
१ फागुन, काठमाडौं । बेलायती राजदूत निकोला पोलिटले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतमा केन्द्रित थियो ।
प्रतिनिधि सभाको सभामुख निर्वाचित भएपछि घिमिरेले भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् ।
बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार-सरकार मात्र नभई जनता-जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे ।
बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो । सभामुख घिमिरेले भनेका छन्, ‘दुई देशबीच २ सय वर्ष पुरानो सम्बन्ध अविष्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ ।’
बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदान प्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको एक सय वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिए । उनले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
राजदूत पोलिटले गत निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधि सभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसदमा उनीहरुको उपस्थितिले नयाँपन आउने अपेक्षा गरे ।
प्रतिक्रिया 4