
३ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजमार्ग आसपासमा राखिएका मदिराको होर्डिङ बोर्ड हटाउन निर्देशन जारी गरेको छ ।
मन्त्रालयले मंगलबार सडक विभागलाई एक पत्र लेख्दै मदिराको होर्डिङ बोर्डले चालकहरुको ध्यान मोडेर सडक दुर्घटना बढ्न सक्ने भन्दै त्यस्ता बोर्डहरु १५ दिनभित्र हटाउन भनेको हो ।
‘मदिराजन्य विज्ञापनहरु पन्ध दिन भित्र हटाउनका साथै सडक सीमा बाहिर रहेका अन्य जग्गामा रहेका विज्ञापनहरु समेत स्थानीय प्रशासनको समन्वय र सहयोगमा तत्कालै हटाउने व्यवस्था मिलाउन हुन अनुरोध छ’ मन्त्रालयका सहसचिव प्रभातकुमार झाले सडक विभाग चाकुपाटलाई लेखेको पत्रमा भनिएको छ ।
सार्वजनिक सडक ऐन २०३१ को दफा १८ मा सार्वजनिक सडकको आवागमनमा बाधा पुर्याउने वस्तु हटाउने अधिकार सडक विभागलाई रहेकोले राष्ट्रिय राजमार्गहरुका सडक सीमा भित्र राखिएका मदिराजन्य पदार्थको विज्ञापन हटाउन मन्त्रालयले २९ माघमा सचिवस्तरीय निर्णय गरेको थियो ।
प्रतिक्रिया 4