+
+

जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते ६:०४

१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको बताएका छन् । जनयुद्धको २८औं वार्षिकोत्सवको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले यसलाई साझा दिवसको रूपमा मनाउन अपिल गरेका छन् ।

‘जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् । नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो,’ उनले भनेका छन्, ‘यही यथार्थलाई दृष्टिगत गरी नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक विदा दिने निर्णय गरेको छ । तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित गरेको दाबी गरेका छन् । ‘जनयुद्धले साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको थियो,’ उनले भनेका छन्, ‘वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ ।’

जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनले उल्लेख गरेका छन् । ‘समावेशी लोकतन्त्र संस्थागत भएको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ,’ उनले भनेका छन्, ‘सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ । यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।’

नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?