
नेपालको सामाजिक राजनीतिक जागरण र रूपान्तरणमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको इतिहास हामीसामु छ । विद्यार्थी आन्दोलनसँग जोडिएका त्याग, बलिदानी र संघर्षका कथाहरू इतिहासमा स्वर्ण अक्षरले लेखिएका छन् । विद्यार्थी आन्दोलनले जहाँनिया निरंकुश राणाशासनको अन्त्यतिर रुढीवादी नेपाली समाजमा राजनीतिक तथा सामाजिक जागरणको सुरुवात गर्यो । त्यसैको जगमा वाम–प्रजातान्त्रिक आन्दोलनको उठान गर्दै त्यसलाई राष्ट्रव्यापी रूपमा व्यापक बनाउन पनि विद्यार्थी आन्दोलनले स्थापनाकालबाट नै महत्वपूर्ण भूमिका खेल्दै आयो ।
जनताको वाक स्वतन्त्रता र सर्वसाधारणले पढ्न पाउने अधिकार माथिको प्रतिबन्ध थियो । राणा शासकहरूको बोली नै कानुन बन्ने चरम दमन र निरंकुशताको बीचमा ऐतिहासिक पहलकदमीसहित विद्यार्थी आन्दोलन संगठित भएको देखिन्छ । तसर्थ, विद्यार्थी आन्दोलनको सुरुवाती इतिहास नै बहुआयामिक रूपमा गौरवपूर्ण रहेको पाइन्छ ।
गंगालाल श्रेष्ठदेखि चीनकाजी श्रेष्ठसम्मका नेताहरूको बलिदानीपूर्ण संघर्षले आन्दोलनको इतिहास सिञ्चित छ । जहानियाँ राणाशासन, पञ्चायत हुँदै राजतन्त्रविरुद्धको संघर्षमा विद्यार्थी विद्यार्थी आन्दोलनले भयानक त्याग र बलिदान गरेको इतिहास छ । १ असार २००४ मा ‘जयतु संस्कृतम’ नामको पहिलो संगठित विद्यार्थी आन्दोलनको सुरुवात भएको पाइन्छ । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि ‘जयतु संस्कृतम्’ नामको संगठनकै वैचारिक जगमा प्रगतिवादी सोच भएका विद्यार्थीहरूले नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन (नेराविफे) को स्थापना गरेका थिए । २००७ सालमा भारतको मध्यस्थतामा राजा, राणा र नेपाली कांग्रेसले त्रिपक्षीय रूपमा गरेको राष्ट्रघाती दिल्ली सम्झौता धोका हो भन्दै नेराविफेले व्यापक भण्डाफोर अभियान सुरु गर्यो । २०२२ सालमा नेराविफेकै शैक्षिक र राजनीतिक सङ्घर्ष र बलिदानको जगमा अनेरास्ववियु र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को स्थापना भएको पाइन्छ ।
२२ चैत २०३५ मा पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई त्यहाँको सैन्य शासकद्वारा फाँसी दिएको विरोधमा पाकिस्तानी दूतावासलाई विरोधपत्र बुझाउने कार्यक्रमअन्तर्गत लैनचौरबाट पानीपोखरीतिर गएको विशाल विद्यार्थी जुलुस र प्रहरीका बीचमा भिडन्त भयो । पछि त्यसले शक्तिशाली आन्दोलनको रूप लियो र सोही कारण १० जेठ २०३६ मा तत्कालीन पञ्चायत जनमत संग्रह घोषणा गर्न बाध्य भयो ।
