
२५ माघ, भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आइपुगेकी छिन् ।
साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी भोजपुर आएकी हुन् ।
साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नं १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्नेछिन् ।
साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजाअर्चना गर्ने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकनसमेत गर्नेछिन्। विसं १९२४ सालमा भोजपुरमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता थिइन् ।
राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका-१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण गर्नाका साथै वडा नं ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको सालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रमसमेत रहेको नगरप्रमुख सुरेन्द्र उदासले जानकारी दिए ।
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाधिस्थल पार्कको शिलान्यास गर्नेछन् ।
प्रतिक्रिया 4