
१५ फागुन दाङ । रोल्पामा एक जना किशोरको मृत्युको घटनामा दिएको किटानी प्रहरीले लिन नमानेपछि मृतक परिवारले शव बुझेका छैनन् ।
माघ २९ गते रोल्पाको रुन्टीगढी गाउँपालिका–१ का १९ वर्षीय राजेन्द्र विक राति भिरबाट लडेर मृत्यु भएको घटनामा फालेका व्यक्तिहरुमाथि दिएको किटानी प्रहरीले लिन नमानेपछि मृतक परिवारले १५ दिनसम्म पनि शव बुझ्न नमानेका हुन् । मृतक किशोरको शव दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै मृतकका बाबु रुपलाल विकले घटनामा संलग्न भएको आशंकामा आफूले सात जनाविरुद्ध दिएको किटानी रोल्पाको इलाका प्रहरी कार्यालय होलेरीले लिन नमानेको बताए । उनले घटना भीरबाट लडेको नभइ हत्या गरिएको हुन सक्ने आशंकामा फागुन ४ गते किटानी जाहेरी दिन खोजेको बताए ।
‘घटना हेर्दा भीरबाट लडी नभई हत्या गरेको देखिन्छ’ उनले भने, ‘घटनाको आशंकामा केही व्यक्तिहरु विरुद्ध किटानी दिन खोजे तर प्रहरीले लिन मानेन ।’ उनले आफूले शंका गरेका व्यक्तिहरुविरुद्ध प्रहरीले किटानी जाहेरी लिनुपर्ने र घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।
के थियो घटना ?
मृतकका बुबा विकका अनुसार उनका कान्छा छोरा राजेन्द्र विक माघ २९ गते गाउँमा विवाह भोज खान गएका थिए । उनीसँगै छिमेकी १८ वर्षीय सुवास विक पनि साथ गएका थिए । दुवैले मध्यपान गरी राति नै त्यहाँबाट निस्किएका थिए । तर राजेन्द्र विक घर फर्केनन् ।
अर्को दिन बिहान फागुन १ गते विक भीरदेखि तल मृत फेला परे । मृतकका बाबु विकका अनुसार उनको छोराको शरीरमा कपडा थिएन भने शरीरमा चोटपटक थियो ।
राजेन्द्रका बाबुले घटना भीरबाट लडेर नभई हत्या भएको आशंका गरेका छन् । उनले त्यसरात सुवासमात्र नभई उनका बाबु पनि साथमै भएकाले थप व्यक्तिहरुमाथि पनि अनुसन्धान गरिनुपर्ने बताए ।
इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मधुसुदन विकका अनुसार घटनामा जोडिएका सुवासले त्यसरात आफूहरु धकेलाधकेल गर्दा भिरबाट खसेर मृत्यु भएको बयान दिएका छन् । सोही आधारमा जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विकले बताए ।
उनले आफूहरु घटनाको नजिक पुगेको बताउँदै घटना सामूहिक हत्या जस्तो नदेखिएको बताए । ‘यद्यपि घटनाको अनुसन्धान टुंगिएको छैन’ उनले भने, ‘अनुसन्धानको दायरा अझै फराकिलो गर्दै लगेका छौं । घटनामा केही आशंका देखिए कानुनको दायरामा ल्याउछौं ।’
प्रतिक्रिया 4