२०४६ सालको परिवर्तन विद्यार्थी आन्दोलनकै कारण सम्भव भयो । माओवादी जनयुद्धको अवधिमा राजनीतिक दलहरू जनतामा जान पाएनन् । निरंकुश शाही कदमका कारण राजनीतिक गतिविधि अवरुद्ध भयो । त्यतिबेला विद्यार्थीले आफ्ना शैक्षिक तथा राजनीतिक गतिविधिहरू मार्फत जनतासँग सम्बन्ध स्थापित गरिराखे । परिणामतः निरंकुश राजतन्त्र विरोधी आन्दोलनको उठान हुँदै त्यो जनआन्दोलनमा बदलियो । यसरी २०६२/६३ सालको परिवर्तनको जगमा विद्यार्थी आन्दोलनको भूमिका रह्यो ।

विद्यार्थी आन्दोलनले राजनीतिक परिवर्तनसँगै शैक्षिक तथा प्राज्ञिक आन्दोलन, राष्ट्रियता, जनजीविका र सामाजिक रूपान्तरणमा योगदान गरेको छ । विद्यार्थीकालमा राजनीति सुरु गरेका नेताहरू अहिले विभिन्न तहतप्कामा पुगेर पार्टी र राज्यकै नेतृत्व गरेका छन् । यसरी इतिहासमा विद्यार्थी आन्दोलनले राजनीतिमा महत्वाकांक्षा राख्नेहरूका लागि उपयुक्त मैदान तयार पार्दै आएको छ ।
इतिहास साक्षी छ, राजनीतिक परिवर्तन, सामाजिक जागरण र लोकतान्त्रिक आन्दोलनका हरेक मोडमा विद्यार्थी आन्दोलन अग्रभागमा उपस्थित रहँदै आयो । राष्ट्रियताको पहरेदारको रूपमा दबाब, जागरण र खबरदारीको झण्डा हमेसा विद्यार्थी आन्दोलनले नै उठाउँदै आयो । जनजीविकाको ज्वलन्त सवालहरूमा सबैभन्दा पहिला र अग्रभागमा विद्यार्थी आन्दोलन देखिने गरेकै हो । आज यातायातका साधनहरूमा विद्यार्थीलाई परिचयपत्रको आधारमा जुन ४५ प्रतिशत छुट उपलब्धि विद्यार्थी आन्दोलनकै कारण सम्भव भयो । यसरी सामाजिक जागरण, राजनीतिक चेतना र बलिदानीको जगमा नेपालको विद्यार्थी आन्दोलन खडा भएको छ ।
त्यस्तो गौरवपूर्ण इतिहास बोकेको विद्यार्थी आन्दोलन आज विभिन्न कारणले आलोचित र समस्याग्रस्त बनेको छ । यससँग जोडिएका कारणहरूको वस्तुनिष्ट समीक्षा गर्दै विद्यार्थी आन्दोलनलाई सही मार्गमा डोहोर्याउन सकिन्छ ।
समस्या
विद्यार्थीहरू राजनीतिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुन्छन् र त्यसले सफल परिणाम पनि निकाल्छ । त्यसपछि आन्दोलनले स्थापित गरेको नीति कार्यान्वयनको चरणमा लागु हुँदैन । त्यतिबेला शैक्षिक आन्दोलनका मुद्दा झन् कमजोर हुन्छ र विद्यार्थी आन्दोलन सेलाउँछ ।
२००७, २०३६, २०४६ र २०६२/६३ सालको राजनीतिक आन्दोलन सफल भएपछि नेपालको शिक्षा क्षेत्रमा आमूल प्रगतिशील परिवर्तन भएन । बरु झन् जटिल, विकृत र व्यापारीहरूको खरिदबिक्रीको वस्तु भएको यथार्थ हामी सामु छ । यसले विद्यार्थी आन्दोलनको गर्विलो इतिहासलाई आजको दिनमा पुष्टि गर्न सकिरहेको छैन । यसरी, राजनीतिक आन्दोलनमा मात्र केन्द्रित हुनु विद्यार्थी आन्दोलनको मुख्य समस्या हो ।
