
८ फागनु, वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले वीरगञ्जबाट एक युवकको उद्धार गरेको छ ।
वीरगञ्जको मुर्ली चोकस्थित पाण्डे मेडिकल नजिकैबाट आइतबार राति भारत उत्तर प्रदेश देवररिया जिल्ला नारायणपुरका ३५ वर्षीय पुरुषको उद्धार गरिएको मानव सेवा आश्रम वीरगञ्ज शाखाले जनाएको छ ।
नालाको छेउमा अत्यन्तै कष्टपूर्ण तरिकाले सुतिरहेका मानसिक अवस्था कमजोर भएका पुरुष व्यक्तिलाई उद्धार गरेर वीरगञ्ज– २५ सिर्सिया स्थित शाखामा ल्याएर राखेको आश्रमका मधेश प्रदेश शाखा संयोजक देवेश गुप्ताले जानकारी दिए ।
‘उहाँलाई तीन चारदिनदेखि खोजिरहेका थियौं । नाला छेउमा च्यादर ओढेर सुतिरहेको अवस्थामा भेटिनुभयो’, उनले भने ‘उद्धार गरेर आश्रममा ल्यायौं, सरसफाइ गरेपछि उहाँको रुप नै परिवर्तन भएको छ ।’
आश्रमका अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारुले उनको घर खोज्न सहयोग गरिदिन आग्रह गरे । ‘स्थानीयले पटक पटक फोन गरेर उहाँको बारेमा बताउँथे, तर जाँदा भेटिने होइन ।
त्यतिकै घुमिरहन्थे’ उनले भने, ‘भ्यालेन्टाइन डेको दिन रात्री गस्ती गर्दा पनि उहाँलाई खोजेका थियौं । बल्ल तल्ल गएराति भेटिनुभएको छ । घर परिवार खोज्न सबैको सहयोगको आवश्यकता छ ।’
प्रतिक्रिया 4