+
+

पाँचदलीय गठबन्धनलाई औपचारिकता दिनुअघि म्याराथन बैठक

जसपालाई पनि संसदीय समितिको सभापति दिएर उपराष्ट्रपति आफैंसँग राख्ने माओवादीको चाहना छ । एक पदाधिकारी भन्छन्, ‘एकीकृत समाजवादीले खोजेको पावर सेयरिङ र उपराष्ट्रपतिमा जसपाको दाबीबारे भोलि थप छलफल होला ।’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ फागुन ११ गते २१:५१

११ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार ७२ औं जन्मदिन मनाउन ब्यस्त रहे ।

आफ्नै निवास बालकोटमा विहानैदेखि कार्यक्रम र भेटघाटमा व्यस्त भएका ओली साँझ सांगीतिक कार्यक्रममा रमाए । आफ्नै नामबाट सञ्चालित ‘केपी ओली कप फुटबल प्रतियोगिता’को उद्घाटन समारोहमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुग्नुबाहेक अरु कार्यक्रममा सहभागी भएनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने राजनीतिक भेटवार्तामा व्यस्त रहे । माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले गरेको सबै भेट सरकारमा नभएका दलहरुसँग थियो ।

बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे । दिउँसो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग वार्ता गरे । लगत्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुलाई भेटे । साँझ फेरि एकीकृत समाजवादी र जसपाका नेताहरुलाई भेटे ।

नेताहरुका अनुसार साँझ ६ बजे कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक बस्ने तयारी थियो, तर समय अभावका कारण भोलि शुक्रबार ८ बजेका लागि सारिएको छ । यो बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिने नेताहरु बताउँछन् ।

बिहीबार भएका छलफलहरुमा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने बताएको छ भने जसपाले उपराष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरेको छ । छलफलहरुमा सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका नेताहरुले भने सकारात्मक जवाफ दिने गरेका छन् । तर राष्ट्रपतिबारे निर्णय गर्दा कांग्रेसको पनि सहमति चाहिन्छ भन्ने गरेका छन् ।

‘हामीले राष्ट्रपति र जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ र, हामी एकअर्कालाई साथ दिन्छौं’, एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘माओवादीका नेताहरुले कांग्रेससहित बसेर सहमति खोजौं । सबै हामीले पाउनुपर्छ भन्दा नहोला, केही छाड्ने र केही लिने सोचका साथ छलफलमा बसौं भन्नुभएको छ ।’

कांग्रेस नेताहरु भने प्रचण्डले राष्ट्रपतिमा आफूहरुलाई बचन दिइसकेकाले माधव नेपाललाई राष्ट्रपति बनाउने सहमति हुन नसक्ने बताउँछन् । बरु पावर शेयरिङमा नेपाललाई पनि सम्बोधन गर्न सकिने कांग्रेसका एक नेता बताउँछन् ।

बिहीबार भएको छलफलहरुमा सहभागी एकीकृत समाजवादीका एक नेता पनि आफूहरुको प्रयास अहिले पनि माधव नेपाललाई राष्ट्रपति बनाउने भएको, तर फरक परिस्थिति बने पनि तत्कालीन पाँचदलीय गठबन्धनमा रहने बताउँछन् ।

जसपालाई पनि संसदीय समितिको सभापति दिएर उपराष्ट्रपति आफैंसँग राख्ने माओवादीको चाहना छ । एक पदाधिकारी भन्छन्, ‘एकीकृत समाजवादीले खोजेको पावर सेयरिङ र उपराष्ट्रपतिमा जसपाको दाबीबारे भोलि थप छलफल होला ।’

औपचारिकताका लागि ओलीसँग सम्वाद

कांग्रेस नेतृत्वको गठबन्धनमा फर्किने तयारीमा रहेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले भने औपचारिक रुपमा त्यसलाई स्वीकार गरेका छैनन् ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको बैठकमा बसेको तीन दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अझै छलफल जारी रहेको बताए । उनले भने, ‘छलफल चलिराख्या छ । भोलि एमाले अध्यक्षसँग पनि कुरा गर्छु ।’

तर भोलि विहान बस्ने चार दलको बैठकमा सहमति जुटे ओली र प्रचण्डबीच हुने सम्वाद औपचारिकतामा मात्र सीमित हुने सम्भावना रहेको नेताहरु बताउँछन् । माओवादी केन्द्रका एक पदाधिकारी भन्छन्, ‘हामी, कांग्रेस, जसपा, एकीकृत समाजवादी मिलेर जानुपर्छ भन्नेमा सहमत नै छौं । भोलि हुने छलफलले यसलाई औपचारिकता देला ।’

त्यो एमाले अध्यक्षले समेत बुझिसकेको भन्दै उनले प्रचण्ड–ओलीको भेट औपचारिक मात्र हुनेसक्ने संकेत गरे ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?