त्यसैगरी एउटा स्वायत्त संगठनको रूपमा भूमिका निर्वाह गर्न नसक्नु पनि विद्यार्थी आन्दोलनको अर्को समस्या हो । आस्था र विचारका आधारमा कुनै राजनीतिक दलसँग निकट भएपनि विद्यार्थी संगठनको प्रकृति एउटा स्वायत्त संगठनहरूको जस्तो हुनुपर्छ । सोही कारणले अधिकांश विद्यार्थी संगठनको नाममा कहिँ न कहिँ स्वतन्त्र भन्ने लेखिएको हुन्छ । त्यो भनेको आफैंमा सबै पक्षहरूबाट स्वायत्तता भन्ने हो । तर बिडम्बना विद्यार्थी संगठनहरूले स्वतन्त्र हैसियतमा आफूलाई प्रस्तुत गर्ने भन्दापनि पार्टीको एउटा अंगको रूपमा स्थापित गरिरहेका छन् । जुन वर्ग र पक्षलाई आन्दोलनमा समेट्नुपर्ने थियो, उनीहरूबाट आन्दोलन अलगथलग छ । तसर्थ विद्यार्थी संगठनहरूको स्वतन्त्र र जिम्मेवार भूमिका सुनिश्चित नगरेसम्म विद्यार्थी आन्दोलनले उचाइ हासिल गर्दैन् ।
आज विद्यार्थी संगठनहरूले विद्यार्थी आन्दोलनलाई नेतृत्व गर्न सकिरहेका छैनन् । उमेर खाएका र पार्टीका केही नेतासँग सम्बन्ध बनाएका विद्यार्थी नेताहरूको कब्जामा आज अधिकांश विद्यार्थी संगठन रहेको छ । छलकपट र चोरीचकारीबाट शैक्षिक प्रमाणपत्र लिने र प्रशासनसँगको मिलेमतोमा आर्थिक कारोबार पनि गर्ने नेताहरू शैक्षिक प्रणाली र विद्यार्थीको चेतनामा आएको परिवर्तनलाई आत्मसात् गर्न सक्दैनन् । त्यसैले आज विद्यार्थी संगठनहरूले नै विद्यार्थी आन्दोलनको नेतृत्व गर्न सकिरहेका छैनन् र उनीहरूसँग परिवर्तित सन्दर्भमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने क्षमता पनि छैन ।
हामीले देखिरहेका छौं, आज शिक्षा र प्राज्ञिक मुद्दासँग जोडिएका विषयहरूलाई स्वतन्त्र ढंगले विद्यार्थीहरूले उठान गरिरहेका छन् र विद्यार्थी संगठनहरू त्यस्ता आन्दोलनका बारेमा अनेकन टिका–टिप्पणीहरू गरेर किनाराबाट आन्दोलनको साक्षी बसिरहेका छन् । भन्नुको मतलब आज विद्यार्थी हकहितसँग जोडिएका मुद्दाहरू विद्यार्थी संगठनकै पकडभन्दा बाहिर गइरहेका छन् । उदाहरणको लागि १ वर्ष अघिमात्र निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरूले असुलेको चर्को शुल्कका विरुद्ध सेतो एप्रोन लगाएका विद्यार्थीहरूले सडकमा उत्रिएर महिनौं संघर्ष गरे । उनीहरूले अवज्ञा, जुलुस र धर्ना गरे । उनीहरूको न्यायपूर्ण आन्दोलनको नेतृत्व गर्नबाट विद्यार्थी संगठनहरू चुके ।
