
घरमा सजाइएका बिरुवाले हामीलाई प्रकृतिको नजिक रहेको महसुस गराउँछन् । तर घरमा ठाउँको अभावले बोटबिरुवा रोप्ने इच्छा पूरा गर्न नसकेको हुन सक्छ । यसका लागि घरमा ह्यांगिङ प्लान्ट लगाउन सकिन्छ ।
यसलाई घरको बार्दली, छतलगायत ठाउँमा राख्न सकिन्छ । ह्यांगिङ प्लान्टले घरलाई नै फरक ‘लुक्स’ दिन्छ । ह्यांगिङ प्लान्ट विभिन्न प्रकारका हुन्छन् ।
टर्टल वाइन
यो बिरुवा एक पटक सार्यो भने वर्षौंसम्म रहन्छ । धेरै छिटो बढ्ने यो बिरुवाको पात हल्का हरियो रंगको हुन्छ । यसलाई झुण्डाउँदा निकै सुन्दर देखिन्छ ।
मनी प्लान्ट
तपाईं घरमा बिरुवा रोप्दै हुनुहुन्छ भने यो उत्तम बिरुवा हो । यो हुर्काउन पनि सजिलो छ । यो बिरुवा भित्तामा झुण्ड्याएर राख्दा घर सुन्दर देखिन्छ ।
बेबी टियर्स
साना गोलाकार पात हुने भएकाले यो बिरुवाको नाम बेबी टियर्स राखिएको हो । साना पात भएको लहरा जाने यो बिरुवालाई बार्दली, घरको प्रवेशद्वार वा झ्यालको छेउमा झुण्ड्याउन सकिन्छ ।
इङ्लिस पवि
इङ्सलिस पविको खास नाम हेडेरा हेलिक्स हो । यो इनडोर प्लान्ट कम प्रकाशमा राम्रोसँग फस्टाउँछ । यसलाई गमलामा झुण्ड्याएर आकर्षक तरिकाले सजाउन सकिन्छ ।
कसरी रोप्ने ?
ह्यागिङ प्लान्टलाई कटिङबाट रोप्न सकिन्छ । नर्सरीमा गएर यसको बिरुवा ल्याएर रोप्दा पनि हुन्छ र घरमै कटिङ गरेर पनि रोप्न सकिन्छ ।
माटो र मलको मिश्रण तयार गरेर यस्ता बिरुवालाई सार्न सकिन्छ । बलौटे माटो र कम्पोस्ट मलको प्रयोग गरियो भने त झन् राम्ररी सप्रिन्छ । यसमा समय-समयमा गोबर, बोनमिल, निमको धुलो राख्नुपर्छ । यसले गर्दा बिरुवा हुर्किन सजिलो हुन्छ ।
यसलाई गर्मी महिनामा दिनमा एक पटक सिंचाई गर्नुपर्छ भने जाडोमा दुई दिनमा एक पटक गरे पुग्छ ।
कसरी स्याहारसुसार गर्ने ?
– महिनामा एक पटक कम्पोस्ट हाल्नुपर्छ । सानो बिरुवा छ भने एक चम्चा ठूलो बिरुवा छ भने एक मुठ्ठी मल हाल्नुपर्छ ।
– सुकेको हाँगालाई बेलाबेला काँटछाँट गर्ने । महिनामा एकपटक गोडमेल गर्ने ।
– बिरुवामा कीरा र रोग लाग्न नदिन कीटनाशक औषधि र निमको धुलो हाल्ने ।
– गर्मीमा दैनिक सिंचाई गर्ने, जाडोमा भने एक वा दुई दिन बिराएर सिंचाई गर्ने ।
(तामाङ रक्षा नर्सरीका सञ्चालक हुन् ।)
प्रतिक्रिया 4