
४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । चैत २४ र २५ गते स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान प्रदान गर्ने उदेश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको महानगरले जनाएको छ ।
सम्मेलनको तयारीका लागि महानगरकी उपमेयर सुनिता डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन गरिएको छ ।
डंगोलका अनुसार सबै पालिकाबाट न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन ४ विषयमा केन्द्रित हुने गरी कार्य पत्र महानगरले तयार गरिरहेको उनले बताइन् ।
न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन मुख्य विषयहरु रहने महानगरले जनाएको छ ।
काठमाडौं विवाद निरुपण घोषणापत्र २०७९ जारी गर्दै सम्मेलन सकिने महानगरले जनाएको छ । सम्मेलनपछि न्यायिक समिति राष्ट्रिय सञ्जाल, प्रदेश सञ्जाल र जिल्ला सञ्जाल चयन हुनेछ । राष्ट्रिय सञ्जालका पदाधिकारीहरुको चयन सम्मेलनबाटै हुनेछ ।
प्रतिक्रिया 4