शिक्षामा कर्पोरेट पुँजीवादी हस्तक्षेपलाई सूक्ष्म ढंगले विश्लेषण गर्न नसक्नु विद्यार्थी आन्दोलनको अर्को समस्या हो । प्राविधिक र व्यावसायिक शिक्षाका नाममा अविकसित राष्ट्रहरूमा व्यापार गर्ने नीतिको हामी सिकार भइरहेका छौं । पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणविधि कर्पोरेट पोषित शिक्षाविद्ले तयार पार्छन् । प्राविधिक र व्यावसायिक शिक्षालाई महँगो प्रविधिका माध्यमद्वारा बेचिन्छ । यसरी हाम्रो शिक्षा नाफामुखी भइरहेको छ । शिक्षा बजारमा आफ्नो प्रभुत्व कायम राख्न निश्चित वर्षमा नयाँ आवश्यकता र नवीनताका नाममा पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणविधि परिवर्तन गर्ने पुँजीवादी हस्तक्षेपलाई सुक्ष्म ढंगले विश्लेषण गर्न हाम्रा सरोकारवालाहरू चुकिरहेका मात्र छैनन्, उनीहरू दुरुपयोग नै भइरहेका छन् । समग्रमा विद्यार्थी आन्दोलन पनि यही षड्यन्त्रमा फसिरहेको छ ।
दुई खालको वर्ग निर्माण गरिरहेको अहिलेको शिक्षा नीति र व्यवस्थालाई परिवर्तन गर्न नसक्नु विद्यार्थी आन्दोलनको अर्को रणनीतिक गल्ती हो । वामपन्थीहरू स्वभावैले परिवर्तनका पक्षमा हुन्छन् । हरेक ठाउँमा वर्गीय दृष्टिकोण राख्छन् र वर्ग पक्षधरताको लागि राजनीति गर्छन् । तर राजनीतिक जागरणको सुरुवात गर्ने विद्यार्थी संगठनले दुईखाले वर्ग निर्माण गर्ने शिक्षा नीतिलाई समेत अन्त्य गर्न सकिरहेका छैनन् । त्यतिमात्र नभई विद्यार्थी संगठनकै उपस्थितिमा यस्ताखालका नीति निर्माण गर्ने कुराको साक्षी बस्ने निरीह अवस्था विद्यार्थी आन्दोलनमा क्रान्तिकारी धार विसर्जन हुनुको प्रतिफल हो ।
आज पनि सर्वसुलभ शिक्षाको अभाव छ । विद्यार्थी र शैक्षिक आन्दोलनको सम्बोधन र नीतिगत व्यवस्थाको जति कुरा गरेपनि आजसम्म पनि शिक्षालाई सबैको पहुँचमा पुर्याउन सकिने स्थिति बनेको छैन । अझ ठूलठूला राजनीतिक परिवर्तनपछि पनि शिक्षा सर्वसाधारणको पहुँचमा पुग्न सकेन । अझ गुणस्तरीय शिक्षाको त कल्पनासम्म पनि नगर्ने स्थिति बनेको छ । यो पनि विद्यार्थी आन्दोलन सँगसँगै हुर्किएको अर्को विकराल समस्या हो । २१ औं शताब्दीमा समेत शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थालाई आजको वैश्विक चेतनाले स्वीकार्न नसक्ने अवस्था हो ।
अर्कोतर्फ शिक्षालाई विश्व पुँजीवादले खरिदबिक्रीको उपभोग्य वस्तुको रूपमा लिएको पाइन्छ । पुँजीवादले शिक्षालाई गुणस्तरीयको नाममा प्रचार गर्छ, तर यसलाई वस्तुको रूपमा व्यापार गर्छ । शिक्षाको व्यापार विश्वस्तरमै फस्टाएको छ । नेपालमा समेत गुणस्तरीय शिक्षा दिने नाममा उद्योगपति र व्यापारीहरू शिक्षण संस्था खोल्ने होडबाजीमा रहेका छन् । विडम्बना त के छ भने लामो समय प्रगतिशील वाम आन्दोलनमा जोडिएका र अहिले पार्टीको विभिन्न तह तप्कामा जिम्मेवारी लिएर बसेका नेताहरूनै शिक्षाक्षेत्रको व्यापारीकरण लागेका छन् । त्यसको बचाउ गर्न उनीहरूले विद्यार्थी संगठन र विद्यार्थी संगठनका नेताहरूलाई प्रयोग गरिरहेका छन् ।
