
१७ फागुन, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पतालमा जडान भइरहेको एमआरआई मेसिनको विषयमा चासो राखेको छ ।
आयोगको केन्द्रीय कार्यालयबाट दुई जना इन्जिनियर बुधबार वीरगञ्ज पुगेर एमआरआई मेसिनको अवस्थाबारे जानकारी लिएका छन् ।
उनीहरुले एमआरआई मेसिनको निरीक्षण गर्नुको साथै अनुसन्धानका लागि एमआरआईसँग सम्बन्धित कागजपत्र समेत लिएर गएका छन् । आयोगका प्रवक्ता भोला दाहालले नारायणी अस्पतालमा खरिद गरिएको एमआरआई मेसिनबारे परेको उजुरीको अनुसन्धानका लागि दुई जना इन्जिनियरलाई पठाइएको जानकारी दिए । ‘अनुसन्धानका लागि आवश्यक कागजात लिएर आउँदै हुनुहुन्छ’ उनले भने ।
अस्पतालका प्रवक्ता एवं इमर्जेन्सी विभाग प्रमुख डा. उदयनारायण सिंहले अख्तियारको टोलीले एमआरआई मेसिन खरिदसम्बन्धी कागजात लिएर गएको बताए । ‘एमआरआईसँग सम्बन्धित डकुमेन्ट चाहिएको छ भनेर माग्नुभयो’, उनले भने, ‘हामीले उपलब्ध गराएका छौं ।’
अस्पतालमा एमआरआई मेसिन धमाधम जडान भइरहेको छ । अख्तियारका इन्जिनियरले जडानको काम सकिएपछि पुनः आउने जानकारी गराएको डा. सिंहले जानकारी दिए ।
प्रतिक्रिया 4