
८ फागुन, काठमाडौं । भूमिहीनहरुले काठमाडौं महानगरपालिकाले डोजर आतंक फैलाएर आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन् ।
विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृंखला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरुको बस्तीमा डोजर आतंक फैलाएर काठमाडौं महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन्।
काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका आफूहरुलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झनै उठीबास लगाउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् ।
उनले आफूहरुमाथि अन्याय नगर्न पनि काठमाडौं महानगरपालिका र संघीय सरकारलाई आग्रह गरिन् । गरिबको पक्षमा सबै तहका सरकारले काम गर्नुपर्नेमा दुःख दिएको उनको दुखेसो थियो ।
उनले भनिन्, ‘गरिबीको भोगाइ छ । भोकको पीडा छुट्टै छ । महामारी, सरकारको दिएको यातना । यी सबैको पीडा हामीले भोग्नु परेको छ । हामीमाथि नै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि डोजर चलाएर आतंकित पारेका छन्। उनी आएपछि त झन हामीले पीडा भोग्नु परेको छ ।’
यता, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त नवराज प्याकुरेलले भने भूमिहीनहरुको समस्या समाधानका लागि आफूहरु सम्बन्धित पक्षसँग सहकार्य गरेर अघि बढन लागि परेको दावी गरे । उनले त्यसका लागि ठोस योजना ल्याउन स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराए ।
विकास आयुक्त प्याकुरेलले काठमाडौं उपत्यका भित्र सामाजिक न्याय स्थापित हुने गरी पीडितहरुको माग सम्बोधन गराउने काममा आफूहरुले काम काम गरिरहेको पनि बताए । विकास आयुक्त प्याकुरेलले भने, ‘यो सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न र व्यवस्थित गर्नका लागि सरोकारवाला सबैको भूमिका अपरिहार्य हुन्छ । र, यसमा काठमाडौं उपत्यका विकास प्राधिकरण हातमा हात मिलाएर अघि बढ्न चाहन्छ ।’
काठमाडौं उपत्यका विकास प्राधिकरणले सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको पनि विकास आयुक्त प्याकुरेलले बताए ।
प्रतिक्रिया 4