१८ फागुन, काठमाडौं । शुक्रबार अपराह्न ५ः३० बजे दशरथ रंथशालामा फ्रेण्ड्स र एफसी खुमलटारको खेलसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुनेछ ।
लिगको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) सँगै सहभागी क्लबहरुले पनि तयारी पूरा गरेका छन् । कोही क्लब आफ्नो यथास्थान जोगाउने योजनामा छन् भने केहीको लक्ष्य च्याम्पियन बन्नेछ ।
बी डिभिजनबाट बढुवा भएका चर्च ब्वाइज क्लब र खुमलटार एफसीमध्ये चर्च ब्वाइजको लक्ष्य शीर्ष चारभित्र रहने छ भने खुमलटार अन्डरडग बन्दै उपाधी जित्न चाहन्छ ।
पछिल्लो समय धेरै फुटबलर विदेश पलायन भएका कारण क्लबहरुलाई टिम बनाउन निकै सकस परेको थियो । त्यसका बाबजुद केही क्लब राम्रो टिम बनाउन सफल भएका छन्, केही भने जसोतसो टिम जुटाउनुपर्ने दबावमा परे ।
चर्च ब्वाइज : विदेशी प्रशिक्षक, उपाधि लक्ष्य
लिगको नवप्रवेशी टिम चर्च ब्वाइजले प्रदिप हुमागाईंलाई प्रशिक्षक बनाएको छ भने अनन्त तामाङ कप्तान छन् ।
कुनै समय थ्रीस्टार क्लबको प्रशिक्षक रहेका गुमागाईं अमेरिकामा रहेर प्रशिक्षण कार्य गर्छन् । पछिल्लो समय उनले छोटो समयका लागि नेपालको राष्ट्रिय टिम पनि सम्हाले । अहिले चर्च ब्वाइजमा अनुबन्ध भएका उनको श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गर्न बाँकी छ । भन्छन्, ‘स्वयंसेवी प्रशिक्षकको रुपमा छु ।’
मोफसलको केही प्रतियोगिता खेलेपछि अहिले प्रशिक्षण थालेको भए पनि सबै खेलाडीहरु आइनपुगेको उनले बताए । आफ्नो टिम पहिलो खेलका लागि ठीकै रहेको भन्दै प्रशिक्षक हुमागाईँले प्रि–म्याच कन्फ्रेन्समा भने, ‘खेल्दै जाँदा राम्रो हुँदै जानेछ ।

कप्तान अनन्त तामाङले पनि टिममा अधिकांश खेलाडी नयाँ भए पनि राम्रो सेप लिइसकेको बताए । ‘२ महिनादेखि प्रशिक्षणमा छौं । अहिले टिमले राम्रो सेप लिइसकेको छ,’ उनले भने, ‘आशा छ, नतिजा पनि सोही अनुसार आउने छ ।’
लिगमा उपाधिकै लागि खेल्ने बताएका उनले कम्तीमा शीर्ष चारमा लिग सक्ने सुनाए ।
खुमलटार : अन्डरडग बनेर उपाधि जित्ने लक्ष्य
बी डिभिजन लिगको उपविजेता बनेर माथिल्लो लिगमा उक्लिएको खुमलटार यो पटक आफूलाई अण्डर डगका रुपमा चिनाउन चाहन्छ । र, च्याम्पियन बन्ने लक्ष्य लिएको छ ।
‘दुई बलिया विदेशी खेलाडी मेसुके र विनोङलाई अनुबन्ध गरेसँगै टिमको आत्मविश्वास उच्च छ’, क्लबका सीईओ विदुर श्रेष्ठ भन्छन्, ‘हामी उपाधिका लागि खेल्छौं ।’ बी डिभिजन खेल्दाभन्दा राम्रो बजेटसहित आएका र खेलाडीको स्वास्थ्य, रिहाब डाइट सबैमा राम्रो प्रबन्ध गरेको भन्दै उनले भने, ‘राम्रो खेल्ने वातावरण मिलाएका छौं ।’
कप्तान रेजिन सुब्बाले पनि पहिलो खेलबाटै जितका लागि खेल्ने बताए । ‘मेसुके र विनोङ आउँदा टिममा उत्साह छ,’ उनले भने, ‘‘युवा र अनुभवी खेलाडीको समिश्रण राम्रो हुनेछ ।’
फ्रेन्ड्स क्लब : अनुभवी खेलाडीको भर
फ्रेन्ड्स पछिल्ला वर्षहरुमा लिगमा संघर्षरत क्लब हो । प्रशिक्षक उर्जन श्रेष्ठले पनि यसलाई राम्ररी बुझेका छन् । त्यसैले लिग सुरु हुनुअघि नै उनले लक्ष्य सुनाए, शीर्ष ६ मा पर्ने । मोफसलका प्रतियोगिताहरुको सहभागिताले लिगको तयारीलाई मद्दत गरेको भन्दै उनले भने, ‘अनुभवी खेलाडी रहेका कारण हाम्रो टिम तयार छ, सबै खेलाडी फिट छन् ।’
