
१ फागुन, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा बन्ने बताएका छन् ।
सोमबार धनगढी आइपुगेका प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजका नवनिर्मित संरचनाको निरीक्षणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारले नीतिगत निर्णय गरेर राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाइसकेको बताएका हुन् ।
‘गेटा मेडिकल कलेज सञ्चालनको प्रक्रिया स्वास्थ्य मन्त्रालयले अघि बढाइसकेको छ । दरबन्दी स्वीकृत गर्ने काम बाँकी छ । छिट्टै पूरा हुन्छ,’ उनले भने, ‘मेडिकल कलेज त बन्ने नै भयो । अब गेटालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन हिजो मात्र क्याबिनेटले निर्णग गरेर सैद्धान्तिक रुपले अघि बढेको छ । अब व्यावहारिक रुपले पनि अघि बढ्छ ।’
प्रधानमन्त्री दाहालले आइतबार सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसद, प्रदेशका नेता तथा विज्ञहरुले संयुक्त रुपमा भेटेर स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटालाई विश्वविद्यालयका रुपमा अघि बढाउन साझा माग राखेअनुसार नै मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको बताए ।
उनले गेटामा निर्माण हुने शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिम मात्र नभएर देशकै निम्ति गौरव हुने बताए ।
नेपाली सेनाको स्काई ट्रक मार्फत सोमबार बिहान ११ बजे धनगढी आइपुगेका प्रधानमन्त्री दाहाल गेटा मेडिकल कलेजको निरीक्षणपछि कञ्चनपुरतर्फ प्रस्थान गरेका छन् ।
कञ्चनपुरमा उनले दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माण स्थलको निरीक्षण तथा अवलोकन गर्ने, कञ्चनपुर महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया 4