
९ फागुन, रौतहट । माटोले पोतेको घर । भित्र छिर्ने बित्तिकै सानो भान्सा, त्यसैसँग जोडिएको सुत्ने कोठा र दुई टेबल । यो टेबल कुनै समय गीताकुमारी राईको ‘सम्पन्नता’ को प्रतीक थियो । ‘होटल थियो, त्यसकै टेबल हुन्’— आफ्नै घरमा चलाएको होटल गीताका लागि सम्झना भइसक्यो ।
माटो र काठले बनेको घरलाई मधेशमा कम्पावाल घर भन्छन् । कम्पावाल घरको छानामा छाएको जस्ताका प्वालबाट छिरेका घामका किरणले उनको यो सानो संसारमा उज्यालो छर्छ । नभए त उनको संसारमा जता हेरे पनि अँध्यारो नै अँध्यारो छ ।
किनकि गीताकुमारी ऋणको दलदलमा यसरी फसेकी छिन् कि घरभित्रबाट होटल अहिले सडक किनारमा आइसक्यो । ‘पहिला घरभित्रै होटल थियो । अहिले घरभित्र राख्ने सरसामान नभएपछि रोडमा बेच्न थालें’ हरेक साँझ गीता घरसँगै जोडिएको सडक किनारमा चुलो बालेर पकौडा, समोसा बेच्छिन् ।
उनको घरमा कुनै समय होटल थियो भनेर देखाउने होर्डिङ बोर्ड भने अझै झुण्डिएको छ ।
रौतहट चन्द्रपुर नगरपालिका–६ राईटोलकी गीताकुमारीका अनुसार लघुवित्त र मिटर ब्याजको ऋणले उनलाई सडकमा ल्याइपुर्याएको हो ।
लघुवित्त समूहमा जोडिएकी उनले आफू सदस्य रहेको नेरुडे लघुवित्त महिला समूहकी संयोजक चिना कोइराला श्रेष्ठसँग पटक–पटक गरेर २ लाख ७५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । चिना तिनै महिला हुन्, जसविरुद्ध रौतहट जिल्ला प्रशासन कार्यालयमा १ करोड २८ लाख रुपैयाँ मिटर ब्याजमा लगाएको भन्दै उजुरी परेको छ । यही ऋणले उनलाई लघुवित्तको ऋणी बनायो ।
२ लाख ७५ हजार रुपैयाँ तिर्न भनेर उनले नेरुडे लघुवित्तबाट १ लाख २० हजार र मेरो माइक्रो फाइनान्सबाट १ लाख ६० हजार रुपैयाँ ऋण निकालिन् । ‘बैंक (लघुवित्त)बाट निकालेको पैसा चिनालाई दिएँ’ सम्झना भइसकेको होटलको र्याकबाट रकम बुझाएको हिसाबको कागजपत्र निकालिन् गीताले । ‘तर उसको ब्याज सकिएन । हरेक दिन साँझ आएर दिनभर पसलमा भएको कमाइ लिएर जान थालिन्’, गीताकुमारीका दुर्दिन सुरु भए ।
चिनाले हरेक दिन आएर थर्काउँदै पैसा लैजान थालेपछि उनका श्रीमान् बलबहादुर राईले हिसाब–किताब मागे । लेखपढ गर्न नजान्ने गीताले साहुले भनेको हरेक कागजमा औंठाछाप लगाएकी थिइन् । ‘कागजमा त १५ लाख लिएको लेखेका रहेछन्’ १५ लाख रुपैयाँको कागज छ भन्ने थाहा पाएपछि गीताको होशहवास उड्यो, ‘अहिले त्यही १५ लाखको मुद्दा चलेको छ ममाथि ।’
गीता हात जोडछिन्, ‘२ लाख ७५ हजार मात्रै लिएकी थिएँ । पापीहरूले यस्तो गर्दिए ।’
यता लघुवित्तको ऋण र ब्याज बढिरह्यो । नेरुडे लघुवित्तबाट लिएको १ लाख २० हजारमा उनले तिनुपर्ने अझै ५० हजार बाँकी छ । स्वावलम्बन लघुवित्तलाई उनले १ लाखभन्दा बढी ऋण तिर्न बाँकी छ । ऋण तिर्न भनेरै विजय लघुवित्तबाट लिएको १ लाख रुपैयाँको सावाँ–ब्याज नतिरेको एक वर्ष भयो ।
‘दुई लाख जति भयो भन्छन्’ गीतालाई आफ्नो क्षमताले नधान्ने ऋणको हिसाब गरेर दुःखी हुन मन छैन । ‘कुन बैंकमा ऋण छ, कति ऋण छ याद पनि छैन । यो टेन्सनले दिमागै चल्न छाडिसक्यो’ उनी सुस्केरा काढ्छिन् । होटल चलाउँदा उनले पैसा राख्ने गरेको र्याकको गल्ला (ड्रअर) मा आजभोलि उनले ऋणका कागजात राखेकी छिन् ।
‘लघुवित्तका सर आउँछन् । पकौडा, चप बेचिरहेको ठाउँबाट १००, ५० जति भए पनि मागेर लैजान्छन्’ गीताकुमारीसँग भने गल्लामा राख्नका लागि ऋणका कागजात मात्र बाँकी छन् ।
लघुवित्तका कार्मचारीलाई १००/५० रुपैयाँ नलैजान बारम्बार अनुरोध पनि गरेकी हुन् गीताकुमारीले । ‘त्यो पैसाले ब्याज तिर्न पुग्छ न सावाँ । बरु म एकैचोटि महिनामा हजार दिन्छु भनेकी हुँ’ गीता भन्छिन्, ‘ब्याज नतिरेको जरिवाना भन्दै लगेको भन्छन् । अब मैले उनीहरूको खुट्टा ढोग्न मात्र बाँकी छ ।’
बिहान ३ बजे उठेर दुनोट बनाउँदा गीताकुमारीले मुश्किलले ४०० रुपैयाँ कमाउँछिन् । बिहानै आर्जेको त्यो रकमबाट २०० रुपैयाँ नेरुडे लघुवित्तले लैजाने गरेको छ । ‘नेरुडेमा हरेक दिन २०० तिर्छु’, गीताको दिनको सुरुवात नै ऋण तिरेर हुन्छ, साँझ नहुँदासम्म उनी कसै न कसैलाई ऋण तिरिरहेकी हुन्छिन् ।
ऋण तिर्दा–तिर्दा थाकिसकेकी उनलाई आफूले कुन लघुवित्तबाट कति ऋण लिएकी छु भनेर समेत थाहा छैन । उन्नति सहकार्य, इन्फिनिटी, नेशनल, समता घरेलु लघुवित्तमा पनि उनले ऋण लिएको थाहा छ । तर कति रुपैयाँ ऋण छ भन्ने हिसाब छैन । लघुवित्तका कर्मचारीहरू आएर उनलाई समयमा ब्याज र ऋण तिर्न भन्छन् । समयमा ब्याज र ऋण नतिरेमा असल ऋणी भइन्न, कालोसूचीमा नाम जान्छ भन्छन् ।
जवाफमा गीताकुमारी भन्छिन्, ‘यही ऋणले गर्दा मुद्दाको तारेख थामिरा’छु । घरबार डुबिसक्यो । अब के असल हुन्छ र ?’