कप्तान प्रकाश बुढाथोकीले पनि मोफसलको प्रतियोगिताले आफ्नो क्षमता थाहा भएको बताए । टिमको भर सिनियर खेलाडीहरुमा रहेको भन्दै उनले भने, ‘हामी भोलिका लागि तयार छौं ।’
एपीएफ : विदेशी खेलाडीको बलमा शीर्ष तीनको लक्ष्य
अघिल्लो सिजनबाट विदेशी खेलाडी अनुबन्ध गर्न थालेको विभागीय टिम एपीएफले यो पटक चार जना भित्र्याएको छ ।
प्रशिक्षक रत्नकाजी महर्जनका अनुसार अघिल्लो सिजन लिगमा ३ खेल हारेपछि विदेशी खेलाडी अनुबन्ध गरेको थियो । पाँचौं खेलपछि विदेशी खेलाडीलाई खेलाउन थाल्यो र च्यापियन मछिन्द्रसँग बाहेक अरुसँग हारेन ।
यो पटक भने सुरुदेखि विदेशी खेलाउने रणनीतिमा रहेका उनी भन्छन्, ‘हाम्रो टिम सन्तुलित नै छ ।’ मोफसलको खेलहरु हेर्दा आफ्नो टिम फिनिसिङमा चुकिरहेको बुझेका उनले भने, ‘शीर्ष तिनमा रहेर लिग सक्ने लक्ष्य छ ।’
राम्रो तयारी गरेको बताएका कप्तान तोप विष्टले पनि प्रशिक्षक महर्जनले सुनाएको लक्ष्यमै सहमति जनाए ।
संकटा क्लब : उपाधि जित्न सक्ने टिम छ
प्रशिक्षक सल्यान खड्गीका अनुसार टिममा केही युवा र केही राष्ट्रिय खेलाडी छन् । आहारारा गोल्डकप जिताएर उत्साहित बनेका उनी ए डिभिजन लिगमा पनि उपाधि जित्न चाहन्छन् । ‘मोफसलको प्रतियोगितामा पनि राम्रो खेल्यौं । लिगको तयारी पनि राम्रै छ,’ उनले भने, ‘उपाधी जित्न सक्ने क्षमता भएको टिम हो ।’

गत सिजन मछिन्द्रमा रहेर लिग जितेका कप्तान सुनिल बल यो पटक संकटाको कप्तान छन् । नयाँ चुनौती स्वीकार गरेर संकटा आएका उनी भन्छन्, ‘मलाई लाग्छ, हामी उपाधि जित्छौं ।’
पुलिस : सोचेजस्तो छैन टिम
कुनै समय स्टार खेलाडीले भरिने पुलिस क्लब अहिले नयाँ र युवा खेलाडीमा भर परेको छ ।
कप्तान रामचन्द्र वाजी यसलाई क्लबको दुर्भाग्य मान्छन् । नयाँ प्रशिक्षक आएकाले केही सकारात्मक नतिजाको खोजीमा रहने बताउँछन् । तर प्रशिक्षक चेतन घिमिरे आफैं धेरै उत्साहित छैन । पहिलाको प्रदर्शन हेरेर अहिले गाह्रै छ’, उनले भने, ‘युवा खेलाडी छन्, उनीहरुमा आश गरेको छु । तर सोचेजस्तो राम्रो र पहिलाको जस्तो राम्रो छैन ।
सातदोबाटो : गतवर्षभन्दा राम्रो गर्ने सोच
सातदोबाटोले गत सिजन लिगमा डार्क हर्सको उपनाम पाएको थियो । मनाङ मर्स्याङ्दी, थ्रीस्टार जस्ता टिमलाई हराएका कारण चौथो स्थानमा रहेर लिग सकायो ।
यो सिजन पनि मोफसलका प्रतियोगिताहरु खेल्दा टिमको कमजोरी पत्ता लगाउने अवसर पाएकाले लिगमा राम्रो खेल्ने लक्ष्य बनाएको बताउँछन्, प्रशिक्षक सोनल श्रेष्ठ । ‘हाम्रो टिम सन्तुलनमा छ’, उनले भने, ‘गत वर्षको स्थानलाई सम्हाल्दै अझै माथि जाने लक्ष्य लिएका छौं ।’
कप्तान सुदिप गुरुङ पनि जो प्रतिस्पर्धी भएपनि जित्ने गरी खेल्ने बताउँछन् । भन्छन्, ‘पहिलाको टिम र अहिलेको टिममा फरक छ । तर राम्रो नतिजा ल्याउने सोचमा छौं ।’
त्रिभुवन आर्मीको लक्ष्य उपाधि
नेपाली फुटलरहरु विदेश पलायन हुने होड चल्दा विभागीय टिम त्रिभुवन आर्मी अछुतो रहन सकेन ।
