
१५ फागुन, वीरगञ्ज । वीरगञ्जमा सञ्चालित रात्रि सांस्कृतिक कार्यक्रममा ३० लाख रुपैयाँको कारोबार भएको छ । वीरगञ्ज कलेजले दशौं वर्षको उपलक्ष्यमा १२ र १३ फागुनमा राति १० बजेसम्म बीपी उद्यान फुटपाथमा रात्रि सांस्कृतिक तथा खाना मेला आयोजना गरेको थियो ।
विद्यार्थीमा ‘सिक्दै जाऔं, कमाउँदै जाऔं’ भन्ने भावनाको विकास गर्न, वीरगञ्जमा रात्रि बजार र स्टार्टअपको अवधारणालाई साकार पार्नुको साथै बारा-पर्साको लोक संस्कृति तथा परम्परागत खानाको प्रवर्द्धन गर्न मेलाको आयोजना गरिएको कलेजले जनाएको छ ।
मेलामा स्थानीय परिकार घोंगी, भुजा पकौडी लगायत २१ प्रकारका खाना तथा झिंझिया, माघी नाच लगायत सांस्कृतिक प्रदर्शनी गरिएको थियो । मेलामा कलेजमा अध्ययनरत विद्यार्थीले खानाका परिकार राखिएको २५ वटा स्टल लगाएका थिए । विद्यार्थीले पहिलो दिन, ४ हजार ७ सय ग्राहकसँग ८ लाख रुपैयाँ र दोस्रो दिन, ८ हजार ग्राहकसँग २२ लाखको कारोबार गरेको कलेजले जनाएको छ । जसअनुसार मेलामा १२ हजार ७ सय ग्राहकसँग ३० लाख रुपयाँको कारोबार भएको सञ्चालक समिति अध्यक्ष डा. दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।
ग्राहकसँग कुरा गर्ने क्षमताको विकास हुनुको साथै विद्यार्थीमा उद्यम गर्न सक्छु भन्ने विश्वास बढेको दाबी उनको छ । ‘एउटा स्टलबाट कम्तीमा २० हजारदेखि बढीमा ५ लाखसम्म कारोबार भएको भनेर विद्यार्थीले भनेका छन् । २५ प्रतिशत नै नाफा भएपनि राम्रै लाभ हुन्छ’ उनले भने ‘सोचे भन्दा धेरै राम्रो भयो ।’
प्रतिक्रिया 4