
काठमाडौं । अनमोल केसी र आना शर्माको शीर्ष भूमिका हुने फिल्म ‘जेरी : अन टप’को सांकेतिक टिजर पोस्टर भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक भएको छ । प्रमुख पात्र पर्वतीय पदयात्रामा निस्किएको स्केच पोस्टरमा देख्न सकिन्छ । कथावस्तुको थिम समेत चित्रण गर्ने यो फिल्म पदयात्रा र सम्बन्धको कथावस्तु वरपर घुम्छ ।
फिल्मलाई लुक्लादेखि सगरमाथा आधार शिविरसम्म छायांकन गर्ने तयारी छ, सोहीअनुसार टिजर पोस्टर तयार पारिएको छ । पोस्टरले कलाकार, निर्माता, निर्देशक र ब्यानरबारे पनि खुलासा गर्छ ।
अनमोल र आनाको शीर्ष भूमिका हुने फिल्ममा पूर्णिका सिंजापति पनि प्रमुख भूमिकामा हुनेछिन् । यो फिल्म सन् २०१४ मा रिलिज भएको फिल्म जेरीको दोस्रो श्रृंखला हो ।
अनन्या फिल्म्स र नेपकम्स ग्लोबलको निर्माण रहने फिल्मको निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् । फिल्मलाई हेमराज बीसीले निर्देशन गर्दैछन् भने कथा, पटकथा तथा संवादमा बीसी र विश्वास तिमल्सिनाले सहकार्य गरेका छन् ।
फागुन अन्तिमदेखि छायांकन हुने फिल्मलाई नेपालको सगरमाथा क्षेत्र, अमेरिका र अष्ट्रेलियामा छायांकन गर्ने तयारी छ । फिल्मको अहिले अडिसन र कार्यशाला चलिरहेको छ ।
प्रतिक्रिया 4