तर युवा खेलाडीहरुले त्यो ठाउँ लिएका छन् । नियमित खेल्ने खेलाडी विदेश जाँदा गाह्रो भएको थियो तर युवा खेलाडीले त्यो स्थान ओगटिसकेका छन्,’ कप्तान भरत खवास भन्छन्, सुमन अर्याल जस्ता खेलाडी राष्ट्रिय टिममा नै खोज्न समय लाग्ला ।’

सुदिल राई, दिनेश हेम्जन, नवयुग श्रेष्ठ जस्ता स्ट्राइकर छन् । टिमका अरु खेलाडी पनि लयमा छन् । ‘राम्रो लयमा भएकै कारण हामीले भद्रपुर गोल्डकप जित्यौं’ सहायक प्रशिक्षक राजु तामाङ भन्छन् । उनका अनुसार अघिल्लो सिजन आर्मीलाई चोटग्रस्त खेलाडीले सताएको थियो यो पटक त्यो समस्या छैन । त्यसैले योजना अनुसार खेले उपाधि जित्न सकिने उनले सुनाए ।
एनआरटी : गत वर्षकै स्थान जोगाउने प्रयास
प्रशिक्षक जीवन सिङ्केमानका अनुसार समग्रमा न्यूरोड टिम एनआरटीको टिम युवा छ । २० देखि २२ को उमेरका खेलाडी छन् । अघिल्लो सिजन टिममा रहेका मेसुके र विनोङ खुमलटार गए पनि ५ जना विदेशी खेलाडी अनुबन्ध गरेकाले उनी आशवादी छन् । ‘२ जना भारतीय र ३ जना केमरुनी खेलाडी अनुबन्ध भएका छन्’, उनले भने, ‘गत वर्षको लिगमा जस्तै यो पाली पनि तेस्रो स्थानमा रहने आशा छ ।’
जाउलाखेल : खेलाडीहरु घुलमिल हुनै बाँकी
जाउलाखेल युथ क्लबका प्रशिक्षक सुनिलकुमार श्रेष्ठका अनुसार लिगका लागि एक महिनादेखि तयारी चलिरहेको छ । तर टिममा अहिले विदेशी खेलाडीमा फोफना मात्रै छन् ।
क्लबले राम्रो लगानी गरेको भए पनि विदेशी खेलाडी ढिला आइपुग्दा टिममा भिज्न समस्या भएको उनले सुनाए । कप्तान सिमान्त थापाले अघि भने, ‘राम्रो नतिजाको आशामा छौं ।’
राम्रो नतिजाको खोजीमा मनाङ
मनाङमा यो पनि आफ्ना स्टार खेलाडीहरु छैन । धेरैले क्लब छाडेपछि मनाङले केही विदेशी र बाँकी युजा खेलाडीहरुलाई राखेर टिम बनाएको छ । यो टिमले मकवानपुर गोल्डकपको उपाधि पनि उचाल्यो । ए डिभिजन लिगमा भने उसले उपाधिको लक्ष्य लिएको छैन ।

प्रशिक्षक किरण श्रेष्ठ भन्छन्, ‘राम्रा विदेशी र पहिले अन्तर्राष्ट्रिय स्तरका खेलाडी लिएर खेल्ने, राम्रा विदेशी खेलाडी राखेर लिग जित्ने संस्कार परिवर्ततन गर्दै शीर्ष चारमा पर्न चाहन्छौं ।’
टिमको कप्तानको जिम्मेवारीमा आइपुगेका दीप कार्की भन्छन्, ‘जिम्मेवारी लिएर खेलौं न त भनेर एक नयाँ अनुभव लिन लाई यो क्लबमा आएको हुँँ । तयारी राम्रो भइरहेको छ ।’
थ्रीस्टार : अनुभवी र युवा खेलाडीको मिश्रण
गत सिजन छैटौं स्थानमा रहेर लिग सकाएको थ्रीस्टारले यो पटक प्रमुख प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्ध गरेको छ । अनुभवी र नयाँ खेलाडीको मिश्रणमा टिम तयार भएको भन्दै सहायक प्रशिक्षक विनोद माझी भन्छन्, हामीले एक महिना तयारी गरेका छौं । नयाँ खेलाडीको साथमा अनुभवी खेलाडी लिएर खेल्नेछौं ।’
सहायक व्यवस्थापक रुपेन्द्र पुरीका अनुसार अघिल्लो सिजनभन्दा माथि रहेर लिग सक्ने लक्ष्य छ ।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा बिहीबार भएको प्रि–म्याच कन्फ्रेन्समा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लब र हिमालयन शेर्पा क्लबका प्रतिनिधि भने उपस्थित भएनन् ।
तस्वीर : एन्फा
प्रतिक्रिया 4