शैक्षिक चेतनालाई राजनीतिक चेतनाले पछ्याउँछ । तर विडम्वना नेपालमा राजनीतिक चिन्तनले जबरजस्ती शिक्षालाई नियन्त्रण गरिरहेको छ । यो उल्टो पद्धति हो । सोही कारण विश्वव्यापी शैक्षिक जागरण नेपालको शिक्षा पद्धतिमा लागु हुन सकिरहेको छैन र खराब शिक्षा पद्धतिको विकास भइरहेको छ ।
नेपाल आज धनी राष्ट्रको लागि शिक्षित जनशक्ति उत्पादन गर्ने उत्पादक राष्ट्र बनिरहेको छ । आज सबैभन्दा महत्वपूर्ण र महंगो उत्पादक स्रोत भनेको मानव संशाधन नै हो । नेपालमा सन् २००१ पछि लागू भएको शिक्षा प्रणालीले विनालगानी धनी राष्ट्रलाई चाहिने सस्तो तर दक्ष जनशक्ति उत्पादन गरिदिएको छ । पाठ्यक्रमको डिजाइन नै योजनाबद्ध ढंगले तयार गरिएको छ । सामान्यतया निजी तथा महँगा विद्यालयमा पढेका विद्यार्थीहरूको गन्तव्य अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा नै हो भन्ने भाष्य निर्माण पारिएको छ । नेपालमा विकास निर्माण र उत्पादनको लागि चाहिने दक्ष जनशक्तिको अभाव हुने तर शिक्षित व्यक्तिहरू बेरोजगार हुने स्थिति निर्माण गरिएको छ । यो समग्र राष्ट्रको लागि विडम्बनापूर्ण छ ।
यही योजनाबद्ध ढंगले जबरजस्ती नियन्त्रण गरिएको शिक्षाका कारण नेपाली विद्यार्थीहरूमा देशभक्तिको भावना कम हुँदै गएको छ । सरकारको तथा राजनीतिक दलको जनघाती र राष्ट्रघाती कामको विरोध गर्न नसक्ने, रोजगारी नपाउँदा समेत सरकार र सत्ताका विरुद्ध विद्रोह गर्न नसक्ने, बरु त्यसको सट्टा विदेश पलायन हुनुमा गर्व गर्ने शिक्षित जनशक्ति भइरहेको छ ।
शिक्षामा आम पहुँच पग्न नसक्नु र त्यसको लागि ठोस पहलकदमी गर्न नसक्नु विद्यार्थी आन्दोलनको अर्को कमजोर पक्ष हो । वर्तमान संविधानले आधारभूत शिक्षा अनिवार्य र विद्यालय शिक्षा निःशुल्क भनेको छ । तर आज पनि कक्षा १० सम्म पुग्ने विद्यार्थीको सङ्ख्या एकदमै कम रहेको छ । जबसम्म शिक्षा आम पहुँचमा पुग्न सक्दैन यतिबेलासम्म गरिने विकास र समृद्धिको कुरा गफमा मात्रै सीमित हुन पुग्दछ ।
वर्तमान स्थिति
आज विद्यार्थी आन्दोलनको वर्तमान विचलित छ । वैचारिकता र आन्दोलन केन्द्रीकृत गर्ने कुनै एउटा निर्दिष्ट उद्देश्य बनेको छैन । दयनीय अवस्थामा रहेका नेपाली विश्वविद्यालयले केवल विश्व बजारका सस्ता श्रमिकहरू उत्पादन गरिरहेका छन् । यो अवस्था नदेख्ने विद्यार्थी नेताहरू दलको पक्षपोषणमा स्पर्धा गरिरहेका छन् । विद्यार्थीका मुद्दा छाडेर पार्टीका सीमित नेताको स्तुतीगान गरिरहेका छन् । पार्टीको नेताहरूले पनि आफूले भनेको मान्ने कार्यकर्ता उत्पादन गर्न विद्यार्थी राजनीतिको प्रयोग गरिरहेका छन् तसर्थ पार्टीभित्रको गुटबन्दीको अभ्यास गर्ने थलोको रूपमा विद्यार्थी राजनीतिको प्रयोग बढ्दो छ । हिजो समान शिक्षाको निम्ति आवाज उठाउने विद्यार्थी नेताहरू आज निजी क्याम्पसको सम्बन्धन दिलाउन दलाली गर्ने, नीजि विद्यालयको संचालक बन्ने निजी विद्यालयको पुस्तक वितरक बन्ने परिपाटी विकास भएको पाइन्छ ।
