+
+

फार्मास्युटिकल एसोसिएसनमा पन्त र सुवेदीबीच प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते २०:२६

१८ फागुन, काठमाडौं । नेपाल फार्मास्युटिकल एसोसिएसनको २३ औं कार्यसमितिका लागि आगामी शनिवार हुने निर्वाचनमा हालका महासचिव ललितमोहन पन्त र यसअघि अध्यक्षमा पराजित रोभसकुसुम सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा प्राज्ञिक पृष्ठभूमिका पन्त हालका महासचिवसमेत हुन् । व्यापारिक पृष्ठभूमिका सुवेदी मिरा बायोटेकका सञ्चालक हुन् । दुवैले आ–आफ्नो प्यानल बनाएर लड्ने तयारी गरिरहेका छन् ।

अध्यक्षका प्रत्यासी पन्तको प्यानलबाट उपाध्यक्ष अमृत गौरो, प्रदीप लम्साल र महिला उपाध्यक्षमा डा. रोनक श्रेष्ठ, महासचिवमा सञ्जीव शर्मा कट्टेल, सचिवमा केदारप्रसाद शाह, सानुकाजी श्रेष्ठ र विवेक श्रेष्ठ छन् भने कोषाध्यक्षमा गोपीना राई, सहकोषाध्यक्षमा निर्मलराज मरासिनी, प्रचार सचिवमा अनिश श्रेष्ठ रहेका छन् ।

त्यस्तै पन्तकै प्यानलबाट सदस्यमा सुदर्शन बिडारी, सञ्जीव प्रजापति, सुशील अधिकारी, मनोज भट्टराई र महिला सदस्यमा सौभाग्य डंगोलले निर्वाचन लड्दैछन् ।

अध्यक्षका अर्का प्रत्यासी सुवेदीको प्यानलबाट उपाध्यक्षमा बद्री केसी र देवानन्द शाह, महिला उपाध्यक्षमा संजिता विष्ट, महासचिवमा धिरज रौनियार, सचिवमा विष्णु रेग्मी र सञ्जय चौधरी, कोषाध्यक्षमा राजन मानन्धर, सहकोषाध्यक्षमा सुशील नेपाल, प्रचार सचिवमा यज्ञराज बडूले प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै सुवेदीकै प्यानलबाट सदस्यमा अशोक भुसाल र कपिल बोगटी, महिला सदस्यमा प्रेरणा मानन्धरले निर्वाचन लड्ने तयारी गरेका छन् ।

निर्वाचनमा तेस्रो प्यानलले पनि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ । स्वतन्त्रबाट अध्यक्षमा फुलगेन शाह, उपाध्यक्षमा लक्ष्मी नारायण न्यौपाने, सचिवमा विष्णु प्रसाद कँडेल र सदस्यमा आनन्द ठाकुर, भाइकाजी बस्नेत र सृष्टि प्रजापतिले निर्वाचनमा भाग लिने तयारी गरिरहेका हुन् ।

हालका अध्यक्ष शशीकान्त चौधरी आफू उद्योगी भएकाले समय दिन नसकेको र गर्न खोजेका कतिपय कामहरू गर्न नसकिएको भन्दै नयाँ कार्य समिति बनाउने बाटो खोलेका हुन् ।

कसका एजेण्डा के ?

लामो समयदेखि यही क्षेत्रमा क्रियाशील रहेका हालका महासचिव पन्त काठमाडौँ विश्वविद्यालयका प्राध्यापकसमेत हुन् । उनी आफू उद्योगी या व्यवसायी नभएकाले स्वार्थको द्वन्द्व नहुने दाबी गर्छन् ।

उनले आम जनता र स्वास्थ्य प्रणालीबीचको सम्बन्धलाई ठोस ढंगले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘आम जनताले आफू बिरामी हुँदा पहिला उपचार नै ढिला शुरू हुने देखिएको छ । दोस्रो, आवश्यक औषधि समयमा उपलब्ध नहुने अवस्था छ, त्यसलाई दूर गर्ने मेरो पहिलो एजेन्डा हो,’ पन्त भन्छन् ।

उनले जनताको लासमा हाल्ने अबिर र कपुरमा समेत ठेक्का आह्वान गर्ने सत्ता र व्यापारीलाई आफ्नो चुनौती रहेको बताए । ‘स्वास्थ्य प्रणालीका कारण जनताले अमूल्य ज्यान गुमाउनुपरेको र त्यसको क्षतिलाई कम गर्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने, ‘कतिपय अफ्रिकाका देश र एसियाको नेपालमासमेत अनइथिकल रूपमा क्लिनिकल ट्रायल गरेर जनतालाई प्रयोगशाला बनाउने अवस्थालाई निरुत्साहित गर्न लाग्नेछु ।’

यसबाहेक टेलिमेडिसिन सेवालाई प्रभावकारी गराउने, अनलाइन फार्मेसीलाई कानूनको दायरामा ल्याउने, नीति निर्माण तहमा काम गर्ने, औषधिको न्यायोचित मूल्य निर्धारण गर्न पहल गर्ने, सातै प्रदेश र जिल्लामा औषधि व्यवस्था विभागलाई विकेन्द्रीकरण गर्न दबाब दिने, फार्मासिस्ट र एसिस्टेन्ट फार्मासिस्टहरूलाई बेलाबेलामा तालिम दिने कामसमेत आफूले गर्ने उनको दाबी छ ।

‘वार्षिक ६० अर्बको औषधिको कारोवार हुन्छ नेपालमा,’ उनले भने, ‘राज्यले नियमन गर्न सकिरहेको छैन । जनताको स्वास्थ्यमा राज्यको माथिल्लो तहबाटै खेलवाड हुने गरेको छ । जनताको स्वास्थ्य मेरो प्राथमिकतामा हुन्छ ।’

उनले आफू कुनै व्यापार, व्यवसाय र उत्पादनमा नजोडिएकाले स्वार्थको द्वन्द्व नहुने बताए । ‘एउटै व्यक्तिले औषधि उत्पादन गर्छ, बेच्छ तर सोही व्यक्ति नीति निर्माणमा रहेर औषधिको मूल्य निर्धारण गर्ने ठाउँमा जान सुहाउँदैन,’ उनको भनाइ छ ।

अध्यक्ष पदका अर्का प्रत्यासी सुवेदी लामो समय औषधि उद्योगमा संलग्न व्यक्ति हुन् । उनले मिरा बायोटेक नामको आफ्नै औषधि कम्पनी चलाएका छन् । २०७३ मा भएको निर्वाचनमा तीन जना प्रत्यासीमध्ये उनी तेस्रो भएका थिए ।

अध्यक्षका प्रत्यासी सुवेदीले फार्मेसी पेशाको उत्थान, सबलीकरण, दीर्घकालीन स्थायीत्व गर्न संथा बलियो हुनुपर्ने सिद्धान्तलाई अबलम्बन गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन् ।

त्यस्तै फार्मासिस्टहरूको पेशागत सुरक्षा र आन्तरिक व्यावसायिक सम्बन्ध औषधि उद्योग, शैक्षिक क्षेत्र, अस्पताल र सामुदायीक फार्मेसीको व्यवसायिक विकास गर्न जिम्मेवार निकाय र सरोकारवालाबीच सहकार्य, फार्मेसी व्यवसायमा जनताको पहुँच, सेवाको स्तर वृद्धि जस्ता एजेण्डा रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?