
५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानूनविद्हरुसँगको छलफल कार्यक्रममा प्रमुख सचेतक लेखकले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको बताए । एमाले विचलित भइरहेको भन्दै उनले भने, ‘उहाँहरुको विचलनले के देखाइरहेको छ भने अहिलेको सत्ता गठबन्धन स्थिर छैन ।’
उनले राष्ट्रपति निर्वाचनमा आफूहरु आशावादी रहेको बताए । सबभन्दा ठूलो राजनीतिक दल कांग्रेससँग मतभार बढी रहेको भन्दै उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति छ ।’
एमालेले जुनसुकै बेला प्रतिनिधि सभा विघटन हुन्छ भनेको भन्दै उनले भने, ‘जुनसुकै बेला संसद विघटनको चाहना राखेर अघि बढ्ने पार्टीले संविधानको रक्षा गर्दैन ।’
संविधानको रक्षा तथा सार्थक कार्यान्वयनसँग जोडिएको पदमा कांग्रेसको दाबी रहने भन्दै उनले भने, ‘राजनीति नयाँ कोर्षमा जाने स्थिति बन्दै गएको छ । यही हप्ता १० दिनमा नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ ।’
प्रतिक्रिया 4