
४ फागुन, काठमाडौं । ल्होत्से मलमा भएको लुटपाट र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।
यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले बताए ।
उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन् ।’ पक्राउ परेका मध्ये ९ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सहचालक रहेको पुष्टि भएको उनले बताए ।
पक्राउ पर्नेमा केशर राई, सुरज मगर, रितेश बस्नेत, इन्द्र तामाङ, इलाराज गुरुङ, राजन राउत, हरिशरण तामाङ, विकास गुरुङ र संविधान परियार छन् । उनीहरु चालक र सहचालक हुन् ।

यस्तै सुनिल कालिकोटे, रोमन नगरकोटी, सुदीप तामाङ, माधव शाही, यमन राई र कविन खड्गी पनि पक्राउ परेका छ्न । उनीहरु मध्ये केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएका थिए । आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मोका छोपेर उनीहरुले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका थिए ।
त्यसबेलाको भिडियो र फोटोहरुका आधारमा अनुसन्धान गरेर संलग्नलाई पक्राउ गरिएको एसएसपी डा. केसीको भनाइ छ । उनीहरु मुलुकी अपराध संहिताको आपराधिक उपद्रो र लुटपाट सम्बन्धी कसूरमा म्याद थपेर अनुसन्धान गरिने डा. केसीले बताए ।
प्रतिक्रिया 4