राजनीतिक वैचारिक जागरणको जगमा उठेको विद्यार्थी आन्दोलनमा आज त्यस्तो राजनीतिक जागरण, जाँगर र बलिदानीको कुनै गुन्जायस भेटिंदैन । विद्यार्थी आन्दोलनको औचित्य र सान्दर्भिकता सकिएको बहस प्राज्ञिक संस्था र सामाजिक आन्दोलनहरूमा हुन थालेको छ ।
तर शिक्षालय र विद्यार्थीहरू रहुन्जेल विद्यार्थी संगठन र आन्दोलनको सान्दर्भिकता किमार्थ समाप्त हुँदैन । थप कुन्ठित हुँदै गएको विद्यार्थी हकहित, कष्टकर हुँदै गएको जनजीविकाका सवाल, कमजोर बन्दै गइरहेको राष्ट्रियताका मुद्दा, पुँजीवादको नाङ्गो हस्तक्षेपको बीचमा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएको होइन । हिजोभन्दा अझ जिम्मेवार र सशक्त ढंगले विद्यार्थी आन्दोलनलाई स्थापित गर्नु आजको मुख्य आवश्यकता हो ।
कसरी जोगाउने विद्यार्थी आन्दोलन ?
विद्यार्थी आन्दोलन वा स्ववियुको मात्र होइन, नेपालमा लोकतन्त्र र दलीय प्रणालीको नै औचित्य समाप्त भइसकेको छ भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ । यो प्रवृत्तिबाट चनाखोपूर्वक ढंगले जोगिनुपर्छ । शिक्षा क्षेत्रमा निजीकरण, व्यापारीकरण र माफियाकरणको जालो निकै जब्बर र डरलाग्दो छ । यो नै आज विद्यार्थी आन्दोलनको प्रधान शत्रु हो । विद्यार्थी आन्दोलन बलशाली र प्रभावशाली हुँदा आफ्नो स्वार्थमा धक्का लाग्ने ठान्नेहरू प्रायशः यसलाई कमजोर बनाउन अनेक प्रपञ्च रचिरहेका हुन्छन् । यस्ताखालका प्रवृत्तिबाट जोगिँदै सम्झौताहीन वैचारिक तथा सांगठनिक संघर्ष गर्नुपर्छ । यसलाई राजनीतिक चेत भएका स्वायत्त संगठनको रूपमा स्थापित गर्नुपर्छ ।
प्राथमिकता
आफ्नो अस्तित्व जोगाउन विद्यार्थी आन्दोलनले प्राथमिकताका क्षेत्रहरू तोक्दै तदनुरूपको गतिविधि सञ्चालन गर्नुपर्छ । शिक्षाको व्यापारीकरण अन्त्य गर्न सुरुमा यसलाई सहकारीकरण गर्नुपर्छ । विस्तारै राष्ट्रियकरण गर्दै नतिजामुखी शिक्षा सुनिश्चित गर्नुपर्छ । शैक्षिक एवं प्राज्ञिक श्रीवृद्धि गर्ने आन्दोलनको सिर्जना गर्नुपर्छ ।
