२ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लबले भारतीय खेलाडी दयानन्द सिंह एलानबाङलाई अनुबन्ध गरेको छ ।
लगातार दुई पटक लिग जितेको मछिन्द्रले नयाँ सिजनको लिगका लागि भारतीय खेलाडी दयानन्दलाई भित्र्याएको हो ।
यसअघि मनाङ मर्स्याङ्दी क्लबबाट लिग खेलेका दयानन्दलाई मछिन्द्रले साउथ एसियन कोटामा अनुबन्ध गरेको हो ।
नयाँ सिजनका लागि विदेशी खेलाडीको कोटा बढाएर ५ पुर्याइएको छ । जसमा एक जना एसियन र एक जना साउथ एसियन खेलाडी अनिवार्य हुनुपर्नेछ ।
मछिन्द्रले यसअघि पुजन उपरकोटी, प्रशान्त अवस्थी, निसेन सुब्बा, सौरभ लिम्बु, विजयी भुजेल, दिवाकर चौधरी र दिपेश घलेलाई भित्र्याएको थियो ।
मछिन्द्रले यसअघि लिग जित्दाका कप्तान सुजल श्रेष्ठसहित फरवार्ड विमल घर्ती मगर, गोलकिपर विशाल श्रेष्ठ, डिफेण्डर देवेन्द्र तामाङ र छिरिङ गुरुङसँग सम्झौता नवीकरण गरिसकेको छ ।
अभिषेक गुरुङ र उत्सव राईसँग पनि मछिन्द्रले सम्झौता नवीकरण गरेको छ ।
तर मिडफिल्डर विशाल राई र फरवार्ड अभिषेक रिजाल भने अष्ट्रेलिया पुगिसकेका छन् ।
गत सिजन टिममा रहेका मनिष डाँगी र सुनिल बल यस सिजन संकटा क्लबमा अनुबन्ध भइसकेका छन् ।
नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ । मछिन्द्रले जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।
प्रतिक्रिया 4