सफल हुनेछ भन्ने विश्वास लिएको छु ।’
उनले समृद्ध प्रदेश निर्माणमा अधिकतम प्रयास गर्नुपर्ने बताए । प्रदेशको प्राथमिकतामा पर्यटन, कृषि, सिँचाई, पर्यटन, उद्योग जलविद्युतलगायतको पूर्वाधार निर्माण हुनुपर्ने उनको भनाइ छ ।
‘पहिलो प्रदेशसभाले स्थापना गरेको जगमा टेकेर दोस्रो प्रदेशसभाले समय सापेक्ष रुपमा आवश्यक भूमिका निर्वाह गर्दै संघीयता र प्रदेश संरचनाको सार्थकता र प्रभावकारिताको पुष्टि गर्नेछ भन्ने विश्वास लिएको छु’ उनले भने, ‘नागरिकमैत्री कानुन निर्माण गरी प्रदेशको दिगो विकास र सुशासन कायम गर्ने सन्दर्भमा प्रदेशसभा सदस्यको भूमिका रचनात्मक र सिर्जनात्मक रहन सकोस् ।’
प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशमा सकारात्मक काम भएको उनले बताए ।
अर्काे बैठक अनिश्चित
प्रदेश प्रमुख खापुङको सम्बोधनपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । गत पुस ३० गते उपसभामुखको निर्वाचनपछि स्थगित भएको बैठक सोमबार बसेको थियो । दुई दिनमा तीन पटक बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको हो । मंगलबार प्रदेश प्रमुखको सम्बोधनपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
त्यसपछि बसेको बैठकले प्रदेश प्रमुखलाई धन्यवाद दिने प्रस्ताव पारित गर्दै गरेपछि सभामुख बाबुराम गौतमले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
एक महिनाअघि हिक्मतकुमार कार्कीको नेतृत्वमा बनेको प्रदेश १ सरकारले संसदलाई बिजनेस दिन सकेको छैन ।
प्रतिक्रिया 4