भनिन्छ, जहाँका शासक व्यापारी हुन्छन्, जनता कंगाल रहन्छन् । आज शिक्षा र स्वास्थ्यजस्ता जनसरोकारका क्षेत्र सबैभन्दा नाफामुलक व्यापारको विषय बनेको छ । बिडम्बना प्रगतिशील विचार राख्ने र लामो समय वाम आन्दोलनमा जोडिएका पार्टीका नेताहरूनै प्रत्यक्ष, अप्रत्यक्ष लगानीकर्ताको रूपमा रहेका छन् । राज्यका महत्वपूर्ण नीतिनिर्माण गर्ने तहमा रहेका नेताहरूकै कारण शिक्षाको क्षेत्रमा नीतिगत रूपमा नै भ्रष्टाचार मार्फत लुटतन्त्र चलिरहेको छ । विरोध गर्नुपर्ने विद्यार्थी नेता उनीहरूका सामु कि निरीह छन् कि त समर्थक । विरोधका स्वरहरू सुनियो भने त्यसलाई दबाउन विद्यार्थी नेताकै प्रयोग हुन्छ । आन्दोलनका मुद्दा आर्थिक कारोबारमा टुंगिइरहेका छन् । विश्वविद्यालय र महाविद्यालयहरूमा आन्दोलनसँग कमिसनको खेल जोडिन्छ । विद्यार्थी आन्दोलनले यो क्यान्सरको उपचार गरेर अगाडि बढ्नुपर्छ ।
अबको आन्दोलन आफ्नै पार्टीभित्र रहेका शिक्षाका व्यापारीहरूविरुद्ध केन्द्रीत गर्नुपर्छ । विद्यार्थी आन्दोलनले सही दिशा लिँदा यहीँबाट भ्रष्ट पंगु र अक्षम नेतृत्वलाई विस्थापित गर्ने नयाँ नेतृत्व दिन सक्छ । एउटा उद्देश्यमुलक विद्यार्थी आन्दोलन संगठित गर्न सक्दा राष्ट्रिय राजनीतिले पनि गति लिन सक्छ ।
देश संघीयतामा गएको छ । शिक्षाको अवसरलाई सातै प्रदेशमा स्वायत्ततासहित विकेन्द्रीत गर्ने मुद्दा पनि अबको विद्यार्थी आन्दोलने बोक्नुपर्छ । संविधानमा सुनिश्चित गरिएका अधिकार कार्यान्वयनमा जोड दिनसक्दा मात्र विद्यार्थी आन्दोलनको औचित्य पुष्टि हुन्छ । शैक्षिक ऋणको उपलब्धता, सवारी सहुलियत आदिलाई समेत सहज कार्यान्वयनमा ल्याएर सबैको पहुँचमा पुर्याउन सकिएको छैन । यस्ता विषयमा पनि आन्दोलन गम्भीर हुनुपर्छ । वैज्ञानिक, जीवनमूखी र समाजवादी शिक्षा प्रणाली निर्माणका निम्ति विशेष पहलकदमी गर्नुपर्ने देखिन्छ । शिक्षामा राजनैतिक भागवण्डाको अन्त्य गर्न पनि विद्यार्थी आन्दोलनले पहल गर्नुपर्ने हुन्छ । हामीले स्थापनाकालदेखि नै भन्दै आएको शिक्षालाई श्रमसँग र श्रमलाई उत्पादनमा जोड्ने शिक्षाको निम्ति शैक्षिक आन्दोलनको जोड हुनुपर्छ । साथै, नेतृत्वमा नियमित अध्ययनरत विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित गरी विद्यार्थी राजनीति वास्तविक विद्यार्थीको हातमा जिम्मा लगाउनु पनि विद्यार्थी आन्दोलनको प्राथमिकताको क्षेत्र हो ।
समाजवादी शिक्षा
संविधानले नै समाजवाद उन्मुख राज्यप्रणालीको मार्ग तय गरेको छ । यस स्थितिमा शिक्षा प्रणालीलाई समाजवादी बाटोतर्फ अभिमुख गराउन लाग्नुपर्छ । शिक्षासम्बन्धी समाजवादी दृष्टिकोण बनाएर गरिएका आन्दोलनले मात्र यी समस्याहरूको समाधान दिन सक्छन् । समाजवादी शिक्षाका विश्वव्यापी मान्यताहरू पछ्याउनुपर्छ ।सबैको पहुँचमा शिक्षा, समावेशीता, स्वतन्त्रता, शिक्षामा लोकतान्त्रीकरण, सहभागितामूलक, आलोचनात्मक र रचनात्मक सोचको शिक्षा निर्माण, वातावरणीय दिगो शिक्षा जस्ता सिद्धान्तहरूमा आधारित शिक्षा शिक्षा प्रणाली निर्माणमा लाग्नु पर्दछ । यसले समानता, स्वतन्त्रता र सामाजिक न्यायलाई बढावा दिने र सभ्य समाज निर्माण गर्न विद्यार्थीहरूलाई सक्रिय भूमिका खेल्न तयार गर्ने शिक्षा प्रणाली स्थापित हुन्छ ।