ऋणको बोझले गीताकुमारीको सानो संसार थिचिएको छ । पाँच वर्ष मलेशिया बसेर आएका श्रीमान् बिरामी छन् । खुट्टा सुन्निने समस्या भोगिरहेका श्रीमानको उपचारका लागि समेत गीताकुमारीसँग पैसा छैन । उपचार गर्ने पैसा नभएर उनका श्रीमान दुखाइ कम गर्ने औषधि खाएर बसेका छन् । ‘कमाएको पैसा जति उनीहरूलाई नै ठिक्क हुन्छ’ अर्कोतिर फर्केर सलको फेरले आँशु पुस्छिन् उनी, ‘अहिले आफूसँग औषधि गर्ने रुपैयाँ समेत छैन ।’
श्रीमानको उपचार मात्र होइन, ऋणकै कारणले उनका दुई सन्तानले स्कुल समेत छाडेका छन् । लेखपढ गर्न नजानेकै कारण आफू ऋणको जाँतोमा पिसिएकी गीताकुमारीको रहर थियो, ‘मैले जस्तो दुःख नपाउन् भनेर छोराछोरीलाई पढाउन रहर त थियो ! पैसा उनी (लघुवित्त)हरूलाई तिर्नै पुग्दैन ।’ १० कक्षा पास गरेकी जेठी छोरीलाई उनले ११ कक्षामा भर्ना गर्न सकिनन् । ‘एसएलसीको फारम भर्ने पैसा नभएपछि माइलोले स्कुल छाड्यो’ गीताकुमारी आफ्नै भाग्यलाई सराप्छिन्, ‘गरिबको भाग्य नै खोटो !’
श्रीमानले पाँच वर्ष मलेशिया बस्दा कमाएको पैसाले किनेको १० धुर जमिन ऋण तिर्नकै लागि बेचिसकिन् । सडक किनारको ऐलानी जमिनमा कम्पावाल घरमा बसिरहेकी गीताकुमारी मात्र हुन् घरमा कमाउने । उनी एक्लैको कमाइमा निर्भर छ, ६ जनाको परिवार । मिटरब्याजी चुना कोइरालाको मुद्दा–मामिला खेपिरहेकी उनले पेशीका लागि अदालत जानुपर्छ । बहस भएको समयमा १० हजार र पेशीको समयमा २ हजार रुपैयाँ वकिललाई दिनुपर्छ ।
लघुवित्तका कर्मचारीले समयमा ब्याज, ऋण चुक्ता नगरेको भन्दै उनलाई अनेकथरी भन्छन् । ‘छोराछोरीलाई पनि भन्नु–नभन्नु भन्छन्, उनीहरू डराएर रुन्छन्’, गीताकुमारी आफैंलाई दोष दिन्छिन्, ‘मैले छोराछोरीलाई पनि रुवाएँ ।’
‘कहिलेकाहीं त दिक्क लाग्छ । तर मरेर पनि के गर्नु ? मान्छेहरूले ऋण खाएर मर्यो भन्छन् । छोराछोरीले दुःख पाउँछन्’, उनलाई अहिलेसम्म जीवित राखेकै छोराछोरीको मायाले हो । संकटको समयमा मान्छेहरू सुखद भविष्य कल्पेर आफूलाई सान्त्वना दिन्छन् । गीतालाई सुखको कल्पना गर्ने सुविधा छैन । ‘भविष्यमा पनि के सुख होला र ! ऋण नतिरी यो जुनीमा सुख पाइँदैन’, ऋणको क्रूर यथार्थसँग भलिभाँती परिचित छिन् गीताकुमारी ।
गीताकुमारीका अनुसार २०७६ को वैशाखमा सडक किनारको घरमा ट्रक ठोक्किएको थियो । त्यो बेला उनको परिवार भाग्यवश बाँच्यो । त्यसरी बाँचेकोमा उनलाई कुनै हर्ष छैन— ‘यही दुःख पाउन र ऋण तिर्न त बाँचेका रहेछौं नि !’
प्रतिक्रिया 4