स्ववियु निर्वाचन
विद्यार्थी आन्दोलनको अविछिन्न उत्तराधिकारी संस्था हो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) । यो राष्ट्रियताका पहरेदारहरू, लोकतन्त्रका सेनानीहरू र जनजीविकाका पक्षमा फरक विचार राख्नसक्ने वैचारिक योद्धाहरू जन्माउने कारखाना पनि हो । साथै, स्ववियु विद्यार्थी हकहित र शैक्षिक रूपान्तरणको पनि मूल अभियन्ता हो ।
तर पछिल्लो कालखण्डमा स्ववियु कमजोर बन्दै गएको छ र यसबाट सिंगो विद्यार्थी आन्दोलन नै कमजोर भइरहेको छ । लामो समयदेखि निर्वाचन अवरुद्ध छ । पछिल्लो समय हुर्किरहेका युवाहरूलाई विचार, आन्दोलन, चेतना र समाजसँग जोड्ने जुन जिम्मेवारी विद्यार्थी र स्ववियु आन्दोलनलाई थियो, तर सीमित विद्यार्थी नेताको स्वार्थका कारण त्यो जिम्मेवारीबाट विद्यार्थी संगठनहरू पछि हट्न पुगे । समयमा नै स्ववियु निर्वाचन गराउँदै त्यसलाई विद्यार्थीमाथि स्थापित गराउने कुरामा नराम्रोसँग चुके । परिणामस्वरूप पछिल्लो समय हुर्केको युवा विद्यार्थीको जमातले वैचारिक नेतृत्व पाएन । फलतः विचारहीन, सिद्धान्तहीन, प्रतिगामी चिन्तन राख्ने, अराजक शैली भएका गैरराजनीतिक पृष्ठभूमिबाट आएका तत्वहरूले युवा पंक्तिको नेतृत्व गर्दै राजनीतिक हैसियत समेत प्राप्त गर्ने कुरा विद्यार्थी विद्यार्थी आन्दोलन कै सबैभन्दा लज्जास्पद परिघटना बन्न पुगेको छ । यसबाट पाठ सिक्दै सानातिना स्वार्थमा नअल्झिकन तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रतिबद्ध हुनुपर्छ । त्यसले नै समग्र युवा विद्यार्थीलाई वैचारिक, राजनीतिक र सामाजिक रूपले सुसूचित गर्दै नयाँ जागरणलाई आत्मसात गर्ने ठाउँमा उभ्याउन सक्छ ।
सन्दर्भ : अनेरास्ववियु महाधिवेशन
अन्यमा, उल्लेखित पृष्ठभूमिमा अनेरास्ववियुको २३ औं अधिवेशन सुरु भएको छ । विद्यार्थी आन्दोलनको पुनर्संरचना र सशक्त नेतृत्वका लागि क्षमता, निरन्तरता, बलिदानी भाव लगायतका गुण भएको विशिष्ट नेतृत्वको माग भइरहेको छ । अनेरास्ववियुको महाधिवेशनले त्यस्तै खालको विशिष्ट क्षमता भएका नेतृत्वको चयन गर्नुपर्नेछ, जसले व्यापक शुद्धीकरणमार्फत् संगठनलाई आन्दोलनमा स्थापित गराउन सक्नेछ । फेरि पनि सामाजिक जागरणको अभियानलाई स्थापित गर्न सम्झौताहीन संघर्ष गर्ने कुरालाई पुनर्स्थापित गर्न सकिन्छ ।
प्रतिक्रिया 4